मन्त्रीका छोरा सवार सरकारी गाडी दुर्घटना, मन्त्रीको दबाबमा गुपचुप मिलापत्र
शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोरा राहुल रोय र निजी सचिव विजय यादव चढेको सरकारी गाडी दुर्घटनालाई ढाकछोप गरिएको छ। शनिबार बिहान ४ः३० बजे काठमाडौंको फर्पिङमा शिक्षा मन्त्रालयको बिएबी ७३८५ नम्बरको स्कारपियो गाडी दुर्घटना भएको थियो ।
Advertisement 1
फर्पिङबाट काठमाडौं फर्किँदै गरेको स्कारपियोले एउटा मोटरसाइकल र कारलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कारपियोको आगाडिको भाग क्षति भएको छ । उक्त स्कारपियो यादवले चलाएका थिए । त्यस्तै, मोटरसाइकल र कारमा पनि क्षति पुगेको छ । दुर्घटनालगत्तै प्रहरीले रोय र यादवलाई पक्राउ गरेको थियो । तर, मन्त्री कुमारीको दबाबपछि दुवैलाई प्रहरीले आइतबार बिहान छाडेको हो ।
स्कारपियोमा रहेका दुवैजनाले मापसे गरेको र स्कारपियोले नियन्त्रण गुमाएकाले अर्को कार मोटरसाइकललाई ठक्कर दिन पुगेको प्रहरी स्रोतले जनाएको छ। गाडी र मोटरसाइकललाई ठक्कर दिएपछि उनीहरु दुवै जना पक्राउ परेका थिए। उनीहरु पक्राउ परेपछि गृहमन्त्रालयबाटै लगातार प्रहरीलाई मिलाई दिन र मिलापत्र गराइदिन दबाब दिइएको स्रोतले जनाएको छ।
Advertisement 2
माथिको आदेशपछि प्रहरीले उनीहरुलाई आइतबार नै खुसुक्क मिलापत्र गराएर छाडेको छ। उहाँहरु चढेको स्करपियो दुर्घटना भएको हो । दुईजनालाई हामीले नियन्त्रणमा लिएका थियौ, मानवीय क्षति थिएन, पीडितहरुले मिलापत्र गरौ भनेपछि उहाँहरुलाई कागाज गराएर छाडिएको छ’, कीर्तिपुर वृत्तका प्रमुख डिएसपी राजु लामाले भने।
प्रहरी स्रोतका अनुसार स्कारपियोमा रहेका दुवैजनाले मापसे गरेका थिए । त्यसैले स्कारपियोले नियन्त्रण गुमाएको अनुसन्धानबाट देखिन्छ ।