आगामी असारसम्ममा पेट्रोलियम पदार्थको भण्डार परिणाम पत्ता लगाउँदैछौं

०२३ सालमा भारतमा जन्मिएका रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको जिम्मेवारीमा छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत बुबा जागिरको सिलसिलामा भारतमै जन्मिए,हुर्किएका उनको १० कक्षासम्मको अध्ययन पनि उतै भयो । ४२ सालमा अमृत साइन्स क्याम्पसबाट आइएस्सी अध्ययन पूरा गरेपछि बिएस्सीका लागि कोलम्बो प्लान अन्तर्गत खानी इन्जिनियर पढ्न भारतको उडिसा राज्य पुगे । ४ वर्षको अध्ययन पूरा गरेर स्वदेश फर्किए र नीजि क्षेत्रमा ४ बर्ष काम गरे । ०५२ सालमा लोकसेवा पार लगाएर सरकारी सेवामा प्रवेश गरेको २८ बर्ष समय व्यतित भइसकेको छ । जल तथा शक्ति आयोगमा १३ बर्ष सेवा गरेका घिमिरे माथिल्लो तहमा बढुवा भएपछि सो निकायमा दरबन्दी नभएका कारण विभागमा काम शुरु गरेको बताउँछन् ।

Advertisement 1

० तपाइँ यस विभागमा महानिर्देशक भएर आएपछि के कस्ता कामहरु गर्नुभएको छ ?
खानी तथा भूगर्भ विभाग नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको संघीय कानुन अनुसार स्थापना भएको विभाग हो । यस विभागको मुख्य काम भनेको खनिजको अन्वेषण, त्यसको प्रवद्र्धन गर्ने र नेपालको भौगर्भिक अवस्थाको बारेमा विभिन्न प्रकारका सर्भेहरु गरेर कुन ठाउँको भौगोलिक अवस्था कस्तो प्रकारको रहेको छ भन्ने पत्ता लगाउनु हो । हामीले यसरी अध्ययन अनुसन्धान गरेपछि सरकारका विभिन्न निकायहरुले ठुला ठूला पूर्वाधारहरु निर्माण गर्दा,पक्की मोटरेबल पूल बनाउँदा, ठूला प्रकारका हाइडो डयामहरु बनाउँदा ठुला बस्तीहरुको स्थापना गर्दा यस भूभागको अवस्था अनुसार यस्तो किसिमले संरचनाहरु बनाउनुपर्छ यस्तो पूर्व सावधानीहरु अपनाउनुपर्छ भनेर सल्लाह सुझाव दिने गर्दछ । अर्को कुरा भूकम्पीय अध्ययन गर्ने काम पनि यही विभागको हो । यसका लागि हामीले देशभर ४२ वटा भूकम्पीय स्टेसन र ५२ वटा जिपियस स्टेसन राखेर भूकम्पको गतिविधिलाई अध्ययन गर्दै ४ रेक्टरभन्दा बढीको भूकम्प गयो भने सरकारका सम्बन्धित निकायहरुलाई जानकारी गराउने गर्दछौ । भूकम्पका विभिन्न विश्लेषण गरेर भविष्यमा कुन क्षेत्रमा बढी जोखिम छ, कसरी पूर्व सावधानी अपनाउने भन्ने जानकारी दिने पनि हाम्रो जिम्मेवारी हो । यसै गरेर पेट्रोलियम पदार्थको अन्वेषण गर्ने काम पनि गरिरहेका छौं । त्यसका लागि १० वटा ब्लकमा विभाजन गरेर काम गर्दै आएका छौं । अहिले आएर दैलेख जिल्लाको नाभिस्थान, श्रेयसस्थान लगायतका क्षेत्रमा अन्वेषणको लागि हामीले चीन सरकासँग जिटुजी सम्झौता गरेर काम भइरहेको छ । आगामी फागुन महिनादेखि त्यस क्षेत्रमा गहिरो डिलिङहरु गरेर करिव ४ महिनाभित्र हामीले तेलको भण्डार कति परिमाणको छ भन्ने पत्ता लगाउने काम सम्पन्न गर्छौ। यसका लािग हाम्रा प्राविधिकहरुसँग समन्वय गरे चिनियाँ प्राविधिकहरुले काम गरिरहेकै छन् । यसका लागि विशेष प्रकारका मेसिनहरु चाइनबाट आइरहेका छन् । कर्णाली राजमार्गलाई स्तरोन्नतिको काम पनि धमाधम चलिरहेकै छ ।

० विभिन्न प्रकारका खनिज तथा पेट्रोलियम पदार्थ उत्खनन् गर्दा लगानी लागतको अनुमान कसरी गरिन्छ ?
हामीले यस खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन् गर्दा सबैभन्दा पहिला त्यसको प्राविधिक पाटोबाट अध्ययनहरु गर्दछौं । प्राविधिक हिसावले त्यसको उत्खनन् सम्भव छ वा छैन, त्यसको भण्डारण कति छ, कति क्षेत्रफलमा फैलिएको छ । त्यहाँसम्म राजमार्गको पहुँच कस्तो छ, बजार कहाँ– कहाँ छ ? उद्योग कुन स्थानमा स्थापना गर्न सकिन्छ ? यस्का अलवा उत्पादित कच्चा पदार्थलाई रिफाइनरी गर्न सकिन्छ वा सकिन्न यी सबै प्रकारका कुराहरुलाई सूक्ष्म र मिहिन ढंगले अध्ययन गरे पछि त्यसबाट प्राविधिक,आर्थिक, वातावरणीय हर किसिमले उपयुक्त देखिएको खण्डमा मात्रै यसलाई सञ्चालन गर्ने गरिन्छ । हामीले अहिले गरिरहेको भनेको प्राविधिक पक्षको अध्ययन अनुसन्धान मात्र हो ।

Advertisement 2

०पछिल्लो समय खानीजन्य कुराहरु पनि उद्योगकै रुपमा विकास हुन लागेका छन् । अझ त्यसमा पनि खानी उत्खननको लाइसेन्स होल्ड गरेर राख्ने तर काम नगर्ने विकृती व्यापक छ भन्ने सुनिन्छ । कसरी रोक्ने यसलाई ?
खानी उत्खननका लाइसेन्स झोलामा बोकेर मात्रै बसेका छन् भन्ने कुरा विभिन्न समयमा सञ्चार माध्ययमा आउने गरेका छन् । तर यसको वास्ताविकता त्यस्तो होइन र हाम्रो कानुनले नै विभिन्न प्रावधानहरु राखेको छ । सुरुमा अन्वेषणको लागि ४ वर्षको समयावधि तोकिएको हुन्छ । त्यसपछि त्यो कम्पनीले उत्खननको काम गरिरहेको, वार्षिक प्रगति विवरण बुझाएको छ भने हाम्रा प्राविधिकले निरीक्षण गरेपछि साँच्चिकै थप समय चाहिएको रहेछ भने मात्रै दुई वर्ष थप गर्ने कानुन छ । ६ वर्षमा सबै काम सकेर हर किसिमले उपयुक्त छ भनेमात्रै हामीले लाइसेन्स दिने गरेको छौं । काम नगर्नेहरुको लाइसेन्स नै रद्ध गर्दछौं ।

० हालसम्म कतिवटा कम्पनीले खानी उत्खननको लागि लाइसेन्स लिएका छन् । उनीहरुको प्रगति विवरण कस्तो छ ?
अहिलेसम्मको आँकडा हेर्ने हो भने लगभग १६० वटा कम्पनीले खानी उत्खननको लागि लाइसेन्स लिएकोमा ६० वटा जति खानी सञ्चालनमा छन् । यसमा पनि ४३ वटा चुनढुंगामा आधारित खानी उद्योग छ । ती खानीबाट उत्पादन भएका चुनढुंगाबाट नेपाली सिमेन्ट उद्योगले क्लिंकर र सिमेन्ट उत्पादन गर्छन । पछिल्लो समय नेपालले क्लिंकर निर्यात समेत गरिरहेको छ । यसका साथै खरी (टल्क) सम्बन्धी उद्योगहरु पनि रहेका छन् । समग्रमा यस्ता उद्योगहरु क्रमशः बढ्दै गएका छन् । यसबाट राज्यलाई ठूलो मात्रामा राजस्वसमेत प्राप्त भइरहेको छ ।

Advertisement 3

० सिन्धुपाल्चोकको लामोसाँगुमा रहेको नेपाल ओरियण्ट म्याग्नेसाइट र दोलखाको खरिढुंङ्गा जस्ता ठूला उद्योगहरु पनि लामो समयदेखि बन्द छन् । यसलाई सञ्चालन गर्ने कुनै योजना छैनन् ?
तत्कालीन समयमा नेपाल ओरियण्ट म्याग्नेसाइट भन्ने कम्पनीले लाइसेन्स लिएर त्यसको उत्पादन सुरु गरेको हो । त्यो खरिढुंगा एसियाकै धेरै परिमाण रहेको स्थान हो । यसमा नेपाल सरकार, खेतान समूह र झुनझुनवाला लगायतको शेयर रहेको छ । त्यतिबेला खरिढुंगाबाट चुनढुंगा ल्याएर लामोसाँगुमा उद्योग स्थापना गरिएकोमा जुन किसिमले त्यहाँबाट डिबिएम बनाउने काम भयो त्यो कम गुणस्तरको भएको कारण त्यसले बजार पाउन सकेन । भारत निर्यात गर्ने गरिएको थियो तर त्यहाँ चाइनिज कम्पनीहरुले हाम्रो भन्दा धेरै सस्तोमा निर्यात गरेकाले हाम्रो उत्पादने बजार नपाएर उद्योग बन्द भएको हो । यस उद्योगलाई पुनः सञ्चालनमा ल्याउनेबारे मन्त्रालयमा छलफल भइरहेको भन्ने मैले पनि सुनेको हुँ । अरु विस्तृत कुरा त मन्त्रालयबाटै थाहा हुन सक्ला ।

प्रकाशित :२०८० पुष ६, शुक्रबार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry