वैदेशिक रोजगार विभागमा एकै दिन २९ नयाँ जाहेरी दर्ताे, ९ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारका नाममा हुने ठगी नियन्त्रण, उजुरी सुनुवाइ तथा श्रमिक संरक्षणका गतिविधिलाई तीव्र बनाउँदै वैदेशिक रोजगार विभागले विभिन्न कानुनी तथा प्रशासनिक कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

Advertisement 1

विभागले असार ३ गतेसम्मको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै सो दिन मात्र मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएको जानकारी दिइएको छ।

उजुरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा २८ वटा पक्राउ पुर्जी जारी गरिएको र ९ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित प्रक्रियामा उपस्थित गराइएको विभागले जनाएको छ। त्यस्तै, ९ वटा विवाद आपसी सहमतिमा टुंग्याइएको छ।

Advertisement 2

विभागका अनुसार अनुसन्धान र प्रशासनिक प्रक्रियासँग सम्बन्धित बैंक पत्राचार, अभियोगपत्र तथा राय पत्रलगायत गरी ६८ वटा आधिकारिक पत्रसमेत सोही दिन प्रेषण गरिएको थियो।

संस्था अनुगमन शाखाले वैदेशिक रोजगार व्यवसायी संस्थाहरूसँग सम्बन्धित ५ वटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरिएको जनाएको छ।

Advertisement 3

उता, राहत, उद्धार तथा समन्वय शाखामार्फत ६ जना श्रमिकको उद्धार गरिएको छ। सोही अवधिमा दुई जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागको विवरणमा उल्लेख छ। शाखाले १० वटा नयाँ उजुरी दर्ता गर्नुका साथै १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा सञ्चालन गरेको जनाएको छ।

गुनासो व्यवस्थापनतर्फ ‘हेलो सरकार’ प्रणालीमार्फत प्राप्त ११ वटा गुनासोमध्ये ९ वटाको समाधान गरिएको छ। विभागको कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा फछ्र्योट भइसकेका छन् भने बाँकीमाथि प्रक्रिया अघि बढाइएको छ।

विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित राहत तथा उद्धारका विषयमा प्राप्त हुने निवेदनलाई थप प्रभावकारी बनाउन आवश्यक कागजात र आधिकारिक पत्रसहित विवरण पठाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। यसरी व्यवस्थित ढंगले सूचना प्राप्त हुँदा उद्धार तथा सहायता कार्यलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने महानिर्देशक मिरा आर्चाय बताछिन्।

प्रकाशित :२०८३ असार ४, बिहीबार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry