दुर्गम रुचाउने एक अधिकृत

काम कम,चाकडी बढी,त्यसैले विग्रिएको छ,सार्वजनिक प्रशासन । यही चाकडी कला नजान्दा पिल्सिएको एक बबुरो हुँ म । सार्वजनिक सेवामा पाइला राखेको साढे तीन दशकभन्दा बढी भयो । जीवनका २७ बर्ष त स्थानीय तहमै रहेर बिताए ।बाध्यताको माखेसाङ्लोमा परेर केही महिनादेखि सिंहदरबारमा कार्यरत छु,तर मलाई गाउँमै बसेर सेवा गर्ने रहर छ । सिंहदरबार यो त पहुँचहुनेहरुको थलो हो मलाई भूँइमान्छेहरुको सेवा गर्ने रहर छ । दैनिक ५३ किलोमिटर यात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउजाउ गरिरहेको छु ।

Advertisement 1

भनिन्छ उत्तम व्यापार,मध्यम कृषि,निघृणी नोकरी । नेवारको सन्तान,पिता पुर्खा,दाजुहरुले रोजेको उत्तम बाटो (व्यापार) छोडेर म नोकरी रोज्न आइपुगेको हुँ । ६ दाजुहरु आ आफ्नै व्यापार व्यवसायमै रमाइरहेका छन्,म मात्र छु सरकारी सेवामा । ३७ बर्ष अघि ०४३ साल मंसिर चार ४ गते तत्कालीन गाउँ पञ्चायतको सचिव हुँदै निजामतीमा पाइला राखेको हुँ । त्यो बेला कार्यालय पुग्न घरबाट १६ घण्टा दुरी पार गर्नुपर्दथ्यो । एक बर्ष पछि नयाँ सरुवा भए । काभ्रेका धेरै स्थानीय तहमा बसेर काम गरियो । उग्रचण्डी नाला,कोशीपारी लगायतका पालिकामै बिताइयो २७ बर्ष । ०६४ मा खरिदारबाट नासुमा उक्लिए । १३ बर्ष पछि अर्थात ०७७ सालमा शाखा अधिकृतमा बढूवा भए । सेवा प्रवेश गरेदेखि नै निजामती सेवा प्रभावकारी, जनमुखी, सेवाग्राही मैत्री, कानून सम्मत, व्यवहारी हुनपर्छ भन्ने मान्यता बोकेर हिडें र त्यसैलाई व्यवहारमा उतार्ने प्रयास पनि गरें ।

नागरिकले तिरेको करबाट तलब पाउनेमध्ये एक म । मैले पनि सेवाग्राही नागरिकहरुको गाली, श्राप बोक्न नपरोस् भनेर आफूलाई क्रियाशिल राख्न भरमग्दुर प्रयास गरें । गृह मातहतका विभिन्न निकायमा बसेर लामो समय काम गरें । सेवा प्रवाहकै सिलसिलामा जिल्ला प्रशासन कार्यालय, प्यूठान ; इलाका प्रशासन कार्यालय, जस्पुर प्यूठान,  जिल्ला प्रशासन कार्यालय, लमजुङ;धनकुटा; जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा तथा मन्त्रालयमा कर्मचारी प्रशासन शाखा, सीमा तथा अध्यागमन शाखा, विभूषण शाखामा रहेर काम गर्ने अवसर मिल्यो । गृह मन्त्रालयको सान रहने गरि मैले आफ्नो जिम्मेवारी निर्वाह गरें । कुनै प्रकारको लोभ लालच राखिन,अतिरिक्त सेवा सुविधा लिइन । राज्यले खातामा जम्मा गरिदिने तलब भत्ता बाहेक यो अवधिमा पनि कुनै सेवाग्राहीहरुसँग सेवा प्रवाहबापत एक कप चिया समेतको मागदाबी नगरि करिव आधा लाख सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्न सकें ।
अधिकृतमा बढूवा हुँदा व्याजी साथीहरुले सिंहदरबारमै रोज्नुभयो । म दूरदराज प्यूठानतिर पुगें । उहाँहरुको राय,सुझाव थियो बुढेसकालमा जिल्लामा गएर दुख थप्ने काम नगर्नु तर म सिंहदरबार छाडेर अत्याधिक काम चाप हुने जिल्ला प्रशासन कार्यालयहरुमा काम गर्ने अनि पीडित भूईमान्छेहरुलाई विशेष साथ सहयोग गर्ने सोचका साथ जिल्ला रोजेँ । विभिन्न प्रशासन कार्यालयमा रहेर कार्यरत रहँदा गलत मनसाय बोकेर आउने बाहेक सबैलाई समयमै सही सेवा दिन सकें भन्नेमा म दृढ छु । सेवा प्रवाहको क्रममा कागजात पुगेका कुनै पनि सेवाग्राहीलाई आजै हुने कामका लागि भोलि आउनुहोस् भनिएन । जिल्लामा आउन नसक्ने अपांगता भएका सेवाग्राहीहरुलाई बिदाका दिन पारेर उनीहरुको घर दैलौमा पुगेर सेवा दिन पाउँदा बेग्लै आनन्द अनुभूति हुन्थ्यो । बेथितिहरु लापरबाहीहरु जिल्ला,जिल्लाका सरकारी कार्यालयहरुमा मौजुद छन । यस्ता वेथितीहरु काभ्रेपलान्चोकमा अझ बढी छन् । यो बेथितिमा पनि थिति बसाल्न सक्दो प्रयत्न गरें । सेवाग्राही अल्मल्याउने, ढिलासुस्ती गर्ने काम कहिल्यै गरिएन । प्रायश जुन जुन कार्यालयमा सरुवा भएर जान्थें नयाँ नागरिकताको जिम्मा मलाई नै बढी हुन्थ्यो । यसको अलावा प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, सवारी पास, बजार अनुगमन, नावालक परिचयपत्र लगायतमा पनि काम चाप उत्तिकै आए पनि बिरामी भई थला नपरुञ्जेल काम गर्न गाह्रो भयो भन्न सिकिएन÷सकिएन ।
गृह मन्त्रालयमा रहेपछि धेरैको अपेक्षा हुन्छ मान पदवीबाट विभूषित हुने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा हुने, वैदेशिक भ्रमण गर्ने, सकभर केन्द्रीय अड्डा सिंहदरबार नछोड्ने । तर मैले दुईवटा विभूषण दावी गर्ने अवधिमा आजसम्म कुनै माग दाबी गरिँन न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै सरुवा मागें । न वैदेशिक भ्रमणका लागि नै चाकडी गरियो । बरु सिंहदरबारका मन्त्रालयहरु छाडेर जिल्लाहरुमै सेवा प्रवाह गर्न खोजें । काम गर्नका लागि सिंहदरबार होइन जिल्ला नै रोजें । आफैले माग गरि गएँ जिल्लाहरुमा काम गर्दा पनि कहिँ कतै पदीय हैसियत देखाएर एक कप चिया समेत फोकटमा खाइएन । नमागेको काभ्रेपलान्चोकमा खटायो । राजी खुसी भएर गए । त्यहाँ पनि नयाँ नागरिकता शाखाको जिम्मेवारी पाइयो । कार्यरत रहँदै गर्दा ०७९ पुस ८ गते दुर्घटनामा परियो । देब्रे कुम भाँचियो । त्यसपछि मेरो सेवाप्रवाहमा अकल्पनीय ठेस लाग्यो ।

Advertisement 2

धुलिखेल अस्पतालमा उपचारपछि ६ हप्तासम्म सेवा प्रवाहमा प्रतिकूल असर पर्ने डाक्टरको कुराले मन अलि खिन्न भयो तथापि उपचार र आरामको विकल्प मसँग थिएन । दुर्घटनाको ७ दिनपछि गाडी रिजर्भ गरि फ्लो अपका लागि धुलिखेल अस्पताल र बिदाका लागि कार्यालयमा गएँ । कार्यालयमा हाकिमहरु भेटिएन । प्रशासन शाखाका साथीको सल्लाह अनुसार ६ दिनका लागि बिदा लेखेर आएँ । अत्याधिक दुखाईले दिनभर पर्खन सकिएन । पुन अर्को हप्ता यहि प्रकृया दोहरियो । तर, बिदा स्वीकृत हुन सकेन । त्यसपछि मनमा एक खालको पीडा थपियो । यस्तो बेलामा पनि बिदा नपाउने जागिर मैले किन खान पर्यो ?

उसमाथि ३७ वर्ष पुगेको यो घाटाको जागिर ! तलबभन्दा अरु अपेक्षा नराख्ने मैले के पाउनु छ र ? एउटा विरामीले विदा पाउँदैन भने किन जागिर खानु ? मन्त्रालयका केही साथीहरुसँग सल्लाह गरें,जागिरबाट राजिनामा दिने सम्बन्धमा । उहाँहरुको सल्लाह रह्यो तत्काल राजिनामा नदिनु । उहाँहरुले नै त्यहाँबाट काम चाप नहुने ठाउँमा राष्ट्रिय विपत प्राधिकरणमा सरुवा मिलाइ दिनुभयो । दरबन्दी बढी भएका साथीहरुलाई थन्काउने ठाउँ बनेको छ विपत प्राधिकरण । केही मिहनापछि त्यहाँबाट गृहको विभूषण शाखामा सरुवा भए र त्यही कार्यरत रहँदा वैशाख १ मा बाढ्न बाँकी रहेका विभूषण बाढ्ने काम गरियो । दुर्घटनामा पछिको शारीरिक पीडाले भन्दा पनि म प्रतिको व्यवहारले म गृह मन्त्रालय छोड्ने मुढमा पुगिसकेको थिएँ । निजामती वृत्त भित्र गर्नुपर्ने जिम्मेवारीका रुपमा कहिँ कतै नलेखिएको तर गर्नै पर्ने चाकडी नगरेको कारण, कतिपय विसंगति, विकृतिका विरुद्ध बोलेको कारण कोपभाजनमा परें । तर साथीहरुकै सल्लाहले राजीनामा नदिइ जागिरमा अडिरहेको छु । महिना दिन अघिदेखि गृहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नीजि सचिवालय (सम्पर्क शाखा)मा कार्यरत छु । दैनिक ५३ किलोमिटर दुरी पार गरेर वनेपादेखि अफिस आउने,जाने गरिरहेको छु ।

Advertisement 3

साथीहरु भन्छन्,यतै एउटा कोठा लिएर बस्नु किन दुख बेसाइरहेका छौं तर परिवारसँग टाढा भएर कोठा लिएर बस्न मन लागेन । उसो त मलाई सिंहदरबारभित्र बसेर जागिर खाने मन छैन । सिहदरबार पहुँच हुनेहरुको ठाउँ हो । म पहुँचविहिन नागरिकहरुको सेवा गर्न चाहन्छु, जिल्ला र दूरदराजमा बसेर । जिल्लामा रहेर काम गर्ने सोचकै कारण भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले वहाँको सचिवालय रहेर काम गर्न गर्नु भएको अनुरोधलाई स्वीकारेर सहयोग गर्न सकिएन । चाकडी चाप्लुसी निजामती सेवाको ३७ वर्षमा कहिले नसिकेको सेवानिवृत्त हुनेबेला मैले सिकेर चाकडी खोज्नेहरुलाई रिझाउने त कुरै भएन । यी केहि तिता मीठा अनुभव संगाल्दै दुर्घटना पछिको शारीरिक अशक्तता कारण मोफसलका भूइमान्छेहरुलाई सेवा दिई वहाँहरुसँगै रम्ने ईच्छालाई अब मैले निरन्तरता दिन नसक्ने भएको अवस्थाप्रति क्षमाप्रार्थी छु । तथापि म निजामती सेवामा रहँदा वा सेवानिवृत्त भएपछि पनि मैले चिनेका वा नचिनेका जो कोही प्रीयजनहरु मैले जाने बुझेका कुरामा साथ सहयोगका लागि सदा तयार छु ।

प्रकाशित :२०८० आश्विन ५, शुक्रबार १७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry