कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

ललितपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ।
Advertisement 1
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम घोषणा भइसक्ने जानकारी दिए। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ।
हाल केन्द्रीय सदस्यतर्फकोे खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा छ। निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्।
Advertisement 2
यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन्।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा डिला सङ्ग्रौला तथा खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्।
Advertisement 3
धेरै उम्मेदवार र ठूलो सङ्ख्यामा उम्मेदवार रहेकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको हो। निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ।
सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुङ्गो लाग्नेछ।














