१० महिनादेखि रिक्त छन् नेपाल प्रहरीका आठ एसपी पद
काठमाडौं । नेपाल प्रहरीका ८ उपरीक्षक (एसपी) पद १० महिनादेखि रिक्त रहेका छन्। प्रहरीको नियमावलीमा पद रिक्त भएको ३ महिना भित्र बढुवा गरिसक्नु पर्ने उल्लेख भए पनि १० महिनादेखि उक्त पद रिक्त रहेका हुन्।
Advertisement 1
प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने हुन्छ। दफा २६ मा लेखिएको छ, ‘(१) नियम ९ बमोजिम प्रतिशत निर्धारण भई बढुवाद्वारा पदपूर्ति गर्न लेखी आएको मितिले ३ महिनाभित्र बढुवा समितिले पदपूर्ति गरिसक्नु पर्नेछ।’
गत साउनमा ३० वर्षे सेवा अवधिका कारण प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल र वामदेव गौतम अनिवार्य अवकाशमा गए। मल्ल र गौतम अवकाशमा गएपछि प्रहरीमा २ एसपीको पद रिक्त भएको थियो।
Advertisement 2
गत ७ माघदेखि अहिलेसम्म नेपाल प्रहरीमा ८ एसपीका पद रिक्त छन्। साउनदेखि चैतसम्मको १० महिना अवधिमा ८ एसपीका पद रिक्त हुँदा पनि अहिलेसम्म बढुवा हुन सकेको छैन।
डीएसपीबाट एसपी बढुवाका लागि ८ साउन २०७२ मा डीएसपी भएका १२ जना प्रतिस्पर्धामा छन्। रिक्त पद संख्या ८ हुनु र जम्मा प्रतिस्पर्धीको संख्या १२ मात्रै हुँदा पनि अहिलेसम्म बढुवा हुन नसकेको भन्दै प्रतिस्पर्धीहरुले गुनासो गरेका छन्।
Advertisement 3
रिक्त पद १० महिनासम्म खाली राख्नु र एउटै मितिमा भर्ना भएकाहरु एसपी भएको २ वर्ष हुँदा समेत बढुवा नहुँदा प्रतिस्पर्धीहरु निराश छन्।
प्रहरी नियमावलीले नै रिक्त भएको मितिले ३ महिनासम्म बढुवा गरिसक्नुपर्ने बताए पनि अहिलेसम्म बढुवा नभएकोबारे जिज्ञासा राख्दा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीम प्रसाद ढकाल संगठनले जतिसक्दो चाँडो बढुवाको तयारी गरिरहेको बताउँछन्।