पापी कर्मचारीतन्त्र

राज्य र सरकारको उदयसंगै सरकारका काममा सघाउने उद्देश्यका साथ कर्मचारीतनत्रको उदय भएको भएको मानिन्छ। प्राचिन मिश्र ,रोम र चीनवाट कर्मचारीतन्त्रको शुरुवात भएको पाईन्छ ।कर्मचारीतन्त्रको उदय प्राचीन कालदेखी भएपनि सामाजिक विज्ञानका विद्दानहरुले यसको अध्यन गर्न शुरु गरेको करिव २७७ वर्ष पुगेको छ।कर्मचारीतन्त्र शव्दको प्रयोग सर्वप्रथम सन् १७४५ फ्रान्सेली अर्थशास्त्री भिन्सेन्ट डी गोर्नेले गरेका थिए र उनले जनतालाई दुख दिने संयन्त्रको रुपमा कर्मचारीतन्त्रलाई परिभाषित गरेका थिए।कर्मचारीतन्त्रको वारेमा सर्वप्रथम व्यवस्थित ढंगवाट अध्यन गरेका जर्मन समाजशास्त्री म्याक्स वेवर हुन् ।उनले सन् १९११ मा प्रकाशित गरेको आफ्नो पुस्तकमा कर्मचारीतन्त्रका प्रमुख विशेषताको वारेमा चर्चा गरेका छन् । उनका अनुशार कर्मचारीतन्त्रका प्रमुख विशेषता पदसोपान ,निष्पक्षता, तटस्थता योग्यता प्रणालीमा आधारित, लिखित अभिलेख ,कानुन तथा नियममा आधारित, निश्चित वृत्ती प्रणाली ,स्थायीत्व ,निर्वैयक्तिता हुन् ।म्याक्सवेवरले उल्लेख गरेका विशेषता वोकेर हालसम्म पनि वाँचिरहेको कर्मचारीतन्त्रले वदलिदो आर्थिक, सामाजिक ,राजनितिक, प्राविधिक, कानुनी परिवर्तन र जनताका अपेक्षा तथा चाहनासंग लय मिलाउन नसक्दा आलोचनाको सिकार हुन पुगेको छ । व्यवस्थपनविद ,समाजशास्त्री राजनितिज्ञ, वैज्ञानिक र आम नागरिकले कर्मचारीतन्त्रको प्रवृत्ती माथि खुलेर आलोचना मात्र गरेका छैनन् यसको विकल्पको खोजि तर्फ समेत वहस छेडेका छन् ।

Advertisement 1

सरकारको नीति कार्यान्वयनको प्रमुख संयन्त्रको रुपमा रहेको कर्मचारीतन्त्र सवल, सक्षम, नैतिक र जिम्मेवार भएमा शासन व्यवस्थाले सिर्जना गरेका शासकिय लाभ जनता समक्ष पुगी सरकारप्रति जनताको विश्वास वढ्न जान्छ। सरकारले जनताका ईच्छालाई सार्वजनिक नीति मार्फत कार्यान्वयन गर्न खोज्छ र ती नीतिको तर्जुमाका लागि आवश्यक पर्ने सूचना तथा तथ्यांक, विज्ञता कर्मचारीतन्त्रले राजनीतिज्ञलाई उपलव्तध गराउने गर्दछन् । यसरी सार्वजनिक नीतिको तर्जुमा र कार्यान्वयन दुवैमा सक्रिय र अर्थपुर्ण सहभागिता रहने कर्मचारितन्त्र निष्पक्ष, तटस्थ, नैतिक ,योग्य, व्यवसायिक रहनुपर्छ भन्ने मान्यता रहिआएको छ। सरकारको नेतृत्वमा जुनसुकै राजनितिक दलको नेतृतव रहेपनि कर्मचारीतन्त्रले निष्पक्ष ढंगले काम गर्ने र व्यवसायिक सुझाव तथा सल्लाह राजनितिक नेतृत्वलाई दिनुपर्छ भन्ने मान्यताका साथमा कम्पिटेन्ट कर्मचारितन्त्रको अवधारणा समेत विकास भएको छ ।

