जनप्रतिनिधिहरूका प्रतिबद्धता र स्थानीय विकास

भरखरै स्थानीय तहको चुनाव सकिएर स्थानीय सरकार गठन भएको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरु दोस्रो कार्यकालकालागि चुनिनु भएको छ। स्थानीय सरकारका थुप्रै नीति, नियम, कानूनहरु बनिसकेका छन्। पहिलो कार्यकाल भन्दा दोस्रो कार्यकालको परिवेश फरक छ ।पाँच वर्षमा धेरै परिवर्तन भएका छन्। जनताको मत बदलिदो परिवर्तनको समर्थनमा छ। विश्वपरिवेश ,बदलिदो परिस्थिति, युवाहरूको जोश, जाँगर बदलिँदै गएको छ। विकासको स्वरुप हामी नजिकैबाट हेरिरहेका छौं । चुनावका समयमा जनप्रतिनिधि हरुले जनतासमक्ष गरेका बाचालाई जनताले नियालिरहेका हुन्छन्। त्याग र प्रतिबद्धता गर्दा दुरदर्शी भएर गर्नु पर्छ, भोलि तिनै विषय आफुलाई प्रत्युत्पादक हुनसक्छन भन्ने विषय चुनावको परिणामले देखाइसकेको छ।।
अहिले जनप्रतिनिधिहरु तलब नलिने ,गाडी नचढ्ने, तलब दान दिने, सुविधा नलिने आदि त्याग व्यक्त गर्दै आउनुभएको छ । हामीलाई थाहा छ, नेपाली समाज बहुत सहिण्णु छ। हामी त्याग, सेवा, भावनालाई सम्मान गर्छाौ।त्यसैले हामी सर्वप्रथम त्याग र सेवा नै गर्न खोज्छौं। किनभने यही विश्वास हामीले अहिलेसम्म काेहि बाट पाएका छैनौ। तर त्याग र सेवा कृतिम हुनुहुँदैन ।त्याग देखिनु हुँदैन। यो स्वभाविक हुनुपर्छ। सरल हुनुपर्छ र निरन्तर हुनुपर्छ ।
अहिलेको स्थानीय सरकारमा थुप्रै दायित्व छन्। जिम्मेवारीहरु छन्। मानिसमा बेरोजगारी छ। गरिबी छ ।पिछडिएको वर्गको विकास गर्नुछ। आन्तरिक स्रोत बढाउनु छ। विकास, निर्माणका थुप्रै अधिकार छन्। अधिकारलाई उत्पादनमा परिणत गर्नु जरुरि छ। संघीयतालाई उत्पादक बनाउनु छ ।विश्वास दिलाउनु छ। माला र खादा लगाको जोशमा गरिएको त्याग सधै उस्तै हुनुपर्छ। सरकारबाट दिएका सेवा सुविधा श्रमको मूल्य हो। श्रमको मूल्य दिनुपर्छ। मेहनत गरेको श्रमको मूल्य लिनुपर्छ। कुनै सुविधा नलिदा जीवन चलाउन गाह्रो पर्न सक्छ ।त्यसैले तलबभत्ता त्याग गर्नु भन्दापनि स्वार्थ विभेद त्याग्नुहोस्।
जनता, कुनै अमुक दलको हुँदैन । विचार र अधिकारको रुपमा नागरिक स्वतन्त्र हुन्छन्। त्यसैले जुनसुकै सेवाग्राहीलाई लागि सर्वप्रथम जनताको रुपमा हेर्नु सक्नु पर्छ । कुर्सीमा बस्दिन , तलब लिन्न भन्ने विषय त्याग होइन ।कुर्सिमा बसेर पनि राम्रा र नराम्रा दुवै काम गर्न सकिन्छ। गाडी चढेर राम्रो र नराम्रो दुबै काम गर्न सकिन्छ।स्वार्थ मात्र त्यागेमा सेवा सुविधा त्याग्नु पर्दैन। यतिखेर गरेको त्यागले मूल्य खोज्छ। मूल्य खोज्ने गरी गरिएको त्याग स्वार्थबाट प्रेरित हुन्छ ।अहिले विकासको खाँचो जनतालाई छ। स्थानिय बिकासमा सबैको समान सहभागिता र समन्वय सहि भएमा त्यो ठूलो त्याग हाे ।त्याग, देखिँदैन अरुबाट मूल्यांकन हुन्छ।
सरकारी कार्य पणाली प्रक्रियागत छ।नतिजामा पुग्न थुप्रै कार्यविधि पूरा गर्नुपर्छ। परम्परागत प्रशासन छ। प्रशासनमा प्रविधिको प्रयोग न्यूनतम छ। प्रविधिमा पैसा खर्च गरेपनि उन्नत हुन सकेको छैन ।भर्खर जनताको मत लिएर आएका प्रतिनिधिहरुलाई छिट्टै नतिजा दिनुछ।जनताका बाचा पुरा गर्नुछ। सरकारी प्रक्रिया केही लामा र झन्झटिला हुन्छन् भन्ने कुरो जनप्रतिनिधिहरुलाई थाहा नहुनसक्छ। तर यो यथार्थ हाे।
पालिकामा निर्णयमा पुग्न सवन्वय, सहभागीता, पारदर्शिताको जरुरत पर्छ। कुनैपनि कामहरु बाहिर भनेजस्तो हुँदैन। कानुन अनुरुप काम गर्नुपर्छ। प्रक्रिया कुरुनु पर्छ। पालिका भित्र एउटा संस्कृति छ ।संस्कार छ। पद्धति छ। विकास गर्ने तौरतरिका छन्। कर्मचारी छन् । कर्मचारीहरुका आफ्नै सम्बन्ध छन्। सम्पर्क छन्। कर्मचारीहरुमा एउटा काम गर्ने शैली छ ।संस्कृति छ। ।कानुन भित्र काम गर्न झन्झटिलो हुनसक्छ तर जति झन्झटिलो भएपनि प्रक्रिया पुरा गर्नु नै पर्छ। किनभने नतिजाले पनि प्रक्रिया खाेज्छ। इमान्दार र अनुशासनमा रहेर सरकारी निर्णय गरिदियो भने नतिजा प्राप्त हुन्छ। तर हामी यही नै चुक्छौं । यहीबाट स्वार्थ शुरु हुन्छन् याे हामीले भोगेको र अनुभव गरेको विषय हो। पालिका भित्रको संस्कृति, व्यवहार, ऐन, कानुन बुझ्न सक्नु नै आधा सफलता प्राप्त गर्नु हाे। भ्रष्टाचार गर्दिन भन्नु प्रतिवद्धता होइन भ्रष्टाचार नगर्नु प्रतिबद्धता हाे।भ्रष्टाचार नगर्न थुप्रै त्याग गर्नुपर्छ। अहिले स्थानिय बिकासमा खानेपानी, सरसफाइ, फोहोर मैला व्यवस्थापन, बालकल्याण, जग्गा व्यवस्थापन , बगैचा निर्माण, पुरातात्विक संरक्षण ,बजारको विकास, कर नियमन,मूल्य नियमन, सामाजिक सुरक्षाका विषय जनताले पर्खेर बसेका छन्। के त्याग गर्ने भन्दापनि नागरिकसंग मिलेर काम गरेमा ठूलो फाइदा हुन्छ । वास्तविक प्रतिबद्धता यही हो।
बजारमा थुप्रै स्वार्थ समूह छन् ।चुनावमा पछि लागेको मान्छेले पालिकामा आफ्नो स्थान खोज्न सक्छ। ठेक्का पट्टा, परामर्शदाता आशामा उनीहरु नजिकै आउछन्। जब टाढा पुग्छन् अनि विरोध हुन सक्छ। सरकारी ऐन ,कानून, नीति नियम ,प्रक्रिया र व्यवस्थापनको कारणले बाहिरका समूहहरु पालिकासँग रिसाउँछन्। किनभने उनीहरु प्रक्रियाभन्दा बाहिर नतिजा खोज्छन्। जब प्रतिनिधिहरु पालिका भित्र प्रशासन बुझ्न थाल्नुहुन्छ त्यसपछि यथार्थकाे नजिकै पुगिन्छ। प्रणालीभित्र रहेर नतिजा दिन सक्नु नै सबैभन्दा ठूलो त्याग र प्रतिबद्धता हाे। प्रणालीभित्र नबस्दा बेरुजु, भ्रष्टाचार, अनियमितता बढेको छ।त्यसैले कुनै सेवा सुविधा त्याग गर्नु भन्दा कानुनको शासन भित्र बस्दा प्रतिबद्धताहरु पूर गर्न सक्छ।
विकासको व्यवस्थापन गर्नु नतिजा नजिकै पुग्नु हो ।
पालिकाको स्रोतलाई नीति, योजना, बजेट, कार्यक्रम र कार्यान्वयन सम्म नतिजाले पछ्याउनु पर्छ । पालिकामा सूचना प्रबिधि, अभिलेख, महत्वपूर्ण विषय हुन् ।आवधिक योजना, मध्यकालीन खर्च संरचनाबाट आर्थिक अनुशासन कायम गरेमा विकास निर्माणमा फड्काे मार्न सकिन्छ । निजी ,गैरसरकारी, सहकारी र पालिका मिलेर थुप्रै काम गर्न सकिन्छ। सहभागिता समन्वय महत्वपूर्ण विषय हुन। कसैलाई काखा र कसैलाई पाखा नपारी व्यवहार गर्नु नै नतिजा प्रतिको प्रतिबद्धता त्याग हाे। र प्रतिबद्धता यसैमा झल्काउनु पर्छ। त्याग र प्रतिबद्धताको मूल्यांकन नतिजामा देखिन्छ। जनताले मूल्याङ्कन गर्छन्। आज देखि नै हामी यता लाग्योौ भने जनमत सदुपयोग हुन्छ र स्थानिय सरकारमा सही र योग्य नेतृत्वको बिकाश सुरु हुन्छ।
प्रकाशित :२०७९ जेष्ठ २२, आईतवार १०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry