सिम्रौनगढका प्रशासकीय अधिकृत भ्रष्टाचारमा मुछिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानूसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Advertisement 1
संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदनसहितको उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार गरेको पुष्टि भएपछि बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत समेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कुशवाहले सिम्रौनगढ नगरपालिका–२ को रानीबास संग्रहालय भवन निर्माण र अन्य दुई योजनामा काम भएको भन्दा करिब ६ लाख रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको आरोप छ ।
रानीबास संग्रहालय भवन निर्माणमा ४ लाख २ हजार ९८० रुपैयाँ २० पैसा बढी भुक्तानी दिएको भन्दै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष निरञ्जनप्रसाद कुशवाह, सचिव रामपाल दास र कोषाध्यक्ष सन्ध्या देवीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजायको मागदाबी गर्दै आरोप पत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।