नेपालको कर्मचारीतन्त्र

Advertisement 2

नेपालमा पनि कर्मचारीतन्त्रको शुरुवात शासनव्यवस्थाको शुरुवात भएको गोपाल वंश संगै भएको ईतिहासको अध्यनवाट प्रस्ट हुन्छ । गोपाल ,अहिर ,किरात ,लिच्छिवी र मल्ल काल जसलाई प्राचिन शासन व्यवस्था समेत भनेर चिनिन्छ ,उक्त समयवाटै नेपालमा कर्मचारीतन्त्रको शुरुवात तथा क्रमश विकास तथा विस्तार भएको हो । नेपालको आधुनिक कर्मचारीतन्त्रको विकासको क्रम पृथ्वी नारयण शाहले काठमाडौ उपत्यकामा विजय गरेपश्चात शुरु भएको मानिन्छ । शाह वंशको कर्मचारितन्त्र मुलत सैनिक नेतृत्व भएको जातीय कर्मचारितन्त्र हो । पांडे ,पन्त ,खनाल ,राना, वोहोरा ,अर्याल लगायत जातीको कर्मचारीतन्त्रमा वोलवाला थियो भने सैनिक नेतृतवमा थापा र पांडे थरको वोलवाला थियो। सरकारि सेवा प्रवेशका लागि चार पास तथा तलवको रुपमा जग्गा प्रदान गरिन्थ्यो।सैनिक नेतृत्वमा रहेको कर्मचारीतन्त्र मुलत शासक प्रति जवाफदेहि रहन्थ्यो।शाह वंशिय कर्मचारितन्त्रमा पजनि प्रथाको वोलवाला रहेको थियो ।

वि सं १९०३ मा राणा शासनको शुरुवात भएपश्चात नेपालको कर्मचारितन्त्र पुर्णत राणा शासकप्रति कमिटेड वन्न पुग्यो। सैनिक नेतृत्व अन्तर्गत रहेको कर्मचारीतन्त्र राणाजीहरुको चाकरी र चाप्लुसीमा रमाउन पुग्यो। करिव १०४ वर्ष चलेको राणा शासनमा नेपालको कर्मचारीतन्त्र राणा शासनको रापमा निसास्सिन पुगेको देखिन्छ । चन्द्र शमशेर पछिका राणा शासकले कहि सुधारका प्रयास गरेपनि ति सुधार प्रयाप्त भने थिएनन् ।कर्मचारिलाई नगदमा तलव दिने, कर्मचारिको अभिलेख राख्ने ,कार्यालय समय तोक्ने जस्ता केहि सुधारका प्रयास राणा शासनकालमा भएको देखिन्छ।

Advertisement 3

वि सं २००७ सालको राजनितिक परिवर्तन पश्चात नेपालको कर्मचारितन्त्र स्पोईल सिस्टमवाट मेरिट वेस सिस्टम तर्फ प्रवेश गरेको देखिन्छ। वि स २००८ सालमा लोकसेवा आयोगको स्थापनाले नेपालको कर्मचारीतन्त्र योग्यतामा आधारित वनाउन महत्वपुर्ण आधार सिर्जना गरेको हो । वि सं २००९ सालमा गठन भएको वुच कमिटिले नेपालको प्रशासन सुधारको शुरुवात गरेपनि वि सं २०१३ सालमा प्रधानमन्त्रि टंक प्रसाद आचार्यको अध्यक्षतामा गठन भएको आयोगले नेपालको कर्मचारितन्त्रलाई आधुनिक वनाउन र यसको जगलाई मजवुत वनाउन कोसेढुङ्गाको रुपमा काम गर्न सफल भएको थियो। त्यसपश्चात गठन भएका प्रशासन सुधार आयोगले दिएका सुझाव आचार्य आयोगको जस्तो कार्यान्वयन नभएपनि नेपालको कर्मचारितन्त्रको सुधारको लागि धेरथोर योगदान भने अवश्य गरेका छन् । विसं २०६३ साल पछि नेपालको कर्मचारितन्त्र समावेशीताको मर्मलाई आत्मसाथ गर्दै अंगाडि वढिरहेको छ । छनोटमा योग्यता र समावेशिता हालको कर्मचारीतन्त्र अत्यन्नै सवल पक्षका रुपमा रहेका छन् ।

सार्वजनिक नीति कार्यान्वयन मार्फत शासन व्यवस्थाले सिर्जना गरेका लाभ जनतामा पुर्याउने मुख्य जिम्मेवारि भएको नेपालको कर्मचारीतन्त्र सुधारका अनेकन प्रयासका वावजुद खराव अवस्थावाट गुज्रिरहेको छ ।कमजोर सेवा प्रवाहका कारण जनताको कर्मचारीतन्त्रप्रतिको विश्वास अत्यन्त कमजोर हुँदै गएको छ र जनता अत्यन्त निराश वन्न पुगेका छन् । लोकसेवा आयोगको कडा प्रतिस्पर्धात्मक परिक्षामा अव्वल भएर आएका नंया मेधावी जनशक्तिलाई खराव संगठनात्मक कार्य सस्कृतिले छोटो समयमा असक्षम र निराश कर्मचारिको रुपमा परिवर्तन गरिरहेको छ । राणाकालिन लिगेसिवाट हुर्केको नेपालको कर्मचारितन्त्रमा चाकरी र चाप्लुसी प्रथा विद्यमान छ । नातावाद ,जातिवाद ,सामन्ती सोच ,जिम्मेवारी पन्छाउने ,जिम्मेवारी नलिने ,जवाफदेहिताको अभाव, पारदर्शिताको अभाव ,परिवर्तन विरोधी मानसिकता, नैतिक मूल्यमान्यतामा ह्रास ,राजनितिज्ञसंगको मिलिभगत, भ्रष्टचार, प्रकृयामा रमाउने, मानवीय संवेदना प्रति संवेदनहिनता ,स्वार्थ समुहका लागि काम गर्ने, कमजोर निर्णय निर्माण, पक्षपात, राजनितिक रुपमा विभाजित ,ढिलासुस्ती, गोपनियतामा रमाउने, एकले अर्कालाई आरोप लगाउने, नवप्रवर्तन र सिर्जनात्मक काम गर्न नखोज्ने जस्ता दर्जनौ कमजोरिले नेपालको कर्मचारितन्त्र जनतालाई दुख दिने संस्थाको रुपमा विकास भई पापी कर्मचारितन्त्रको रुपमा रुपान्तरण हुन खोज्दैछ । जनताले कर्मचारितन्त्र सम्झन वित्तिकै नकारात्मक तस्विर दिमागमा वनाउने अवस्था कर्मचारितन्त्रका क्रियाकलापले सिर्जना भएको छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र जस्तो उन्नत राजनितिक व्यवस्था  आइसक्दा पनि नेपालको कर्मचारीतन्त्रको माईन्ड सेट र कार्यशैली राणा शासनकालिन र पन्चायती शासनको भन्दा माथि उठ्न सकेको देखिदैन । आफ्नो व्यक्तिगत फाईदाका लागि जस्तो सुकै काम पनि गर्न पछि नपर्ने तर जनताको सेवाका लागि डेग नचल्ने परिपाटि मौलाउदै गएको छ । कर्मचारि काम नै गर्दैनन् र गरेपनि यिनिहरुको कामवाट कुनै नतिजा निस्कदैन भन्नेमा जनता विश्वस्त देखिन्छन् । जनताको नजरमा दुख दिने संस्थाको रुपमा ईमेज वनाएको नेपालको कर्मचारीतन्त्र खराव कर्मचारीतन्त्रवाट पापी कर्मचारीतन्त्रको रुपमा रुपान्तरण हुन खोज्दैछ । माथि उल्लेखित कमजोरिमा व्यापक सुधार गरि नेपालको कर्मचारीतन्त्रलाई पापी कर्मचारितन्त्र हुनवाट रोक्नका लागि कर्मचारीतन्त्रमा डिस्ट्रक्टिभ रिफर्मको आवश्यकता छ।

प्रकाशित :२०८० बैशाख २४, आईतवार ०७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry