माध्यामिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरू, पाँच लाख बढी विद्यार्थी परीक्षामा सहभागी

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ । आजबाट सुरु भएको एसइईमा पाँच लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । पहिलो दिनको परीक्षा बिहीबार बिहान आठ बजेबाट सुरु भएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ । एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका र परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

Advertisement 1

बोर्डले बिहीबारदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी भएका कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी भएका परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक एक, पर्सा र सप्तरीबाट दुई दुई, रुपन्देहीबाट चार जना छन् । परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक एक र सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको बोर्डले जनाएको छ ।

Advertisement 2

परीक्षा उत्तीर्ण हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ पुस सात गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । यस वर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यस वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने भएको छ ।

परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अंक र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने, एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने परीक्षा नियन्त्रक पौडेलले बताए । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको उनको भनाई छ । । परीक्षा नियन्त्रक पौडेलले ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रकाशित :२०८० चैत्र १५, बिहीबार ११:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry