सामाजिक विकास कार्यालय म्याग्दीद्वारा ८४ वटा योजना कार्यान्वयन

म्याग्दी। सामाजिक विकास कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/८२ मा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ। गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको ८८ मध्ये ८४ वटा योजना र कार्यक्रम कार्यान्वयन भएका हुन्।

Advertisement 1

कार्यालयका प्रमुख तारानाथ सुवेदीले ३८ वटा कार्यक्रममध्ये एउटा कार्यान्वयन नभएको बताउँदै पुँजीगतका २७ मध्ये २४ वटा योजना कार्यान्वयन भएका जानकारी दिए। “विद्यालय पूर्वाधार र शिक्षासम्बन्धी चालुतर्फका २३ मध्ये सबै कार्यक्रम सम्पन्न भएका छन्”, उनले भने, “कुल रु ४ करोड ८० लाखमध्ये रु ३ करोड ९४ लाख ६३ हजार खर्च भएको छ।”

पुँजीगत शीर्षकमा रु १ करोड ४२ लाख २९ हजार विनियोजन भएकामा रु १ करोड १४ लाख २५ हजार र चालुतर्फ रु ३ करोड ३८ लाख २५ हजार विनियोजन भएकामा रु २ करोड ८० लाख ३८ हजार खर्च भएको प्रमुख सुवेदीले जानकारी दिए।

Advertisement 2

अन्नपूर्ण गाउँपालिका–५ को शिख र धवलागिरि गाउँपालिका–७ को हेम नमूना आवासीय माविमा सञ्चालित आवासीय विद्यालयको छात्रावास भवनमा पूर्वाधार निर्माणका लागि रु ८/८ लाख अनुदान दिइएको छ। दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच बढाउन आवासीय विद्यालय सञ्चालनका लागि आवासीय विद्यालय सञ्चालन भएको उनले बताए।

कार्यालयमार्फत खेलमैदान, सामुदायिक भवन, विद्यालय पूर्वाधार, धार्मिक स्थलहरूको संरक्षणसम्बन्धी योजना, बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्गता, आदिवासी जनजाति, एकल महिला, दलित समुदायको सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ।

Advertisement 3

यस वर्षका योजनामार्फत खेलमैदान, विद्यालय भवन मर्मत, घेराबार, सामुदायिक भवन, मन्दिर निर्माण भएका छन्। किशोरीको आत्मरक्षा, बालमैत्री स्थानीय शासन प्रवद्र्धन, उद्यमीलाई अनुदान, महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन, ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्नेलगायत कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख सुवेदीले बताए।

विसं २०८१ मङ्सिरदेखि फागुन तेस्रो सातासम्म कार्यालयविहीन बनेको सामाजिक विकास कार्यालयका कर्मचारीले ३ महिनासम्म तलबसमेत खान पाएका थिएनन्। गत फागुन अन्तिम साता आएका कार्यालय प्रमुख सुवेदीले छोटो अवधिमा उपलब्ध जनशक्ति परिचालन गरी जनप्रतिनिधिहरूसँग समन्वय गरेर योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेका हुन्।

प्रकाशित :२०८२ श्रावण ८, बिहीबार १५:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry