एनसेल शेयर खरिद- विक्री प्रकरण छानबिन गर्न पूर्व महालेखापरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन
सरकारले एनसेलको शेयर खरिद विक्री निर्णयबारे अध्धयन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । बिहान बसेको क्याविनेट बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
Advertisement 1
समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले छन् । समितिका सदस्य गौतम कानून समूहका सचिव हुन् । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारीमा छन् । भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् भने शाक्य आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक हुन् । चार्टर्ड एकाउन्टेण्डहरुको नियमनकारी निकाय आईक्यानका अध्यक्ष काफ्लेलाई पनि सरकारले समितिको सदस्य बनाएको छ ।
टंकमणि शर्मा नेतृत्वको ५ सदस्यीय छानबिन समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको छ ।यस्तै आज बसेको क्याविनेट बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
Advertisement 2
यस्तै विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय पनि बिहान बसेको क्याविनेट बैठकले गरेको छ ।