नारायणहिटीमा लफडा :-दरबन्दी एउटा, लेखापाल दुईजना
परराष्ट्र मन्त्रालय मातहतका कतिपय निकाय कर्मचारीको अभाव झेलिरहेका छन् । मन्त्रालय मातहतकै नारायणहिटीमा अवस्थित कन्सुलर विभागमा एक मात्र दरबन्दी रहेको ठाउँमा दुई कर्मचारी खटाएसँगै समस्या निम्तिएको छ ।
Advertisement 1
परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर सेवा विभागमा भद्रगोल देखिएको छ । त्यहाँ लेखापालको दरबन्दी एक जनाको मात्र हो तर दुई जना खटाइएपछि समस्या भएको हो ।
पहिलादेखि नै एक जना लेखापाल कार्यरत रहँदा रहँदै अर्काे लेखाकै हाकिम खटाइएपछि समस्या निम्तिएको छ ।
नारायणहिटीस्थित कन्सुलर सेवा विभागमा लेखापालको दरबन्दी एउटा छ तर कर्मचारी दुई जना । त्यहाँ पहिलादेखि नै विकास भट्टराई थिए । अहिले परराष्ट्रमन्त्रीले गुल्मीकै सुमित्रा भण्डारीलाई काजमा पठाउँदा यस्तो भद्रगोल मच्चिएको हो । काम नगरे पनि उनी पछिल्लो दुई हप्तादेखि हाजिर गर्ने, घर फर्कने हुँदै छ । त्यहाँका हाकिम जीवनप्रकाश श्रेष्ठको कार्यकाल दुई महिना मात्र बाँकी छ । विदेशस्थित हाम्रा नियोग, दूतावाससँग सीधै जोडिने र नेपालीका लास ल्याउने, नेपालस्थित विदेशी कूटनीतिज्ञहरुलाई करमुक्त सुविधा दिने यही अड्डाले हो ।
यता अस्ति आइतबार राति नै परराष्ट्रका अधिकारीहरू बसेर विभिन्न देशका निम्ति नयाँ पोष्टिङ टुंग्याएका छन् । जसमध्ये परराष्ट्र सेवाभित्र सबैभन्दा ‘चार्मफुल’ मानिएको,र त्यहाँ जान कर्मचारीबीच हानथाप रहने दक्षिण एशियाली राष्ट्रहरूको क्षेत्रीय सहयोग संगठन सार्कको डाइरेक्टरमा दोहास्थित नेपाली दूतावासबाट फर्किएका मणिरत्न शर्मालाई पठाइने भएको छ । त्यहाँका दधिराम भण्डारीको कार्यकाल वैशाखमा सकिँदै थियो । काठमाडौंमा बसेर मासिक झण्डै आठ लाख तलब, भत्ता बुझ्न पाइने भएपछि सो पदलाई आकर्षक मानिँदै आएको छ ।
ओमानबाट फर्केकी रोजिना ताम्राकारलाई डिसिएम बनाएर क्यानाडा पठाउने तयारी चल्दै छ भने अन्य देशमा कार्यकाल पूरा गरेर आएका राजदूतलाई डिभिजन चिफ बनाइएको छ । जेनेभाबाट फर्केका डिसिएम सुरेश अधिकारीको भागमा अचेल नराम्रो मानिएको ब्रसेल्स परेको छ भने बैंककबाट फर्केका जंगबहादुर गुरुङलाई जेनेभा खटाउने तयारी चलिरहेको छ ।