नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २ हजारले बढ्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् । वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा नयाँ बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । आगामी बजेटको सिलिङ झन्डै साढे १७ खर्बको हुनेछ । हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ ।
Advertisement 1
यो सँगै आगामी आर्थिक बर्ष ७९/ ८० को बजेटमा सरकारी कर्मचारीको तलब भत्ता के होला ? भन्ने जिज्ञासा उठन थालेको छ । अर्थ मन्त्रालय स्रोतले भने आगामी आर्थिक बर्षमा सरकारी कर्मचारीको तलब बढ्ने बताएको छ । आगामी नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्ने भएको छ ।
चालू आवको बजेट सार्वजनिक गर्दा पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो २ हजारले बढाएका थिए । यसपालि भने तलब नै २ हजार रुपैयाँले बढ्ने भएको हो । दुई वर्षअघि आर्थिक वर्ष २०७६/ ७७ को बजेट मा पनि तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको दोस्रो बजेटबाट सरकारले नायब सुब्बासम्मका कर्मचारीका लागि २० प्रतिशत र त्यसभन्दा माथिको पदका लागि १८ प्रतिशतले तलब बढाएको थियो ।
Advertisement 2
आगामी नयाँ बजेटमार्फत सरकारले कर्मचारीको तलबसँगै आयकरको सीमामा पनि परिमार्जन गर्ने तयारी गरेको छ ।