संघबाट समायोजन भएका कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दै धमाधम फिर्ता

संघबाट समायोजन भएर स्थानीय तहमा खटाइएको कर्मचारीहरु स्थानीय तहबाट धमाधम फिर्ता हुन थालेका छन् । स्थानीय तहरुले बजेट नभएको र तलब खुवाउन नसकिने भन्दै संघमै फिर्ता पठाउन थालेका हुन ।

Advertisement 1

धनगढी उप महानगरपालिकाका नगर प्रमुख गोपाल हमालको अध्यक्षतामा धनगढी उप महानगरपालिकामा कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहका नगर प्रमुख र अध्यक्षहरुको दोस्रो समन्वयात्मक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले कर्मचारी समायोजन ऐनअनुसार खटिएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता पठाउने भएका हुन ।

Advertisement 2

उक्त बैठकमा उपस्थित नगर प्रमुख तथा अध्यक्षहरुबीच छलफल भई कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम साविकमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा समायोजन, समायोजन संशोधन, सरुवा एवम् कामकाजका लागि खटी रमाना भई आएर हाजिर भई कामकाज गरिरहेका स्वास्थ्य सेवाका कर्मचारीहरुको तलबभत्ता संघीय ससर्त अनुदान मार्फत उपज हुँदै आएकोमा आगामी आर्थिक बर्ष अर्थात साउन १ गतेदेखि स्वीकृत दरबन्दी भन्दा बढी तलबभत्ता दिन नसकिने जनाएको छ ।

Advertisement 3

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समायोजन गरिएका कर्मचारीलाई स्थानीय तहहरुले फिर्ता पठाउने निर्णय गरेका हुन् । धनगढी उप–महानगरपालिकामा हिजो बसेको दुवै जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुको बैठकले सो निर्णय गरेको नगरप्रमुख गोपाल हमालले बताए ।

स्थानीय तहको स्रोत साधनबाट स्वीकृत दरबन्दीबाहेक अन्य थप कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउन नसकिने भएकाले स्वास्थ्य सेवासहित अन्य सेवाका कर्मचारीलाई सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।

स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीको सेवासुविधा आन्तरिक स्रोतबाट धान्न नसक्ने अवस्था रहेको कारण देखाउँदै स्थानीय तहहरुले धमाधम कर्मचारी हटाइरहेका छन् ।

त्यसरी तलबभत्ता प्राप्त नहुँदा स्थानीय तहको श्रोत साधनबाट स्वीकृत दरबन्दी बाहेकका अन्य थप कर्मचारीहरुको तलब भत्ता उपलब्ध गराउन नसकिने अवस्था रहेकोले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीहरुलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने र कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा नेपाल सरकार अन्तर्गतका मन्त्रालयहरुबाट खटाई पठाइएका स्वीकृत दरबन्दी भन्दा बढी संख्याका अन्य सेवाका कर्मचारीहरुलाई पनि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

प्रकाशित :२०८० असार २४, आईतवार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry