हार्नै नजानेका अर्यालको चर्चा चारैतिर

 -अञ्जनकुमार हिमाली

Advertisement 1

प्रतिपक्षले पैसा विच्छाएको चर्चाले नेकपा एमालेका उम्मेदवारका मनमा चिसो त पसेकै थियो तर एमालेबाट मेयरको प्रत्यासी बनेका गुमानसिंह अर्याल भने आफूले १५ सय भन्दाबढी मतले दाबी सहित प्रस्तुत भएका थिए । पराजित भन्ने शब्द नै थिएन उनको जीवनमा । अघिल्लो स्थानीय निर्बाचनमा राम्रै मतले जित्ने आशा गरेपनि सोचे अनुसारको परिणाम आउन सकेन । तर पनि उनले निर्बाचनमा पराजित हुनु परेन ।

३० वर्षकै उमेरमा बेसीशहरमा कहलिएका रणबहादुर अधिकारी, बमबहादुर अर्याल, गणेशबहादुर रावल, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल जस्ता हस्तीलाई पछार्दै २०४३ मा बेसीशहर गापको जनपक्षिय प्रधानपञ्च बने । सोही पञ्चायतको वडा-१ मा वडा अध्यक्ष थिए मालेका सदस्य दिनेश श्रेष्ठ । सरल इमान्दार र कटिबद्ध कार्यकर्ता दिनेशले ०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षको दाबी गरेपनि पाएनन् । संगैको वडा अध्यक्ष अर्याल दुई दुई पटक मेयरमा निर्वाचित हुँदै गर्दा दिनेश श्रेष्ठ भने नगरपालिका नजिकै फोटो स्टुडियो खोलेर बसेका छन् । तर उनलाई कुनै ग्लानी छैन हर्षले विभोर छन् अर्यालले लगातार बाजी मार्दा । ०४६ को परिवर्तनसगै गाउँ पञ्चायत गाविसमा परिणत भयो । ०४९ को स्थानिय निर्बाचनमा बेसीशहर ८ नम्बर वडामा अर्यालले कांग्रेसका भीमबहादुर कुँवरलाई पराजित गर्दै अध्यक्षमा निर्बाचित भए । तर, गाविस अध्यक्षमा हाल समाजवादीका केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज बालकृष्ण बरालले कांग्रेसका रणबहादुर अधिकारीसँग पराजित हुनुपर्यो ।

Advertisement 2

 

खासै राजनीतिक गुठबन्दी नजानेका अर्याल ०५४ को स्थानीय निर्वाचनमा बेसीशहर गाविसको अध्यक्षमा लमजुङमा नै कहलिएका साहु नेपाली कांग्रेसका तिलक पौडेललाई व्यापक मतान्तरले पराजित गर्न सफल भए । कांग्रेसले त भन्ने नै भयो एमालेकै कतिले पौडेलसंग अर्यालको लज्जास्पद हार हुनेमा ढुक्क थिए तर परिणाम उल्टो आयो भारी मतले अर्याल गाविस अध्यक्ष निर्वाचित भए । २०५२ सालबाट माओबादी युद्ध शुरू भयो । राजनीति अस्थिरता र माओवादी त्रासका कारण दुईदशक स्थानीय निकाय जनप्रतिनिधि विहिन बन्यो। राजतन्त्रको अन्त्य, संघीयतासगै स्थानीय निकाय गाउँपालिका, नगरपालिकामा परिणतसंगै ०७४ मा भएको स्थानीय निर्वाचनमा बेसीशहर नगरपालिकामा प्रमुखको मुख ताक्ने एमालेका दर्जन योग्य उम्मेदवारका बीचबाट अर्यालनै उत्तम पात्र ठहरिए । प्रतिस्पर्धी थिए चर्चित कांग्रेसी खम्बा तिलक पौडेलका छोरा भेषबहादुर पौडेल। भेषबहादुर आफैमा खराब पात्र थिएनन् । युवा पनि थिए ।

Advertisement 3

 

धनी साहुका छोरा भएर पनि सरल थिए । असल थिए । तरपनि अर्यालसँग उनी २ सय ९७ मतले पराजित भए । पौडेललाई पराजित गराउन कांग्रेस कै केही सक्रिय बने भने अर्याललाई पनि हुत्याउन पर्छ भनेर उनकै पार्टीका केही खेलेको चर्चा पनि चल्यो । अनेकौं गल्छेडोलाई पन्छाउँदै अर्याल जीत निकाल्न सफल भएका थिए । अहिलेको निर्बाचन उनका लागि झन असहज थियो । ठूला दुई पार्टी कांग्रेस माओवादी सहित सत्ताशिन दलहरुको गठबन्धन । रोल क्रममा रहेका आफ्नै दल भित्रका कतिको असन्तुष्टि, किचलोको भड्खालो कति हो कति । तर पार्टी नेतृत्व ले यो असहज परिस्थितिले छेड्ने विकल्पको पात्र उनी बाहेकलाई विश्वास गरेन। अर्यालको पराजितमा उत्सव मनाउन चाहनेहरु यसरी जिल्लिएकी जब उनले प्रस्तिस्पर्धी नेपाली कांग्रेसमा मजबुत मानिएका लमजुङ विद्युत उपभोक्ता समितिका अध्यक्ष तथा भद्रकाली आयल स्टोरका मालिक श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले पछाडि पारे । सत्तामा रहँदा प्रायको साख गिर्ने गरेको देखिन्छ ।

तर अर्याल मेयर बनेर पुन भिड्दै गर्दा उनकै पार्टीका मान्छेले हराउने हल्ला चलाएर मनोबल गिराउन खोजेपनि पार्टी अध्यक्ष कृष्णप्रसाद अधिकारी, नगरकमिटीका अध्यक्ष राजकुमार विष्ट, युवा नेताहरु दूधप्रसाद घले, हिरालाल विश्वकर्मा, जुन तामाङ, विवश बुढाथोकी, उनका प्रेस संयोजक कृष्ण केसी सहितका युवाहरुको अनवरत सक्रियताले अर्यालको यात्रामा ठेस लाग्न पाएन । ०४३ सालदेखि हालसम्म पाँच पटक जनप्रतिनिधि बनेका अर्याल, मर्स्याङ्दी बहुमुखी कलेजमा लामो समय प्राध्यापक, जिल्ला बार इकाई लमजुङको अध्यक्ष, नेकपा एमालेको दुई कार्यकाल उपाध्यक्ष बनिसक्दापनि अहंमता कुनै गन्ध थिएन । सबैसग समभाव, कोही कसैसंग वैमनस्यता नभएकै कारण चुनावी यात्रामा कहिल्यै पूर्णविराम लाग्नुपरेन। यिनै सारथिका कारण उपमेयरमा पद्मा गुरुङले ८ हजार ७१४ मत ल्याएर गठबन्धनका हरिजंग तामाङलाई पराजित गरिन । कांग्रेसले माओवादी सहितको चौरंगी गठबन्धन गरेरै भएपनि सदरमुकाम बेसीशहरमा एमालेको विरासत ढाल्ने योजना बुनेको थियो । अन्ततः अर्यालले गठबन्धनको यो योजना भताभुङ्ग पारिदिए।

प्रकाशित :२०७९ जेष्ठ ५, बिहीबार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry