संरचनात्मक वा एकाई दर सम्झौता : चौधौं संशोधनबाट स्थापित महत्वपुर्ण खरिद सम्झौता 

१.भुमिका:

Advertisement 1

हालैमात्र नेपाल सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा चौधौं संशोधन गरेको छ। मिति २०८२ साल बैशाख १५ गते राजपत्रमा प्रकाशित सुचनामार्फत यो संशोधन आएको छ। उक्त संशोधनमा विभिन्न नियमहरु थपघट गर्दै विगतमा सार्वजनिक खरिद नियमावलीको नियम २१ (१) मा सार्वजनिक निकायले मालसामान वा अन्य सेवा खरिद गर्दा अनुसुची ३ बमोजिम सम्झौता मध्य कुनै एक  सम्झौता गरी खरिद गर्न सक्नेछ साथै नियम २१ (२) मा उक्त बमोजिमको सम्झौता गर्दा बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्राविधिक स्पेशीफिकेशन र अवधिमा आधारित भई कार्य गर्नुपर्नेछ भनी उल्लेख गरेको पाइन्छ।

त्यसैगरी नियमावलीको अनुसुची ३ को बिभिन्न प्रकार मध्ये बुँदा नं। (ख) मा संरचनात्मक वा एकाई दर सम्झौता विधी र सो को पुष्ट्याँई उल्लेख गरेको छ जसअनुसार खरिद सम्झौतामा उल्लिखित मालसामान वा अन्य सेवा सार्वजनिक निकायले माग गरेको समयमा खरिद सम्झौतामा उल्लिखित दर र शर्त बमोजिम एक वा एक भन्दा बढी आपुर्तिकर्ताबाट प्राप्त गर्ने व्यवस्था गर्नका लागी संरचनात्मक वा एकाइ दर सम्झौता गर्न सकिनेछ, यो सम्झौतामा सार्वजनिक निकायले खरिद गर्ने मालसामान वा अन्य सेवाको न्यनतम  र अधिकतम परिमाण खुलाउनु पर्नेछ साथै यो सम्झौता सामान्यतया एक वर्ष भन्दा बढी अवधिको हुने छैन भनेर उल्लेख भएको कारणवाट संरचनात्मक सम्झौताका लागी महत्वपुर्ण आधार रहेकोमा यो संशोधनले नियम २१ मा नियम २१क. थप गरी यसलाई महत्वपुर्ण सम्झौता विधि कायम गरी यसको प्रक्रियाबारे व्याख्या गरेको छ। सार्वजनिक निकायले संरचनात्मक वा एकाई दर सम्झौता गर्दा अनुसुची ३ खण्ड (ख) बमोजिमको सम्झौता गर्नुपर्ने त्यस्तो सम्झौता दुई चरणको हुने र यो पाँच वर्षसम्मका लागी गर्न सकिने लगायतका व्यवस्था गरेको छ।  हामी यस लेखबाट संरचनात्मक (संरचनात्मक वा एकाई दर) सम्झौता विधिबारे विस्तृतमा चर्चा गर्ने प्रयास गरेका छौं।

Advertisement 2

२. परिचय:

सामान्यतया संरचनात्मक वा एकाई दर सम्झौता भन्नाले एक वा बढी आपूर्तिकर्ता बीचको एक सम्झौता बुझिन्छ, जसको उद्देश्य निर्दिष्ट अवधिमा  उपयुक्त मुल्यमा तोकिएका सेवा वा मालसामान परिकल्पना गरिएको परिमाणमा प्रदान गर्ने शर्तहरू स्थापना गर्नु हो यो खासगरी केन्द्रिय खरीद निकाय र छनोट गरीएका आपूर्तिकर्ता (वा आपूर्तिकर्ताहरु)  बीच कुनै एक वा सो भन्दा बढी वस्तु वा सेवा प्राप्त गर्ने गरी सम्झौता प्रक्रियाको पहिलो चरण पूरा भएपछि गरिने सम्झौता हो। यसलाई संरचनात्मक सम्झौता समेत भनिन्छ।

Advertisement 3

खरीदको परम्परागत विधिमा आपुर्तिको समय, आपुर्तिको स्थान र आपुर्तिको परिमाण जस्ता विषयहरु खरीद गर्दाको समयमा राम्रोसँग परिभाषित गरिएको हुन्छ तर संरचनात्मक वा एकाई दर सम्झौताको सम्वन्धमा उपरोक्त सबै वा कुनै एकलाई संरचनात्मक वा एकाई दर सम्झौताको समयमा उल्लेख गर्न सकिदैन र केवल कल अफ सम्झौताका बखत मात्र एकिन गरीन्छ।

संरचनात्मक वा एकाई दर सम्झौताको विशेषताहरु:

  • केन्द्रिय खरिद संस्था तथा एकल वा समुहगत खरिद एकाईहरुको स्थापना गर्न सकिन्छ,
  • एकल आपूर्तिकर्ता वा बहु आपूर्तिकर्तासँग खरिद हुन सक्छ ,
  • यदि बहु आपूर्तिकर्ताहरूको भएमा, न्यूनतम तीनवटा आपुर्तिकर्ता हुनेछ ,
  • सानो सानो – प्रतिस्पर्धा आवश्कता अनुसार आयोजित हुन सक्छ ,
  • अधिकतम तीन बर्ष सम्मका लागी यो सम्झौता गर्न सक्ने अभ्यास पाइन्छ, ( संकटमा यो समय कम गराउन पनि सकिने )
  • सम्झौता प्रदान गर्नका लागि सर्त र मापदण्डको शुरुमा प्रकाशित गरिनु पर्दछ र सामान्यतयाः यस्तो शर्त परिवर्तन गरीँदैन।

३. संरचनात्मक वा एकाई दर सम्झौताका चरण:

संरचनात्मक वा एकाई दर सम्झौता प्रक्रिया दुई चरणमा सञ्चालन हुन्छ :
पहिलो चरणमा विभिन्न आपूर्तिकर्ता (वा आपूर्तिकर्ताहरु) र  केन्द्रिय खरीद संस्था वा कुनै एक खरिद इकाइ विचसाथ एक संरचनात्मक वा एकाई दर सम्झौताको लागि छनौट गरी समझदारी गरीन्छ भने

दोस्रो चरण अन्तर्गत पुनः खरिद कार्यका लागी सम्बन्धीत केन्द्रिय खरिद संस्था वा मातहतका संस्था तथा अन्य खरिद इकाईहरुले आ आफ्ना खरिद योजना र आवश्यकता अनुसार आपुर्तिकताहरुमा सुचना मार्फत आव्हान गर्दछन् यस प्रक्रियालाई कल अफ कन्ट्रयाक्ट अर्थात कार्यादेशका लागी सम्झौता भनीन्छ।

४. संरचनात्मक वा एकाई दर सम्झौताको प्रयोगको लागि सामान्य सर्तहरू

  • खरीदको विषयको आवश्यकता एक निश्चित अवधिमा अनिश्चित वा दोहोरिने आधारमा उत्पन्न हुने अपेक्षा गरिएको हुन्छ,
  • सम्झौताको गर्दाका बखत भविश्यमा कुन समयमा कति परिमाणमा वस्तु तथा सेवा आवश्यक पर्छ थाहा हुँदैन;
  • न्यूनतम स्तरमा मौज्दात कायम गर्न अनुमति प्रदान गर्न ;
  • आवश्यकताका आधारमा वस्तुहरू, सेवाहरू प्राप्त गर्न ,
  • खरिद गरीने विषय र प्रकृतिका आधारमा कुनै खास समयमा अत्यन्तै जरुरी खालका विषयहरु खरिद गर्न,
  • आपत व्यवस्थापनको लागि आवश्यक सामाग्री आपूर्तिका लागी खरिद गर्न।

५. संरचनात्मक वा एकाई दर सम्झौताको प्रकार

क. सुचना आव्हानका आधारमा
सुचना आव्हानका आधारमा देहायका दुई प्रकारका संरचनात्मक वा एकाई दर सम्झौता हुन्छन् :

बन्द संरचनात्मक वा एकाई दर सम्झौता : यो यस्तो संरचनात्मक वा एकाई दर सम्झौता हो जस्मा कुनै आपूर्तिकर्ता पछि दोश्रो चरणमा हुने खरिद सम्झौताका बखत प्रतिस्पर्धामा सहभागी हुने गरी छनौट हुन्छ र त्यस्ता आपुर्तिकर्ताहरु सँग मात्र प्रतिस्पर्धा गराई खरिद कार्य सम्पन्न गरीन्छ। यस प्रकारको सम्झौता योग्य आपुर्तिकर्ता वा सेवाप्रदायकहरुको सुची  तयार गरी उनीहरुसँग मात्रै आपुर्ति वा सेवा प्राप्त गर्ने लिमिटेड कल अफ सम्झौता गरीने संरचनात्मक वा एकाई दर एग्रीमेण्ट हो।

खुला संरचनात्मक वा एकाई दर सम्झौता भनेको दोश्रो चरणमा हुने खरिद सम्झौताका बखत प्रतिस्पर्धामा पहिले नै सम्झौता भइसकेका तथा तत्कालिन अवस्थामा उपलव्ध थप आपुर्तिकर्ताहरुसँग समेत प्रतिस्पर्धा गराई खरिद कार्य सम्पन्न गर्ने सम्झौता विधी हो। यस प्रकारको सम्झौता योग्य आपुर्तिकर्ता वा सेवाप्रदायकहरुको सुची  तयार गरी उनीहरु समेत थप हुन आउने नयाँ आपुर्तिकर्ता वा सेवाप्रदायकहरु समेतसँग आपुर्ति वा सेवा प्राप्त गर्ने गरिन्छ। खुल्ला संरचनात्मक वा एकाई दर सम्झौताको पार्टी बन्न आपूर्तिकर्ताहरूले कुनै पनि समयमा यसको सञ्चालनको अवधिमा सुचना गर्दाका बखतको योग्यता र मापदण्डका शर्तहरु पुरा गरी पक्ष वा पार्टीहरू बन्न आवेदन दिन सक्दछन।

ख. विशेष अवस्थामा संरचनात्मक वा एकाई दर सम्झौता

एक पक्षीय वा संरचनात्मक वा एकाई दर सम्झौता : बिशेष अवस्थाका लागी सार्वजनिक निकायहरूले एक चरणीय संरचनात्मक वा एकाई दर सम्झौताको लागि प्राथमिकता दिइ संरचनात्मक वा एकाई दर सम्झौता गर्न सक्नेछन् जस अन्तर्गत बारम्बार खरीद गरिएका मालसामान तथा सेवाहरू त्यस्तो सम्झौतामा समावेश  गरिनुपर्दछ।

बहु पक्षीय संरचनात्मक वा एकाई दर सम्झौता :अनिश्चित–परिमाण हुने खरिदका लागी संरचनात्मक वा एकाई दर सम्झौता गर्दा दुई वा दुई भन्दा बढी पक्षका विच  सम्झौता हुने गरी सम्झौता गर्न प्राथमिकता प्रदान गर्न सकिनेछ।

ग. आपुर्ति समय र परिमाणका आधारमा संरचनात्मक वा एकाई दर सम्झौता :

आपुर्ति समय र परिमाणका आधारमा संरचनात्मक वा एकाई दर सम्झौता देहायका तिन प्रकारका हुनेछन् :

निश्चित–परिमाण संरचनात्मक वा एकाई दर सम्झौताः 
कुनै निश्चित अवधि को लागी मालसामान वा सेवाको एक निश्चित परिमाण को आपुर्तिको लागी गरीने सम्झौता नै निश्चित–परिमाण संरचनात्मक वा एकाई दर सम्झौता हो। यसमा कुनै स्थान विशेषमा निश्चित समयका लागी आपुर्तिको आदेश गरीन्छ। उदाहरणः प्रहरी वा सेनाको पोशाक खरिद

आइटमवाइज वा आवश्यकतामा आधारीत संरचनात्मक वा एकाई दर सम्झौता :

कुनै निश्चित अवधिको लागी कुनै मालसामान वा सेवाको परिमाण पहिले नै निर्धारण गर्न नसकिने तर त्यस्ता मालसामान तथा सेवाहरु दोहोरीरहने मालसामान वा सेवाहरुको आपुर्तिको लागी गरीने सम्झौता नै आइटमवाइज वा आवश्यकतामा आधारित संरचनात्मक वा एकाई दर सम्झौता हो। यस्तो सम्झौतामा आवश्यकतालाई अधिकतम वा न्यूनतम परिमाण निर्दिष्ट गरी सम्पुर्ण आवश्यकताहरुको पुर्तिका लागी खरीद इकाईले प्रत्येक व्यक्तिगत आदेश र अधिकतम आदेश गर्न सक्छन् यस्तो आदेश एक निश्चित समयको अवधिमा गर्न सकिने हुन्छ। उदाहरणः फोटोकपी पेपर, टोनर आदी खरीद

अनिश्चित–परिमाण संरचनात्मक वा एकाई दर सम्झौताः 
एक निश्चित अवधिमा खरिद गर्ने निकायले न्युनतम वा आवश्यक परिमाणमा तोकिएका मालसामान तथा सेवाहरूको परिमाण निश्चत गर्न नसक्दा गरिने सम्झौता नै अनिश्चित मात्र फ्रेमवर्क  सम्झौता  हो। खरीद ईकाईले एक अनिश्चित–परिमाण संरचनात्मक वा एकाई दर सम्झौता त्यस्तो बेला प्रयोग गर्नुपर्छ जब न्युनतम आवश्यकता अपेक्षित हुन्छ।

यदि माग निश्चित छ साथै वितरण गर्ने स्थान र समय निश्चित गरिएको छ भने निश्चित–परिमाण अनिश्चित–वितरण संरचनात्मक वा एकाई दर सम्झौता नै  संरचनात्मक वा एकाई दर सम्झौता अन्तर्गत खरीदको राम्रो विकल्प हो,

यदि माग दोहोरिएको छ तर मागको पूर्वनिर्धारित हुन सक्दैन तर न्यूनतम र अधिकतम माग निर्दिष्ट गर्दै संस्थाको प्रतिबद्धतास्वरुप मात्र करार गरीन्छ भने  त्यस्तो वास्तविक खरीदका लागि आवश्यकतामा अधारित संरचनात्मक वा एकाई दर सम्झौता अन्तर्गत खरीदको राम्रो विकल्प हो।

यदि माग पूर्वनिर्धारित गर्न सकिँदैन, न्यूनतम माग निश्चित गरी सम्झौता गर्न सकिन्छ भने त्यस्तो बेला अनिश्चित–परिमाण संरचनात्मक वा एकाई दर सम्झौता संरचनात्मक वा एकाई दर सम्झौता अन्तर्गत खरीदको राम्रो विकल्प हो।

नियमावलीको चौधौँ संशोधनले खुला संरचनात्मक वा एकाई दर सम्झौतालाई अंगकिार गरी व्यवस्था गरेको छ संशोधन व्यवस्था अनुसार नियमावलीको नियम २१ पछि २१क. थप गरी उपनियम ४ मा दोश्रो चरणमा सार्वजनिक निकायले प्रथम चरणमा छनोट भई संरचनात्मक वा एकाइ दर सम्झौता गरिएका आपूर्तिकर्ताहरुवाट बन्द सूचीका आधारमा वा अन्य आपूर्तिकतालाई समेत प्रतिस्पर्धा गराउने गरी कल अफ कन्ट्रयाक्ट गर्न सक्नेछ। साथै आपूर्ति, समय र परिमाणका आधारमा हेर्दा संशोधित व्यवस्थाले निश्चित, अनिश्चित र आवश्यकता अनुरुपको परिमाणमा तोकिएको समयमा आपूर्ति गर्ने शर्तहरु उल्लेख गरी कल अफ कन्ट्रयाक्ट गर्न सक्ने व्यवस्थाले सबै विकल्पहरु खुला गरेको छ।

६. संरचनात्मक वा एकाई दर सम्झौता प्रक्रियाको दोस्रो चरणस् कल अफ कन्ट्रयाक्ट 

संरचनात्मक वा एकाई दर सम्झौता भइसकेका आपुर्तिकर्ता तथा सेवाप्रदायकहरुलाई मालसामान वा सेवा आवश्यक परेका बेला कार्यादेश जारी गर्ने गरी सुचना मार्फत प्रस्ताव माग गर्ने र उपयुक्त आपुर्तिकर्ता तथा सेवा प्रदायक सँग सम्झौता गरी मालसामान वा सेवा प्राप्त गर्ने सम्पुर्ण प्रक्रियालाई कल अफ सम्झौता भनिन्छ।

यसका लागी पुनः प्रतिस्पर्धा गराउनु पर्दछ। त्यस्तो प्रतिस्पर्धा दुइ किसीमवाट गराउन सकिन्छ जसका लागी सिलवन्दी गरिएको दरभाउ समेतको प्रस्ताव पेश गर्न लगाउने वा प्रभावकारी विधुतीय प्रणालीको प्रयोग गरी घटाघट माध्यमवाट बोलकबोल गर्न लगाउने दुई मध्ये एक उपाय अपानाएर प्रस्ताव प्राप्त गर्न सकिन्छ। नियमावलीको संशोधित व्यवस्थाले तिस दिनको अवधि दिई बोलपत्र गर्नुपर्ने व्यवस्था गरेकोले बिधुतिय खरिद निर्देशिकाले सबै खाले बोलपत्र बिधुतिय खरिद प्रणालीमात्र प्रयोग गर्नुपर्ने अनिवार्य व्यवस्था गरेका कारण यस्तो कल अफ कन्ट्रयाक्ट गर्दा विधुतीय प्रणालीको प्रयोग गरी घटाघट माध्यमवाट बोलकबोल गर्न लगाउने विकल्प छानेको देखिन्छ।

कल–अफ सम्झौताको मुल्यांकन गर्दा सबैभन्दा बढी आर्थिकरुपमा लाभदायक रहेको प्रस्ताव (एमइएओ) को आधार तथा सबैभन्दा न्युन मुल्य कवोल गरेको आधार मध्ये कुनै एक विधि अपनाएर गर्न सकिन्छ। एमइएओ मुल्याँकन मापदण्ड क्वालिटीसँग सम्बन्धित छ, जसमा थपिएको मूल्य, नवीनता, सामाजिक मूल्य, सेवाहरू पुर्याउने दृष्टिकोण, परिचालन, आपूर्ति श्रृंखला, साझेदारहरूको प्रयोग, लागत प्रभावकारिता, प्राविधिक योग्यता, प्राविधिक सहयोग, बिक्री सेवा पछि, मूल्य, सौन्दर्य र कार्यात्मक विशेषताहरू, चालू लागत, वातावरणीय विशेषताहरू, डेलिभरी मिति र वितरण अवधि, पूरा हुने अवधिको समेत मुल्याँकन गरी निर्णय गरीन्छ।

७. खरिद निकायका लागी संरचनात्मक वा एकाई दर सम्झौताका फाइदाहरु :

केन्द्रिय खरिद निकाय वा कार्यालयले सार्वजनिक खरिद कार्य गर्दा संरचनात्मक वा एकाई दर सम्झौता अपनाउँदा देहायका फाइदाहरु हुन सक्छन् :

  •  तहगत कर्मचारी संयन्त्रको झण्झटवाट मुक्त हुन्छ,
  •  पटक पटक ठेक्का प्रकिया गरीरहनु  नपर्ने अर्थात एकल टेण्डरींग अभ्यास हुन्छ,
  •  खरिद निकायको प्रशासनिक समय तथा ठेक्का लागतमा घटी,
  •  प्रारम्भिक टेन्डर प्रक्रियाले ठेक्का दिने अधिकारहरूलाई प्रतिस्पर्धी आपूर्तिकर्ताहरू पहिचानमा मद्दत दिन्छ, जसले व्यापारको अपेक्षित मूल्यको आधारमा अधिक प्रतिस्पर्धी मूल्यहरू प्रस्ताव गर्नुपर्दछ,
  •  खदि निकायसँग मालसामान वा सेवाको आपूर्तिको लागि सहमति गरिएको दायरामा रही छोटो सूचनाद्धारा प्राप्त गर्न सकिन्छ, जसले सामानहरूको लागि धेरै समय मौज्दातमा राख्नुपर्ने समय घटाउने वा र उपकरण मर्मत र मर्मतमा हुने ढिलासुस्ती घटाउने;
  •  आपुर्तिकर्तासँग आपसमा लाभदायक दीर्घकालीन कार्यसम्बन्ध स्थापित गर्न सकिने।
८. संरचनात्मक वा एकाई दर सम्झौताबाट आपूर्तिकर्तालाई हुने फाइदाहरू :
सार्वजनिक खरिद कार्य गर्दा संरचनात्मक वा एकाई दर सम्झौता मा संलग्न हुँदा सम्बन्धित आपुर्तिकर्ता वा सेवाप्रदायकलाई देहायका फाइदाहरु हुन सक्छन् :
  • व्यवसाय विकास योजना को लागी एक दीर्घकालिन दृष्टिकोण बनाउन मद्दत पुग्छ,
  • आपुर्ति योजनाको लागि दीर्घकालीन योजना बनाउन सहयोगी, उदाहरणका लागि मौज्दातस्तर कायम राख्ने र आपूर्तिको व्यवस्थापन गर्न सकिने,
  • खरिदकर्तासँग आपसमा लाभदायक दीर्घकालीन कार्यसम्बन्ध स्थापित गर्न सकिने।

९.अन्तमा,
मालसामान र सम्बद्ध सेवाको खरिद अहिले पनि सार्वजनिक निकायहरुमा भइरहेकै छन। हालको मालसामान र सम्बद्ध सेवा खरिदका लागी एउटा नम्ना खरिद कागजात तयार गरी नियमनकारी निकाय सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गर्दै आएको छ त्यसमा सामयीक संशोधन समेत भइ प्रचलनमा रहेको छ तर उक्त कागजात आफैमा अधुरो रहेको छ।  एकमुष्ट सम्झौतामा आधारीत रही तयार भएको उक्त कागजातमा केही संशोधन गरी एकाइ दरमा परिवर्तित गरी सम्झौता भएको भएतापनि त्यसवाट विवाद असंख्य हुन गइ पुनरावलोकन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र अदालतमा अनावश्यक हिसावले मुद्दाको संख्या बढ्न गएको पाइएको छ। खासगरी बन्दोबस्तीका सामानहरु र औषधी तथा स्वास्थ्य उपकरणहरु जुन पटक पटक खरिद गरिरहनुपर्ने र उचित प्रतिस्पर्धा गराउनुपर्ने मालसामान र सम्बद्ध सेवाहरु खरिद गर्ने निकायहरुमा हालको मालसामान खरिद सम्बन्धी कागजात अनुपयुक्त र अधुरो रहेको छ।

यस सम्बन्धमा सार्वजनिक खरिद नियमावलीको नियम १४५क ले सरकारी खरिद सेवा कार्यालयको स्थापना गर्न सक्ने र सार्वजनिक निकायहरुले समझदारी ९एमओयु ० गरी त्यस्तो कार्यालयले केन्द्रिय स्तरमा छनौट गरेको आपर्तिकर्ताबाट खरिद गर्न सक्ने प्रावधान रहेको छ त्यसरी केन्द्रिय स्तरमा रहेको खरिद सेवा कार्यालय सञ्चालनका लागीे  सार्वजनिक खरिद अनुगमन कार्यालयले छुट्टै खरिद निर्देशिका जारी गर्नु पर्नेछ भन्ने व्यवस्था समेत रहेकाले सोही व्यवस्थाको कार्यान्वयन गर्न तथा हालको गलत अभ्यासवाट अन्तर्राष्टिय अभ्यासमा रुपान्तरण गरी नियमित एवम् बैधानिकता प्रदान गर्नका लागी संरचनात्मक वा एकाई दर सम्झौताको अभ्यासमा अगाडी बढ्नुपर्ने देखिन्छ। जसलाई हालैको चौधौं संशोधनले अनुसुचीमा सिमित रहेको सम्झौता विधिलाई स्पष्ट कानूनी व्यवस्थाले यसको महत्व समेत स्थापित गरिदिएको छ।  यो सम्झौतामा विभिन्न चरणमा विभिन्न स्वरुपमा अवस्था हेरी लागु गर्न सकिने अधिक लचकताको गुण विद्यमान रहेकाले मालसामान खरिद कार्य जुनसुकै परिस्थीतिमा समेत महत्वपुर्ण खरिद सम्झौताको रुपमा उपयोग गर्ने सकिने भएको छ।

प्रकाशित :२०८२ श्रावण ३०, शुक्रबार १२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry