प्रेरणादायी नारी :-दुबै हात नभएकी तर खुट्टाले लेखेरै नायब सुब्बा बनेकी,डिग्री होल्डर सुशीला ढकाल
![](https://ekarmachari.com/wp-content/uploads/2021/03/cover.jpg)
भनिन्छ ‘हरेक चोटले त्यो भन्दा ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौ,चिच्याउछौं, ‘डिप्रेस’ हुन्छौं । तर हाम्रै अगाडि रहेका अरु तीनवटा खुल्ला ‘द्धार’ हामी देख्दैनौं । उनका शुरुवाती दिनहरु यस्तै थिए कष्टकर । आजभन्दा ३७ वर्षअघि । घरमा सन्तान जन्मिँदा छरछिमेकमात्र होइन, गाउँभर हल्ला हुन्थ्यो । घरमा विशेष खुसियालीको माहोल छाउँथ्यो । तर, सुशिला ढकालको जन्मले घरमा खुसियाली छाएन । बरु चिन्ताको माहोल बढ्यो । यो चिन्ता बढ्नुको कारण थियो– जन्मँदा नै सुशीलाका दुवै हात थिएनन् !
Advertisement 1
![](https://ekarmachari.com/wp-content/uploads/2021/03/shushila-1.jpg)
स्याङ्जाको मध्यम वर्गीय परिवार । तेस्रो सन्तानका रुपमा जन्मिएकी सुशीला बाँच्लिन् भन्ने आश उनको परिवारले गरेन । तर, यी सब सोचको विपरित सुशीलाको स्वास्थ्य राम्रो हुँदै गयो, उनी जीवितै हुन्छिन् भन्ने परिवारको विश्वास बढ्दै गयो । त्यसपछिका दिन सुशीलाले सबैको माया पाइन, परिवार, साथीभाइ र आफन्तको । जन्मजात दुबै हात नभएका कारण गाउँलेहरु उनका पछि धेरै थरी कु्रा काटे । तर उनले गुमाइनन् आत्मवल । भन्छन नि, जिन्दगीमा सबै चीज खानु तर हरेश नखानु सायद यही शव्दले उनलाई बचाइराख्यो । उनको इच्छा आकाक्षा र चाहनाहरुलाई मर्न दिएन ।
६ वर्षको उमेर पुगेपछि गाउँकै कालिका प्राविमा बुवाले भर्ना गरिदिए । उनले खुट्टाका दुई औंला प्रयोग गरेर लेख्न सुरु गरिन् । तर, त्यो त्यति सहज थिएन । स्कुलमा बेन्चमा बसेर लेख्न मिल्दैनथ्यो । पछि बुबाले एउटा फराकिलो टेबल बनाइदिनुभयो, जसका कारण उनको लेखन अलिक सहज हुन थाल्यो । खुट्टाकै औंलाले सुशीलाले अरुले जस्तै लेख्न थालिन् । उनले मेहनत गरिन् र अरुलाई भेट्ट्याएरै छाडिन् । कालिका स्कुलबाट प्रावि तह पूरा गरिन् । निम्न माध्यमिक तह रजस्थल उच्च माविमा पढिन् । रजस्थल उच्च माध्यमिकमा पढ्दा उनले इन्द्रेणी सपना देखेकी थिइनन् । समाजका सबै एकैनासका कहाँ हुन्छन र कोही दयाका भावले हेर्दथें कोही मायालु आँखाले । आखिर दया र माया भन्ने चिज पनि आकाश र जमिन जत्तिकै रहेछ । केही भन्दथे “विचरीलाई त पूर्वजन्मको श्राप लागेछ ।” मुटु चिमोट्ने यस्ता वज्र धेरै पटक उनका कानमा बर्सिए । यद्यपि आफूलाई सम्हाल्दै अगाडि बढिन । भन्छन नि ईख नभएको मान्छे र बिष नभएको सर्प काम छैन् । यस्ता तिखा शव्दहरुले उनलाई अझैं उर्जा दिन्थ्यो केही गर्नुपर्दछ र केही बन्नुपर्दछ । दुबै हात नचले पनि रोकिएन उनको अध्ययनको गति । गाउँबाटै एसएलसी उत्र्तीण गरिन । ०५५ सालमा एसएलसी पार लगाएपछि सदरमुकाममा झरेर त्रिभुवन आदर्श क्याम्पस पढ्न थालिन् । प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दै थिईन । उनको सोधी खोजी भयो काठमाडौं मैतीदेवीमा बसेर छात्रावास चलाइरहेकी सूर्योदय गल्र्स होस्टेल तात्कालिक वार्डेन विष्णु थापाबाट । थापाले होस्टल राखेर पढाउने र सबै खर्च आफैंले बेहोर्ने वचनवद्धता दिईन । त्यसपछि त के चाहियो मनका कुनामा साँचेर राखेको रहरथ्यो यो । उनी आफैं काठमाडौं भित्रिएर पढ्न चाहिन्थन् । तर अजंगको पहाड बनेर उभिएकोथ्यो आर्थिक अभाव । त्यही कारण मनका रहर मनमै गुम्साएर बसिरहेको अवस्थामा विष्णु उनका लागि ढुंगा खोज्दा देउता मिलेझैं भएर प्रक्रट भइन । पसिन काठमाडौ र डिल्लीबजार कन्या बहुमुखी क्याम्पस आईए दोस्रो वर्षमा भर्ना भइन् ।२०५७ सालमा काठमाडौं आएकी सुशीलाले त्यति बेला नै कम्प्युटर सिक्न पनि थालिन् । विए पढ्दै गर्दा सुशीलाले नेपाल अपाङ्ग मानवअधिकार केन्द्रमा जागिर पाइन् । त्रि–चन्द्र क्याम्पस घन्टाघरबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पार लगाइन् । एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनी स्नातकोत्तर पार लगाइन । दुबै हात नभएको मान्छे नीजि जागिर पाउने सम्भवना थिएन लहडै लहडमा भिडिन लोकसेवा आयोग । नायब सुब्बा तहमा । त्यो चुनौतीपूर्ण बाटोथ्यो ।
![](https://ekarmachari.com/wp-content/uploads/2021/03/sushila.jpg)
भन्छन नि सना सान लक्ष्य लिएर बाँच्नु सबैभन्दा ठूलो अपराध हो । मान्छे लक्ष्य सानो भएर कोही बर्बाद हुँदैन । बर्बाद त त्यतिबेला हुन्छ लक्ष्य पनि सानो हुन्छ र त्यो पूरा हुनथाल्छ । यही कारण हो उनले कठिन बाटो रोजीन । ०६५ सालमा लोकसेवा आयोगले आवेदन खोल्दा नायब सुब्बाका लागि परीक्षा दिइन् । अंपागको कोटामा । अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन् । अन्य अपांग ५ जना उनका प्रतिष्प्रर्धी थिए । सबैलाई पछि पार्दै लोकसेवामा नाम निस्कियो । २०६६ वैशाख ९ मा नासुको नियुक्ति लिइन् । उनको पहिलो पोस्टिङ आन्तरिक राजस्व कार्यालय हेटौंडा, मकवानपुरमा भयो । नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न असम्भव भएकाले आन्तरिक राजस्व विभागमा अनुरोध गरेपछि आठ महिना ललितपुर काम गरिन् । त्यसपछि काजमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाट सरुवा भइन् । खुट्टैले कम्प्युटर सिकिन । नायब सुब्बाले गर्नेजति काम खुट्टाले नै गर्छिन् । उनी कार्यालयको कर संकलन शाखामा बस्छिन्। सफ्टवेयरमार्फत कर संकलनको काम हुन्छ। उनी कम्प्युटरमा सफ्टवेयरमा कर संकलनको काम गरिरहेकी हुन्छिन्। अफिसका सबै काम सफ्टवेयर बेस हुन्छ । इन्टरनेटबाट डाटा अपडेट गर्छिन खुट्टाले । राजश्व विभागबाट काम सुरु गरेकी सुशीला अहिले ठूला करदाता कार्यालय हरिहरभवनमा कार्यरत छिन् ।
Advertisement 2
![](https://ekarmachari.com/wp-content/uploads/2021/03/ssss.jpg)
यसरी निजामती सेवामै लागेको एक दशक व्यतित भइसकेको छ । कहिलेकाँही सेवाग्राहीहरु आँउछन उनका दुबै हात नदेखे पछि यो कर्मचारीले के काम गर्ला र ? पहिला नाक खुम्चाएर हिडेकाहरु अन्यन्त्रै कोठमा चार्हछन् । त्यहाँबाट काम नबनेपछि अन्त्यमा उनकै कोठामा ठोक्किन आइपुग्छन् । उनका काम गराई,साहस र उर्जा देखेपछि भन्छन पनि हामीसँग हातखुट्टा दुवै भएर के गर्न सकेका छौं र तर तपाइँले त हातखुट्टा हुनेलाई प्रेरणा नै दिनुभएको छ ।
![](https://ekarmachari.com/wp-content/uploads/2021/03/aa-1024x526.png)
उनको सफलताको कथा पढेर पाँच वर्षअघि दल थापा उनलाई खोज्दै कार्यालयमै पुगे दल । एउटै जिल्लाबासी । पेशाले होस्टल व्यवसायी । शेयर बजारका कारोवारी । त्यहीँ चिनजान भयो । सम्पर्क बाक्लिन थाल्यो । सुशीलाको संघर्षशील जीवनको प्रशंसा गरेर उनी थाक्दैनथे । त्यहीबीचमा उनीहरुबीच प्रेमको टुसा अंकुराउन थाल्यो । एक मनको नेटवर्क अर्काे मनसँग मिलेपछि मायाको कनेक्सन विवाहमा पुग्यो । ७० सालमा बाँधिए विवाह बन्धनमा । यिनै सुशीला एक लाख कर्मचारीहरुको भीडबाट उत्कृष्ठ ४० निजामती कर्मचारी बन्न सफल भईन अघिल्लो बर्ष र निजामती सेवा दिवसका अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको हातबाट सम्मानित समेत भएकी हुन ।
Advertisement 3
![](https://ekarmachari.com/wp-content/uploads/2021/03/jodi.jpg)
(इकर्मचारी अर्काइभबाट)