पहिचान खोज्नेहरू संग

पहिचान भनेको चिनारी हो, तर यो चिनारीले सिंगोलाई जनाउछ न त आंशिकतालाई। आफूलाई ठूलै क्रान्तिकारी ठान्ने एउटा राजनीतिक दलले आफ्नो पहिचानको लडाई भन्दै पाखण्डी लडाई लड्दै गर्दा आफू संग जवर्जस्ती लतारेर केही सोझासाझा जनतालाई लामवद्ध गर्ने धृष्टता गर्यो। हुन त यो कथित युद्ध यो पार्टीले आफै गरेको रहेनछ भन्ने कुरा समय संगै उदांगो भएको छ तर पनि त्यति खेर जनता बीच यो पार्टीले धेरै विषयमा भ्रम छर्ने काम गर्यो। ती बिभिन्न भ्रमहरू मध्ये नेपाललाई पहिचानका आधारमा विभाजन गरेर जातीय राज्य बनाउने र राज्यको जिम्मा उनीहरूलाई नै दिने भनेर सोझा साझा जनतालाई झुक्याउने काम गर्यो। जनताले पत्याए, नपत्याउन पनि किन? यदि नपत्याउने हो भने ज्यान लिईदिने धम्की दिन्थे यी पहिचानवादी भनाउदाहरूले, त्यलैले पत्याउनै पर्यो र पत्याए पनि।

Advertisement 1

संविधानसभाबाट संविधान बनाउने भनेर आन्दोलन गरेका कथित पहिचानवादीहरूले संविधान बनाउन नसकेर सित्तैमा पदावधि गुजारे। काहीं नभएको जात्रा हाडी गांऊमा हुन्छ भने झै यही देशमा संविधानसभाको लागि दोश्रो पटक चुनाव भयो र त्यो पनि यी राजनीतिक दलहरूले गर्न नसकेर कर्मचारीको सरकार बनाएर त्यसैले गराईदिएको चुनावले दोश्रो पटक संविधान सभा बन्यो। निर्धारित समयमा संविधान बनाउन नसकेर अवधी गुजार्ने र दोश्रो पटक संविधान सभाको चुनाव सम्म गर्ने आट नदेखाएको दल नेकपा माओवादीले आफूलाई पहिचानवादी भनेर आदिवासी जनजातीलाई उचाल्ने काम जारी राख्यो। किनभने यो पार्टीको राजनीति यस्तै यस्तै अब्यबहारिक मुद्दामा आधारित हुने गर्छ। हाम्रो देश चार वर्ण र छत्तीस जातको फूलबारी, सयौं थुंगा फूलका हामी एउटै माला नेपाली, साझा फूलवारीका फूलहरू भनेर सदियौ देखि परिचय बनाएका नेपालीलाई कहांको लिम्बुवान, खुम्बुवान, कहांको तमुवान, कहांको मगरात भनेर विभाजन ल्याउने खेल खेलेका छन् यिनीहरू।

यसै पार्टीको नेता हाल सरकार प्रमुख समेत छन् तर यिनले आफ्नो पदीय हैसियत बिर्सेर आफूहरू पहिचानका लागि आन्दोलन गर्ने सम्म भन्न भ्याएका छन्। यिनीहरु मिलेर बसेको समाजलाई भड्काउन रातोदिन कस्सिएर लग्ने गर्छन्। अहिले आएर संविधान बमोजिम संबोधित भै सकेको कोशी प्रदेशमा आफ्ना कार्यकर्ता उचालेर पहिचानवादीका नाममा आन्दोलन गरी रहेका छन्। पहिचान कै कुरा गरिरहदा हामी नेपालीले विश्वमा सांस्कृतिक पहिचान समेत बनाई सकेका छौ। हामी धार्मिक रूपमा जुनसुकै आस्थामा विश्वास गरेता पनि हामीले एक अर्कोलाई सम्मान गर्छौ। हामी हरेकले आफ्ना धार्मिक काम गर्दा अरूको विश्वासमा आंच नआवस् भनेर हर पल सजग र सतर्क हुन्छौ। हामीले आफ्नो भन्दा पृथक संस्कार र आस्थालाई सम्मान गर्छौ। यसरी एक आपसमा मिलेर बस्दा यिनीहरूको राजनीतिक अभिष्ठ पूरा नहुने भएर होला अहिले हाम्रो एकतामा खलल पुर्याउन होली वाईन छर्कदै हिडेका छन्। सम्पूर्ण नेपालीको सांस्कृतिक अभिभावक बन्नु पर्ने सरकारका सदस्यले होली वाईनको छिटा नसहने जतिलाई जेल हाल्ने धम्की दिएर आफूलाई सच्चा पहिचानवादी बनाएका छन्। १८ औं शताब्दीमा कुनै विदेशीले कल्पना गरेको बिचारलाई काखी च्यापेर राजनीति गरेका यी पहिचानवादी भनाउदाहरू जनता माझ जादा यिनीहरूको आतंकबाट आजित भएका मतदाताले हामी लुटिएर यिनीहरूलाई पाल्नु भन्दा राज्यले नै पालोस् भनेर बहुमतका साथ संविधान बनाउन पठाए तर लहडले राजनीति गरेकाहरूले संविधान बनाएनन्।

Advertisement 2

त्यस पछि भएको चुनावमा यिनीहरूलाई जनताले रूचाएनन् र मिल्काई दिए तर यिनीहरूलाई आश्रय दिएर नेपालमा द्वन्द गराउन सहयोग गर्ने देशको जोडबलमा ठूला दलको बुई चढेर हाल सत्तामा रमाई रहेका छन्। नेपाली जनताले तिरस्कार गरी सकेर पनि अझै नाक ठाडो पार्दै पहिचानको नाममा घोक्रो फुलाउदै हिडेका छन्। यिनीहरूको यो खुराफाती ब्यबहारमा कहिले एमाले कहिले नेपाली कांग्रेसले कांध हाली रहेका छन्।

नेपाली जनताले यी तीनै दलहरूलाई मन नपराएर चुनावमा नयां दल र स्वतन्त्र उम्मेद्वारलाई विजयी गराउदा पनि यी पुराना दलहरूको चेत खुलेको पाईदैन। यी पुराना दल र यसका नेताहरू आफू सक्किन तयार छन् तर सच्चिन तयार छैनन् जस्तो यिनीहरूको ब्यबहारले देखाएको छ। यी पार्टी र नेताको बिकल्पमा देखा परेका नयां दल र नेताहरू पनि आफूहरू स्तरीय भएर देखा परेको नभै पुराना नेताको असन्तुष्टीका रूपमा देखिएका हुन्। यसैले जनताहरूले नयां निकास खोजेको स्थिति देखिएको छ। नयां निकास खोजेका जनताको अगाडि गणतन्त्रका विरोधी समूह देखा परेको छ। जसरी कम्युनिजम्को समय सकियो, त्यसरी नै राजतन्त्रको जमाना पनि सकियो। अबको जनताले चाहने भनेको लोकतन्त्र हो, नागरिक स्वतन्त्रता हो, मानव अधिकार हो, कानूनी राज्य हो। यस्को लागि यी पहिचानवादी र अधिनायकवादीलाई पन्छाएर सच्चा लोकतन्त्रवादी, समय सापेक्ष लोकतन्त्रवादी, पारदर्शी लोकतन्त्रवादीले नेपाली राजनीतिको नेत्तृत्त्व लिनु पर्छ।

प्रकाशित :२०८० माघ २, मंगलवार ०६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry