तनहुँमा डेंगी सङ्क्रमित बढ्दै
तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या बढ्दै गएको छ । यही भदौ १ गते १ हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले १ हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
६ दिनमा २ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिएकाछन् । उनका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी ९ सय ८८ जनामा सङ्क्रमण देखिएको छ ।
शुक्लागण्डकीमा १ सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा ७, भीमाद र भानुमा ५÷५ जनामा डेङ्गी पुष्टि भएको छ । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा ७ पालिकामा डेङ्गी सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले बताएमा छन् । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म सङ्क्रमितको संख्या शून्य छ ।
सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिँदै आएको छ । पालिका डेङ्गी सङ्क्रमितको संख्या दैनिक बढ्दै गएकाले जनचेतनासँगै अभियानलाई तीव्रता दिइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजीगरी नष्ट गरिएको उनले जानकारी दिए ।
डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । आँबुखैरेनी अस्पतालमा लक्षित वर्गका सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता भएका, सहाराविहीन, अशक्त तथा ज्येष्ठ नागरिकलाई औषधि उपचारमा निःशुल्क गरिएको छ ।
बिरामीलाई आवश्यक परेमा अस्पतालमा भर्ना, औषधिलगायत सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने बताउँदै अध्यक्ष चुमानले पालिकाले सिफारिस गरेपछि सोका आधारमा अस्पतालले सेवा उपलब्ध गराउने जानकारी दिए ।