बागमतीमा ५ वटा मन्त्रालयको १४ सय कर्मचारी दरबन्दी तेरिज स्वीकृत

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले कर्मचारी दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका ५ मन्त्रालयका कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए।
Advertisement 1
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको कर्मचारी तेरिज स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले जस अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ३१७ जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ४८ जना, संस्कृत पर्यटन तथा सहकारी मन्त्रालय १०३ जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५८३ जना र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय ३४६ जनाको दरबन्दी तेरिज स्वीकृत गरिएको उनले बताए ।
गत असोज १५ मा बसेको मन्त्रिपरिषद् बैठकले ६ मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरिसकेको छ। प्रदेश सरकार स्थापना पश्चात् निर्माण भएका विभिन्न २१ वटा निकायको अस्थायी दरबन्दीलाई स्थायी गर्ने प्रक्रिया अघि बढाउन कर्मचारीहरूको दरबन्दी तेरिज स्वीकृत गरेको उनले बताए । प्रदेशमा रहेका अस्थायी दरबन्दीहरू प्रदेश किताब खानामा दर्ता भई स्थायी रूपमा पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले काम गर्ने उनको भनाइ छ । प्रदेश संरचनालाई थप सशक्त बनाउन उक्त काम महत्त्वपूर्ण हुने उनले बताए ।
Advertisement 2
त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको कार्यालय हेटौँडाको सबलीकरणका लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयका लागि इन्धन सुविधामा २ लाख ५० हजार रुपैयाँ, कर्मचारीको क्षमता अभिवृद्धि तालिमका लागि १ लाख ५० हजार रुपैयाँ, आन्तरिक तथा अन्तर प्रदेश अवलोकन भ्रमण कार्यक्रम खर्चका लागि ६ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।
Advertisement 3