करारका एउटा कर्मचारीसँग सामान्य प्रशासनको ‘अनौठो कनेक्सन’
कुकुरले पुच्छर हल्लाउनुसम्म त ठीकै हो तर पुच्छरले नै कुकुर हल्लाएको चाहिँ नसुहाउने !
एउटा कारिन्दाले गाउँको होइन,केन्द्रकै सिंहदरबार हल्याइदिन्छ भन्दा जो कोहीले पत्याउँदैन तर सिंहदरबारका अधिकांश मन्त्रालय करारका कर्मचारीदेखि खरदार र नासु तहका स्टोर किपरहरुले हल्लाइरहेका प्रशष्त उदाहरण भेटिन्छन् ।
जस्तो हालैमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना करारका कम्युटर अपरेटरलाई हटाउँदा खत्री थरका एक जनालाई छुन सकेन । उनी कस्को पावरले त्यहाँ टिकिरहेका होलान् ? दुई साता अघि सामान्यले कुमार भुजेल, पुजा पोखरेल, सोभा पोखरेल, प्रह्लाद अधिकारी, रोशन ठाकुर र सलिना श्रेष्ठलाई जागिरबाट गलहत्याउँदा मधुसुदन खत्रीलाई नचलाइनुलाई सामान्यका अधिकारीहरुले नै ‘असामान्य’ मानेका छन् ।
Advertisement 1
त्यहाँ करारका कम्युटर अपरेटर हटाएर लोकसेवामार्फत स्थायी पदपूर्ति गर्ने भनिए पनि खत्रीको हकमा मन्त्रालयको बेरुजु फाँट हेर्नुपर्ने भन्दै शक्तिको आडमा त्यहाँ टिकाइरहेको छ । महालेखाका पदाधिकारीसँग यो बारेमा जिज्ञासा राख्दा, ‘स्वीकृत दरबन्दी विना करारका कर्मचारीलाई त्यसरी बेरुजु फाँटकै जिम्मेवारी दिनु गैह्रजिम्वेवारीको पराकाष्टा’ भएको प्रतिक्रिया दिए । देशैभरका ७५३ स्थानीय निकायको हर्ताकर्ता र तिनलाई सुशासन कायम गर्ने निर्देशन दिने मन्त्रालयले एउटा करारका कर्मचारीलाई चलाउन नसक्नुलाई महालेखाका अधिकारीहरुले लज्जाजनक भएको टिप्पणी गरेका छन् । उसो त यस्तो भद्रगोल हेर्न सामान्य प्रशासनमा मात्र होइन ।
श्रम,शिक्षा,गृह,शहरी विकास,श्रम,कृषि,कानुन,खानेपानी लगायतका मन्त्रालयमा पनि भेटिन्छ । जस्तो गृहमा करारका कर्मचारी मुना न्यौपानेलाई ५ बर्षदेखि कर्मचारी प्रशासन फाँटको हर्ताकर्ता बनाएर राखिएको छ । त्यहाँ करार सेवाकै ७ जना कम्युटर अपरेटर कार्यरत छन् । टुप्पी कस्सेर पढी लोकसेवामा भिडेर नाम निकालेका स्थायी कर्मचारीलाई दूरदराजतिर खेदेर सिंहदरबारका अधिकांश मन्त्रालय तिनै करारका कम्युटर अपरेटरले चलाइरहेका छन् । कृषि मन्त्रालयमा ४,भौतिकमा २,शहरीमा ८, खानेपानी १,श्रम मन्त्रालय तथा विभागमा गरी ११,शिक्षामा करारकै ९ जना करारकै कम्युटर अपरेटर राखेर चलाइएको छ । यो मामलामा रक्षा मन्त्रालयले भने लोकसेवामार्फत प्रक्रिया अगाडि बढाएर ८ जना स्थायी कम्युटर अपरेटर नियुक्त गरेको छ ।