पूर्वमन्त्री,सचिवसहित सात जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्धा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सात जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री,तत्कालीन सचिवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Advertisement 1
अख्तियारले तत्कालीन प्रदेशमन्त्री विजय कुमार, आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्का तथा खनाल प्रतिष्ठानका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य गरी ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि उक्त रिसर्च सेन्टर खोलिएको थियो । मन्त्री विजयकुमार र तत्कालीन नगरप्रमुख मानबहादुर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी प्रचलित कानूनविपरीत लागत साझेदारी शून्य रहेको उक्त प्रतिष्ठानलाई सरकारी रकम उपलब्ध गराई सोही संस्थाबाट कार्यक्रम कार्यान्वयन र खर्चको लेखाङ्कन गर्ने सम्झौता गरेको अख्तियारले दाबी गरेको छ ।