शुन्यबाट उठेका कृष्ण भट्टको करामत !

अञ्जनकुमार हिमाली

Advertisement 1

पढ्ने रहर थियो । पढेर ठूलो मान्छे बन्ने सपना पनि थियो । परिस्थिति अहिलेको जस्तो सहज कहाँ थियो र ईच्छा हुँदैमा उपाय लाग्ने । त्यो समय पढ्नका लागि पैसा अघि सार्नै पर्थो । दुई चिजमा उनको गहिरो ईच्छा थियो । एउटा डाक्टर अर्को बैंकर्स । डाक्टर बनेर दुर्गम भेगमा रोगले छट्पटाएका दीनदुःखी को सेवा गर्ने अर्को सुटेट बुटेट भएर सानसंग हिँड्ने बैंकर्सहरुले पनि उनको मन आकर्षित त गरेकै थियो तर सपना सपनै रहृयो । सामान्य किसान परिवारमा जन्मेका उनको त्यो ईच्छा पुरा गर्ने सामर्थ्य परिवारको थिएन । गोरखाको दुर्गम गाउँ घ्याम्पेसालमा जन्मेका उनलाई जीवनको उतरार्थ खाना लाउनको समेत धौधौ जस्तै थियो ।

२७ साउन २०३७ मा गोरखा जिल्लाको विकट गाउँ घ्याम्पेसालमा बाबा यकुप्रसाद भट्ट र माता तिलकुमारी भट्टको कोखबाट जन्मिएका भट्ट परिवार उनी पाँच वर्ष पुग्दा नपुग्दै २०४२ सालमा नवलपरासी झर्यो । गाउँको भीरपाखामा जति खनीखोत्री गर्दा पनि जीवनको गुजारा सहज नभएसि नवपरासी झरेका उनको परिवारलाई त्यहाँ पनि सहज त के थियो र । खल्तीमा दाम थिएन । दाम नभएपनि काम गर्नका लागि भने ठाम त थियो । तर यही समय आमा सारै बिरामी पर्नु भयो । दिव्य ज्योति प्रावि दलदलेमा पढ्दै गरेका उनको मनमा एकप्रकारको हुटहुटी मच्चिन थाल्यो । बाबा आमाको नाजुक अबस्था त्यसमा पनि आमा बिरामी पर्दा उपचार गर्न पैसाको अभाव, साथीभाइसंग झोला बोकेर रमाउँदै स्कूल जाने रहरलाई चटक्कै छाडेर कामको खोजीमा चितवनको नारायणगढ झरे । १३/१४ वर्षको केटो काम नै पाउँथ्यो र के । तिनताका निकै चल्तीमा थियो नारायणगढको भेट्घाट रेष्टुरेन्ट । उनी त्यही पसे । काम मिल्यो मस्काउने चम्काउने ।

Advertisement 2


पुस माघको चिसो । कलिला हात । पट्पट चिरिए । त्यहाँबाट काम छाडेर भाग्ने मन पनि बनाए । जाने पो कहाँ रु भागेर पनि गर्ने के रु केटोको इमान्दारिता देखेर रेष्टुरेन्ट साहुले वेटरमा बढुवा गरिदिए । भेट्घाटमा उनले लगातार एक दशक गुजारे । यो क्रममा उनको चिनजान सबै प्रकारका ब्यक्तिसंग भयो । मेहनत, लगनशीलता र इमान्दारिताले संघर्षका ति दिनले उनमा ऊर्जा पैदा गरायो । बेफ्याकमा एक पैसा मासेनन् । कुलतमा लागेनन्। थोपा संगालेर घैला भर्ने भनेझै त्यहाँ कमाएको पैसा जग्गामा हाले।
सोच बदले । आफैले रेष्टुरेन्ट सञ्चालन गर्ने आँट गरे । आँट त गरे तर लगानी गर्ने पैसा थिएन । विश्वका अर्बपतिका जीवनी पनि उनले नसुनेका हैनन । नेपालकै अर्बपति विनोद चौधरी कुनै बेलाका नाङ्ले पसले हुन् भन्नेपनि सुनेका थिए ।
होटल रेष्टरेन्टनै खोल्ने भइसकेपछि किन खुट्टा कमाउनु आफुसँग भएको एक टुक्रा जमीन बेच्ने भए । जहाँ पनि दलाली बेगर काम नहुने जमाना । त्यसमा पनि जग्गाको कारोबार । बेच्छु भनेपछि आफूले भनेको मूल्य पाउने कुरा पनि भएन । १ लाख ८७ हजारमा जग्गा बेचे । उनले किन्ने भनेको दिव्य होटलले साडे ३ लाख भनेको थियो । ३ लाख २५ होटल किने ।

Advertisement 3

त्यही दिव्य होटललाई जमघटमा परिणत गरे २०६२ चैत्रमा। इमान्दारिता र लगनशीलताले विश्वास कमाए । साथीभाइको साथ सहयोग जुट्दै गयो । भेट्घाटमा चिनजान भएका ग्राहक उनको मै आउने भए । तर दुर्भाग्य रेष्टुरेन्ट खोलेर १७ दिन मात्र सञ्चालन गर्न नपाई १९ दिने आमहड्तालको चपेटामा परे । बामे सर्दै गरेको व्यापार चौपट पारिदियो।
हरेस खाएनन् । कृष्ण अष्टमीका दिन जन्मेका उनले जोर जाम गरेको पैसा जग्गामा लगाए । व्यापार वढाउने सोचले विश्राम लिएन । १ करोड ७० लाखमा १ गठ्ठा ८ धुर जग्गा प्रशासन चोकमा लिए । बैंकसंग ऋण लिएर त्यही जग्गामा पसल सञ्चालन गर्न खोज्दै गर्दा भूकम्पले थला बसायो । भूकम्पले केही तङ्ग्रिए पछि त्यही जग्गामा चानचुन १० करोड लगानीमा ६ तले भव्य जमघट होटल त खोले तर खोल्न नपाउँदै कोरोना महामारीको चपेटामा पर्यो । कृष्ण आतिएनन् । आज करोडौंको मालिक छन् तर पनि मात्तिएनन् ।
कृष्ण अष्टमीमा जन्मिएका कृष्णले राम नवमीको दिन नवपरासी त्रिवेणीकी सिर्जना अधिकारी बैबाहिक जीवनमा बाँधिए। दुई सन्तानका धनी कृष्णले अहिले प्रत्यक्ष चालिस जनालाई रोजगारी दिएका छन् । कर्मचारी कृष्णको व्यवहारबाट निकै अनुग्रहित छन् । कसैलाई कहिल्यै नमिठो बोल्दैनन् । उनका सानै देखि जानेका पशुपति अधिकारी कृष्णको लगनशीलता को खुलेर प्रशंसा गर्छन् । विदेशिन खोजेका कृष्ण यही केही गर्नुपर्छ भन्ने सोचले मन बदले । आज उनी कुनै करोडपति भन्दा कम छैनन् र पनि मनका सारै धनी छन् । सामाजिक क्षेत्रमा उनको रुचि उस्तै छ । कमाउन मात्रै होइन दिन पनि जानेका कृष्णले आमा समूह, युबा क्लब मठ मन्दिर उनले कसैलाई खाली हात पठाउने गरेका छैनन् । र त विभिन्न संघ संस्था पटक पटक सम्मानित उनी ईच्छा जाँगर हुनेका लागि यही प्रसस्त ठाउँ भएको बताउँछन् ।

प्रकाशित :२०७७ चैत्र ४, बुधबार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry