सामान्य प्रशासनले एउटै पालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत खटाएपछि…

मधेसवादी दल जनमत पार्टीमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलयको नेतृत्व लिएपछि रौतहटका स्थानीय तहमा भ्रष्टाचार झन् मौलाएको आरोप लागेको छ ।
Advertisement 1
मन्त्रालयमा ‘माल’ अर्थात् रकम बुझाएपछि कार्यालय सहयोगीसमेत नगरपालिकाको निमित्त कार्यकारी अधिकृत बन्ने अवस्था आएसँगै भ्रष्टाचारको आशंका गरिएको बताइन्छ ।
मन्त्रालयले उपसचिव सुरेन्द्र प्रधान र नगरपालिकाकै अधिकृत रासनारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । प्रधानलाई गत असोज २६ गते र पटेललाई यही कार्तिक १ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
Advertisement 2
दसैंको फूलपातीको अघिल्लो दिन रौतहटको बृन्दावन नगरपालिकामा दुईजना कार्यालय प्रमुख हाजिर भए । मेयरका तर्फबाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र उपमेयरसहित अधिकांश बहुमत कार्यपालिका सदस्यले उपसचिवलाई हाजिर गराए ।
मेयरका तर्फबाट स्वास्थ्य शाखामा कार्यरत रासनारायण यादव र उपमेयरसहित वडाअध्यक्षहरुले उपसचिव सुरेन्द्र प्रधानलाई कार्यकारी अधिकृत बनाउन मरिमेटेर लाग्नुमा आर्थिक चलखेल नै मुख्य कारण रहेको जानकारहरु बताउँछन् । मेयर र उपमेयरले आ–आफ्नै अनुकूलका कर्मचारी च्यापेपछि त्यसदिन पालिकामा झडपको अवस्थासमेत आएको थियो ।
Advertisement 3
सोहीदिन नगरपालिकाको खाता खोल्न मेयर र उपमेयर समूह प्रधान र पटेललाई लिएर गौरस्थित कोष तथा लोखा नियन्त्रण कार्यालय पुगे । दुई पक्षबीच त्यहाँ पनि झडपको अवस्था उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय गौरले आधा दर्जनलाई नियन्त्रणमा लिएको थियो । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम लिँदै उपसचिव सुरेन्द्र प्रधानमाथि हातपात गर्न गएकाहरुलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर पछि छाडिदिएको बताइन्छ ।
प्रधानलाई मन्त्रायलयले असोज २६ गते बृन्दावन नगरपालिकाको प्रमुख कार्यकारी बनाएर काजका लागि पत्रसमेत दिएको थियो । मन्त्रालयले नै स्वास्थ्य शाखा प्रमुख रास नारायणलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारीको रुपमा काम गर्न भन्दै पत्र थमाएर पठाएपछि लफडा सुरु भएको र यसले झडपको अवस्था निम्तिएको समाचार स्रोतको दाबी छ ।
स्वास्थ्य शाखा प्रमुख पटेलले जनमत पार्टीका नेतालाई आर्थिक लाभ बुझाएर दुई महिनाका लागि निमित्त हाकिमको पत्र बुझेको स्रोत बताउँछ ।
त्यसअघि उपसचिव सुरेन्द्रलाई मन्त्रायलयले रौतहटको फतुवा बिजयपुर नगरपालिको प्रमुख कार्यकारीको रुपमा कामकाज गर्न पत्र दिएर पठाएपछि सो नगरपालिकामा उनलाई हाजिर नगराउने भन्दै नाराबाजी भएको थियो । भ्रष्टचार मुद्दामा दोषी ठहर भएर निलम्बनमा परेका मेयर गोपालराय यादवले नाराबाजी गर्न लगाएको स्थानीयको आरोप छ ।
रौतहटका अधिकांश पालिकामा शाखा अधिकृत र उपसचिवको दरबन्दी भएपनि कर्मचारीले निमित्तका रुपमा काम गर्दै आएका छन् । त्यस्ता कर्मचारीसँग संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीका निकट भनिएका मान्छेले नै मोटो रकम बार्गेनिङ गर्ने गरेको जानकारहरु बताउँछन् ।
जिल्लाको राजपुर नगरपालिकामा समेत श्रेणीविहीन कर्मचारीले लामो समयदेखि निमित्तको रुपमा काम गर्दै आएका छन् ।