फाजिलका ४२३ कर्मचारीको व्यवस्थापन गर्ने सचिव बैठकको निर्णय
कर्मचारी समायोजनको क्रममा अन्यायमा परेका ४ सय २३ कर्मचारीलाई व्यवस्थापन गर्न निर्देशन दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनको बदमासीका कारण चार बर्षदेखि मर्कामा परेका कर्मचारीलाई व्यवस्थापन गर्न सचिव बैठकले निर्देशन दिएको हो ।
Advertisement 1
वन मन्त्रालयका फरेष्टरहरुलाई समायोजनमा नराख्दा चार वर्षदेखि ग्रेड र भत्ता रोकिँदा अन्यायमा पर्दै आएका थिए । उनीहरुको व्यवस्थापन गर्न सचिव बैठकले निर्देशन दिएको हो । सामान्यले पाँच वर्षअघि देशैभरिका वन कार्यालयमा दुई/दुई जना मात्रै फरेष्टर रहने गरी १८४ जनाको समायोजन गरेको थियो । बाँकी ४२३ जनालाई फाजिलमा राखेको थियो । प्रदेशले संघको भन्ने र संघले प्रदेशतिरै बस्न भन्ने अवस्थाले फरेस्टरहरु पीडित छन् । यसले गर्दा उनीहरुलाई पर्याप्त सेवासुविधा पाउने मात्रै हैन, बढुवमा समेत सकस भएको छ ।सोही कारण उनीहरु अन्यायमा पर्दै आएका थिए ।
सचिव बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले प्रदेशसँग समन्वय गरी हाल फाजिलमा रहेका करिब ४२३ फरेस्टरहरूको व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।