‘विभागसँग दक्ष जनशक्ति र बजेटको अभाव’

सरजुकुमार वैद्य जल तथा मौसम विज्ञान विभागका महानिर्देशक हुन् । २९ वर्षदेखि सरकारी सेवामा आबद्ध उनले बेलायतबाट स्नातकोत्तर पूरा गरेका छन् । बेलायतमा अध्ययन पूरा गरेपछि स्वदेश फर्केका वैद्यसँग जल तथा मौसम विज्ञान विभागको जिम्मवारी सम्हालेको लामो समयको अनुभव छ । नेपालको सन्दर्भमा जब मनसुन सुरु हुन्छ, तब बाढीपहिरो आउँछ । जसका कारण बर्सेनी मानिसले ज्यान गुमाउने र घरबारविहीन भएर विचलित हुने गरेका छन् । तर, पछिल्लो समय मौसम तथा जलसम्बन्धी पूर्वसूचनाका कारण धनजनको क्षति कम हुँदै गएको महानिर्देशक वैद्य बताउछन् । उनका अनुसार विभागले बाढीसम्बन्धी पूर्वसूचना दिँदा जोखिम न्यूनीकरण भएका उदारणहरू बढ्दै गएका छन् । विभागले बाढी र मौसमसम्बन्धी पूर्वसूचनालाई अझै आधुनिकीकरण गर्दै जल तथा मौसमजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न आगामी दिनमा उच्च प्राथमिकताका साथ अघि बढ्ने महानिर्देशक वैद्यको भनाइ छ ।
बाढीको पूर्वसूचनाको प्रभाव, भावी रणनीति, हिमतालको जोखिम न्यूनीकरण गर्न सरकारको रणनीति कस्तो छ ? यहीँ विषयमा केन्द्रित रहेर महानिर्देशक वैद्यसँग इकर्मचारी डटकमका प्रतिनिधि महेश्वर गजुरेलले केही जिज्ञासा राखेका छन् :-
० जल तथा मौसम विभागले गर्र्ने कार्यहरु सरल भाषामा बताइदिनुहोस न ।
जल तथा मौसम विभागको मुख्य काम भनेको धन र जनको क्षती न्यूनिकरण गर्नु हो । यसबाहेक कृषि क्षेत्रलाई आवश्यक सामग्री,हवाई सुरक्षामार्फत् यात्रीहरुको स्वास्थ्य सुरक्षालगायत पनि हुन् । अहिले हामीले थप सुरक्षा सर्तकताका लागि भनेर देशभर मौसमसमबन्धी विभिन्न उपकरणहरु राखेका छौँ । र, यसैको आधामार विभागले सबै ठाउँको मौसम मापन गरेर सर्तकता अपनाउन जानकारी गराउँछ ।
० विभागसँग सूचना प्रविधि, दक्ष जनशक्ति, बजेट, तथ्यांक संकलन तथा अुनसन्धानको दायरा कस्तो छ ?
अहिले विभागसँग सूचना संकलनका लागि करिब ९ सय वटा स्टेसनहरु रहेका छन् । उक्त स्टेसनहरुमा विभिन्न किसिमका जल तथा मौसमजन्य उपकरणहरु रहेका छन् । जहाँबाट विभागले सम्पूर्ण डाटा संकलन गर्छ । प्राप्त भएको डाटाबाटै विभागले मौसमको अनुमान गर्ने गर्दछ ।
पहिले कुनै ठाउँको मौसमसन्बन्धी जानकारी पाउन २ महिना कुर्नुपर्ने अवस्था थियो । तर, अहिले अहिले कुन ठाउँको तापक्रम कति सेल्सियस छ ? कहाँ हिऊँ परेको छ ? कहाँ वर्षा भइरहेको छ र कुन ठाउँ मौसमले कति जोखिम छ भन्ने सवालमा तत्कालै सूचना चाहिने हुन्छ । यसकारण विभागसँग अहिले यहीँअनुकूलको उपकरणहरु तयारी अवस्थामा रहेका छन् जस्ले क्षणभरमै सबथोक जानकारी दिन्छ ।
उपकरणसँगै अर्काे महत्वपूर्ण हो, दक्ष जनशक्ति परिचालन । अहिले विभागसँग पर्याप्त मात्रामा उपकरण उपलब्ध भएता पनि दक्ष जनशक्तिमा भने कमी रहेको छ । र, दक्ष जनशक्ति थप गर्नुपर्ने अवस्था रहेको छ ।
दक्ष जनशक्तिसँगसँगै बजेटको कुरा पनि आउँछ । जबकि बजेटविना काम अपूरो र अधुरो नै छ । दिगो रुपमा अघि बढ्नका लागि विशेष भूमिका रहने थप बजेट भने जरुरी नै रहेको छ ।
० विभागको जिम्मेवारी सम्हालेपछि के कसता चुनौतीहरुको सामना गरिरहनु भएको छ ?
मैले माथि पनि भनेको छु–विभागसँग मुख्य चुनौती भन्नु नै दक्ष जनशक्ति र बजेट हुन् । यी दुईविना काम गर्ने र गन्तव्यमा पुग्न असम्भव छ । र, अर्काे चुनौती हवाई दुर्घटना रहेको छ । नेपालमा बर्षेनी २ देखि ३ वटा हवाई दुर्घटना भइरहेका छन् । केही प्राविधिक त्रुटीले भएका छन् भने धेरैजसो मौसमको कारणले भएका छन् । यसकारण हामीले मौसमी सेवाहरु यात्रुहरुको मागअनुसार दिन सक्नुपर्दछ ।
नेपाल कृषिप्रधान देश हो । आकाशे पानीमा भर परेर कृषिमा विश्वास गर्ने विगतदेखिकै हाम्रो परम्परा पनि हो । यसरी मौसममा भर परेर काम गरेर अर्थात् ‘माना खाएर मुरी उब्जाउन’ लाई विभागले पछिल्लो समय धेरै सफल भएको छ । र, विभागले मौसम पूर्वानुमानको सूचना देशभर पुर्याउन ढिलाइ गर्ने छैन ।
० तपाईले दक्ष जनशक्ति र बजेटको अभाव छ भन्नुभयो । मन्त्रालयसँग समन्वय कस्तो छ ?
मन्त्रालयसँग समन्वय नगरी अघि बढ्ने कुरै आएन । मन्त्रालय र विभागबीच राम्रो सम्बन्ध नै रहेको छ । जल तथा मौसम विभागको ५० वर्षभन्दा लामो इतिहास रहेको छ । हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको विभाग विगतमा फुटबलजस्तै भएको थियो । कहिले जलस्रोत, कहिले वातावरण मन्त्रालय हुँदै अहिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको छ । यसकारण विभाग फुटबल जस्तै भएको देखिन्छ ।
यसो भन्नुको मतलब फरक मन्त्रालयभन्दा पनि स्थिर रुपमा बसेर काम गर्न सजिलो हुन्छ । मन्त्रालय भनेको विभागकोे अभिभावक हो । यद्यपि, विगतमा जे जस्ता उतारचढाव आए पनि अहिले मन्त्रालय र विभागबीच राम्रो सम्बन्ध रहेको छ ।
० कर्मचारीहरुले तलब सुविधामा केही गुनासा गरिरहेको सुनिन्छ । खासमा कर्मचारीहरुले काम कसरी गरिरहेको देख्नुहुन्छ ?
कर्मचारीहरुलाई तोकिएको सेवाअनुसार तलब दिने गरिन्छ । सरकारले तोकेरै पठाएपछि तलब कम र धेरै भन्ने हुँदैन । यद्यपि, योचाहीँ यर्थाथ हो कि काम गरेअनुसारको कर्मचारीको तलब भने धेरै नै कम छ । हुन् त सरकारी कर्मचारीहरुको तलब नै कम नै छ । समयसमयमा सरकारले तलब बढाएको देखिन्छ । यो बर्ष कर्मचारीहरुले कामअनुसारको तलब बढाउन माग गरेसँगै कर्मचारीको माग सम्बोधन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको छ ।
० सबैको जीब्रोमा ‘जलवायु परिवर्तन, जलवायु परिर्वतन’ भन्ने सुनिन्छ खास जलवायु परिवर्तन भनेको के होे ? नेपालमा जलवायु परिवर्तनको असर कस्तो छ ? विभागले यस विषयमा खोज अनुसन्धान गरेको छ कि छैन ?
जलवायु परिवर्तन लामो समय अर्थात् करिब ३० वर्षको जलवायुसम्बन्धी तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो । जसअनुसार समयसमयमा मौसममा आउने उतारचढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न । प्रत्यक्ष वा परोक्ष रुपमा मानवीय क्रियाकलाप तथा प्राकृतिक कारण (ज्वालामुखी विस्फोटन, विभिन्न किसिममा कार्बनयुक्त ग्यासको उत्सर्जन आदि) ले गर्दा वायूमण्डलको सरंचना परिवर्तनमा परिवर्तन भई सामान्य समयावाधि भित्र प्राकृतिक रुपमा हुने परिवर्तनभन्दा तुलानात्मक रुपमा चाडैँ आउने परिवर्तन जलवायू परिवर्तन हो ।
अझ सबैले बुझ्नगरी भन्नुपर्दा वायूमण्डल, जलमण्डल, जीवमण्डल एवम् भूमण्डलको समग्रस्वरुप र यिनीहरुबीचमा रहेको अन्तर सम्बन्धमा आउने असन्तुलन नै जलवायू परिवर्तन हो । यिनै असन्तुलनका कारण अतिवृष्टि, अनावृष्टि तथा अतिवृष्टि हुने गर्छ । यसैगरी जलवायू परिवर्तनका कारण तीव्र मात्रामा हिउँ पग्लने, हिमशृङखलाहरुको अस्तित्वमा संकट आइपर्ने, हिमतालको आकारमा वृद्धि भई फुट्ने सम्भावना, कृषि उत्पादनमा ह्रास, हिमाली भेगका वनस्पति तथा वन्यजन्तुहरु उच्च संकटमा पर्ने, नयाँ नयाँ किसिमका रोगहरु उत्पन्न हुने, जैविक विविधतामा प्रतिकूल असर हुने, समग्रमा मानव अस्तित्व नै संकट पर्ने सम्भावना हुने गर्दछ ।
त्यसैले जलवायू परिवर्तनबाट जोगिनका लागि पानीको सञ्चिती, बहुउपयोगी र किफायती प्रयोगको प्रविधिको विकास र प्रवद्र्धन, वर्षात्को पानी भण्डारण गर्ने पोखरीहरु निर्माण गर्ने, भूमिगत जलको दिगो उपयोगको मापदण्ड तय गरी लागू गर्ने, नविकरणीय उर्जाको प्रयोगमा जोड दिनुपर्दछ । यस्तै, नदीको पारिस्थितिक प्रणालीको संवेदनशिलतालाई ध्यानमा राखी जलविद्युत् आयोजना निर्माण गर्ने, हिमताल बिस्फोटबाट हुने सम्भावनालाई रोक्न सुरक्षित निकासको व्यवस्था गर्ने, गरीब, सिमान्तकृत, भूमिहीन व्यक्तिहरुलाई लक्षित गरी कृषिमा आधारित अनुकूल कार्याक्रमहरु तय गरी कार्यन्वयन गर्ने, स्थान, माटो र जलवायू अनुसारको कृषि बालीको प्रवद्र्धन गर्ने, किफायती सिँचाई प्रविधिको विकास गर्ने, प्राङगारिक खेती प्रणालीलाई प्रवद्र्धन गर्ने, मौसमसम्बन्धी पूर्वसूचना प्रवाह गर्नका लागि भरपर्दो माध्यम विकासलगायत सावधानीहरु अपनाउनुपर्दछ ।
० तपाईले हवाई क्षेत्रको समस्याबारे बताउनुभयो । पाइलट र मौसमविदको समन्व्यचाहिँ कस्तो छ ?
ह्वाइ यातायात क्षेत्रमा पाइलट र मौसमविद् परिपुरक हुन्छन् । सुरक्षित यात्राका लागि पाइलटले मौसमविद्सगँ सहकार्य गर्नुपर्छ । यद्यपि, हालसम्म पाइलट र मौसमविद्बीच समन्व्य राम्रो रहेको छ ।
० नेपालमा मौसम पूर्वानुमानमा टिकाटिप्पणी चलेको सुनिन्छ ? वास्तवमा पूर्वानुमान मात्र हो कि तथ्य, अनुसन्धान र प्रविधिमा आधारित पनि रहेको छ ?
मौसम पूर्वानुमानको लागि विभागले विभिन्न स्थानमा यन्त्रहरु जडान गरेको छ । जुन कुरा मैले माथि नै विस्तृत रुपमा भनिसकेको छ । तीनै स्थानमा जडित यन्त्रबाट विभागले अध्ययन तथा अनुसन्धान गरेर बाहिर सत्य जानकारी दिने हो । यसरी पूर्वानुमान मात्र नभइ तथ्य, अनुसन्धानमा आधारित रहेर काम गरेकै कारण आज विभागमाथि सबैको विश्वास बढेको छ । जुन हाम्रा लागि गौरवको पनि कुरा हो ।
अहिले सबैले कहीँ कतै जादैँ हुनुहुन्छ भने सीधै सुरुमा विभागलाई सम्झनु हुन्छ । जुन सकारात्मक पक्ष हो जस्ले धनजनको क्षति हुनबाट जोगाउँछ । मौसमको पूर्वजानकारीले धेरै जोखिमहरु न्यूनिकरण हुने गर्दछ । जस्तैः मौसमसम्बन्धी चासो राख्ने कृषक, पर्यटक यात्री, हिमाल आरोही, हवाइ यात्री तथा अन्य जो कोहीले पनि विभागसँग आफूलाई लागेको कुराहरु राख्न सक्नुहुनेछ ।
० उच्च हिमाली भेग, ठूला नदिहरु, बाढी आउने ठाउँ र गहिरो तालको मापन कार्य गर्दा जोखिम हुने गरेको सुनिन्छ । यसबारे पनि बताइदिनुस् न,
यसतर्फ सबैभन्दा जोखिम उच्च हिमाली भेगमा रहेर मापन गर्दा हुने गर्दछ । त्यस्तै तपाईले भनेजस्तै ठूला नदिहरुको, बाढी आउने सम्भावित ठाउँको, गहिरो तालहरुको मापन कार्य गर्न जोखिम हुन्छ । मुख्यतः हिमाली क्षेत्रमा पुग्नु नै कर्मचारीहरुको लागि सबैभन्दा चुनौतीको काम हो । सबैभन्दा महँगो ठाँउका रुपमा परिचित हिमाली क्षेत्रमा कर्मचारीको तलब भत्ताले धान्न गाह्रो हुन्छ भने उत्तिकै स्वास्थ्य जोखिम पनि रहेको छ । यसरी जोखिमपूर्ण ठाउँमा जानको लागि हत्तपत्त कोही तयार हुँदैनन् । तर, विभागले त्यो जोखिम उठाएर काम गर्दै आएको छ । यद्यपि, यसतर्फ सरकारले मनोबल बढाउने काम गर्न सकेको देखिँदैन ।
नेपालमा बाढीसम्बन्धी पूर्वानुमान गर्ने स्टेसनहरूको जति आवश्यकता पर्ने हो चाहेजति पूर्वानुमान स्टेसनहरू छन् त ?
आवश्यकता जति पर्ने हो, त्यति छैन । नेपाल एक भौगोलिक विकटता भएको देश हो । ८० प्रतिशतभन्दा बढी भूभाग पहाडी, हिमाली क्षेत्रहरू छन् । सानो क्षेत्रमा पनि पानी पर्ने अवस्था फरक हुन्छ । कुनै स्थानमा पानी पर्छ, त्यहीँ समयमा नजिकैको स्थानमा पानी नपर्न सक्छ । उपत्यकाकै उदाहरण हेर्ने हो भने पनि केहीँ स्थानमा पानी परेको हुन्छ, अर्को स्थानमा पानी पर्दैन । यसकारण पनि विभिन्न स्थानमा स्टेसनहरू आवश्यक पर्छ । यसलाई ‘रेनफलको भेरिएबिलिटी’ भनिन्छ ।
यसकारण विभागलाई स्टेसन धेरै राख्नुपर्ने अवस्था रहेको छ । अहिले नेपालमा बाढी तथा मौसमको पूर्वानुमान गर्न कतिवटा पूर्वानुमान स्टेसनहरू आवश्यक पर्छ भनेर अध्ययन गर्ने तयारी भइरहेको छ । यसकै आधारमा नेपालमा आवश्यक पर्ने स्टेसनहरु राखेर सञ्चालन गर्ने तयारी गरिएको छ । धेरै स्टेसन सरकारले मात्रै स्थापना गर्न सक्दैन । अन्य आवश्यक स्टेसनहरू स्थानीय निकायले सञ्चालन गर्ने गरी र हामीले प्राविधिक सहयोग गर्ने गरी काम गर्नेछौँ ।