भिजिट भिसा प्रकरण :-अध्यागमनका आठ अधिकृत फरार
भिजिट भिसाका नाममा कर्मचारीबाटै मानव तस्करी हुने गरेको तथ्य बाहिरिएपछि यो प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत आठ अध्यागमन अधिकृतहरु फरार भएका छन् ।
Advertisement 1
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी, सुन तथा नगद तस्करी र गैरकानूनी गतिविधि रोक्न थालेको अपरेशनमा सरकारका जिम्मेबार निकायहरुले दररेट तोकेर यसमा सघाएको प्रहरीको अनुसन्धानबाट खुलेसँगै यो अपराधमा मुछिएका अधिकृतहरुको भागाभाग चलेको छ ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरेसँगै यसमा संलग्न बहालवाला प्रहरी र पूर्व प्रहरी, विमानस्थल कर्मचारी, अध्यागमन अधिकारी र अन्यहरुको संलग्नता रहेको भेटिएसँगै यस्मा संग्लग्न अधिकृतहरु उपर पक्राउ पूर्जी नै जारी गरिएको थियो । अध्यागमनका अधिकृतहरुले नयाँको हकमा ५५ हजार र एक पटक विदेश गएर फर्किएका हकमा ४० हजार रुपैयाँ लिएर नक्कली कागजपत्रधारीहरुलाई अध्यागमन अनुमति दिने गरेको तथ्य फेला परेर यस्मा जोडिएका कर्मचारीहरु उपर पक्राउ पूर्जी जारी भएसँगै उनीहरु फरार भएका हुन ।
Advertisement 2
प्रहरीले अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, ताराबहादुर कुँवर र सुजन फागोविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तीमध्ये केही अधिकृत भागेर अस्ट्रेलिया र हङकङ पुगेको अनुसन्धान अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले यसमा २२ जनालाई प्रतिवादी बनाएको छ, जसमा ९ जना अध्यागमनका कर्मचारी छन् । यो प्रकरणमा मुछिएका अध्यागमन अधिकृत नरवीर खड्का भने प्रहरी हिरासतमै छन् । उनकै बयानका आधारमा अध्यागमनका अन्य कर्मचारीहरुको संलग्नता पुष्टि भएको हो ।