अख्तियारले डाम्ने, विशेष अदालत १० करोडका प्रतिवादीलाई चोख्याउने

१० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका मालपोत अधिकृतले सफाइ पाएका छन् । अकुत सम्पत्ति आर्जनमा ललितपुर मालपोत कार्यालयका शाखा अधिकृत बद्रीराज ढकाललाई विशेष अदालतले सफाइ दिएको छ ।

Advertisement 1

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड २७ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो। उल्लिखित रकमबराबरको खर्च तथा आयको स्रोत खुलाउन नसकेको भन्दै मुद्दा चलाइएकोमा उनीसहित तीनजनाले सफाइ पाएका हुन्। सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश दिएको हो।

ढकालका साथै अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा उनकी श्रीमती सिर्जना अर्याल ढकाल र जेठान नाताका नवराज अर्याललाई समेत प्रतिवादी बनाएको थियो। जसमा तीन वर्षपछि विशेषले तीनैजनालाई सफाइ दिने फैसला भएको छ।

Advertisement 2

उनी २०५४ माघ १४ गते अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङ्गबाट रा.प.अनं. द्वितिय श्रेणी खरिदारको पदमा २०५५ असोज १६ मा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरी ना.सु. र हाल शाखा अधिकृतको पदमा वढुवा भएका निज निजामती सेवामा प्रवेश पश्चात मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लीबजार काठमाण्डौ, पर्सासमेतका मालपोत कार्यालय, मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेका थिए ।

उनले हुँदै नभएको खरिद बिक्री कारोबारमा १ लाख ९७ हजारको लगानी गरेको र लगानीको केही दिन र महिनाको अन्तरमा १ करोड ६८ लाख आर्जन गरेको देखाएका छन् । यसरी उनले झन्डै साढे १० करोड अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ ।

Advertisement 3

अस्थायी शिक्षकदेखि मालपोत अधिकृतसम्म
१ माघ २०५४ मा अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी ढकाल मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा मिति २०५५ असोज १६ गते स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका थिए । उनले २२ वर्षको अन्तरालमा १० करोड रुपैयाँ अवैध सम्पत्ति जोडेको खुल्न आएपछि अख्तियारले ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

श्रीमती र जेठानविरुद्ध पनि मुद्दा
अख्तियारले सम्पत्ति जफतको प्रयोजनका लागि ढकालकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी विशेषमा मुद्दा दायर गरेको छ । ढकालले आर्जन गरेको सम्पत्ति उनीहरूको नाममा रहेकाले जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई प्रतिवादी बनाइएको हो ।

ढकालको लगानी
श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा ४ करोड ५४ लाख १७ हजार २४४ रुपैयाँ
घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्निसिङ एवं इलेक्ट्रोनिक उपकरणहरू समेतमा १ करोड १ लाख ५३ हजार ८१ रुपैयाँ
पुँजीगत लाभ तथा आयकर ७ लाख ९० हजार १३० रुपैयाँ
विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक सेयर खरिदमा १ करोड ११ लाख ४६ हजार ७०१ रुपैयाँ
सन्ततिको अध्ययनमा १ लाख ६० हजार रुपैयाँ
जीवन बिमा प्रिमियम शुल्कमा ९ लाख २४ हजार ६४० रुपैयाँ
विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका कर्जा चुक्तामा ६४ लाख ६३ हजार ५११ रुपैयाँ
सवारी साधन खरिद तथा सञ्चालन समेतमा २८ लाख २२ हजार ७०० रुपैयाँ
सुन खरिदमा १७ हजार ३०० रुपैयाँ
सरसापटी व्यवहारमा २० लाख रुपैयाँ
जेठान नाताका नवराज अर्यालको नाममा बैंक खाता खोली सो खाता सञ्चालन गर्नेलाई आफू एवं विभिन्न व्यक्तिहरूको नामबाट रकम जम्मा गरे गराएका स्रोत नखुलेको मौज्दात रकमहरूबाट ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ
विविध शीर्षक ९अभिलेखमा देखिने शीर्षकका खर्चहरूबाहेक निजले खुलाइदिएका अन्य विविध खर्च० र साथमा रहेको नगद समेत २ करोड २४ लाख २६ हजार ६८९ रुपैयाँ
निजी विदेश भ्रमणमा ९२ हजार ३०० रुपैयाँ
बैंक खाताहरूमा अन्तिम मौज्दात रकम २ लाख ६८ हजार ९०८ रुपैयाँ
सोही जाँच अवधिमा ढकालको पारिश्रमिक तलब एवं विभिन्न अतिरिक्त भत्तालगायतका बचत र सबै परिवारको हिसाब गर्दा ४ करोड आय ४९ लाख ४४ हजार १ सय ६० मात्र वैध भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

ढकालको वैध आय
श्रीमती सिर्जना अर्याल ढकालको पारिश्रमिक बचत आयबाट ७७ हजार ३ सय ६७, ढकालको वैदेशिक बचत आयबाट १ लाख रुपैयाँ
कर्मचारी सञ्चयकोष तथा बैंकबाट लिएका कर्जा ६८ लाख ९१ हजार ७ सय ५१ रुपैयाँ
घरबिक्रीबाट १ करोड १५ लाख रुपैयाँ
जग्गा बिक्रीबाट १ करोड ८ लाख ६७ हजार रुपैयाँ
२ सय सेयर बिक्रीबाट ६ लाख ९९ हजार २३० रुपैयाँ
सवारी साधन बिक्रीबाट १२ लाख ९६ हजार रुपैयाँ
कृषि आय १ लाख २७४ रुपैयाँ माथि उल्लिखित आय मात्र वैध देखिँदा सोभन्दा बढी देखिएकाले रकमहरूको स्रोत खुल्न नआई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै ढकालसँग सोही बराबर बिगो, जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार सजाय गर्न माग गरिएको छ ।

 

प्रकाशित :२०८० श्रावण २३, मंगलवार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry