मन्त्रीका पिए खान किन मरिहत्ते ?

‘कुमार’ प्रवृत्तिका कर्मचारीले प्रदेशदेखि स्थानीय तहसम्म खेदिनुपर्ने अनि ‘गणेश’ प्रवृत्तिका कर्मचारीलाई चाहिँ प्रधानमन्त्री, मन्त्रीको परिक्रमा लगाएर जागिर खान छूट हुने, धन पनि प्रशस्त कमाइने भएपछि पिए बस्न को नकुदोस् !
एउटै कर्मचारीले मन्त्री फेरिएपिच्छे सचिवालयमा बस्ने अवसर कसरी पाउँछ ? जस्तो :- बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको निजी सचिव तथा कर्मचारी प्रशासन महाशाखाको हर्ताकर्तासहित दोहोरो जिम्मेवारीमा थिए, उपसचिव शोभाखर रेग्मी । गृहका सहसचिवलाई बरण्डामा राखेर रामेछापको सिडिओ खान गए । ६ महिनापछि नै अछाममा सहायक सिडिओ भए । बढुवा खानका लागि दुर्गम दरबन्दी राखेर अहिले काजमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको निजी सचिव तोकिएका छन् । यसरी दुर्गममा दरबन्दी राखेर सुगममा बस्ने गरी गंगाबहादुर क्षेत्रीले पनि लाइन मिलाएका छन् । गृहस्रोतका अनुसार दरबन्दी जाजरकोटमा भए पनि अहिले कास्कीको सहायक सिडिओ छन् । एउटै जिल्लामा तीन जना सहायक सिडिओ कास्कीले मात्रै पाएको छ । अनिल जोशी घर फर्किएपछि उक्त ठाउँ ओगट्ने दाउमा छन् । गृहकै उपसचिव लीला केसीको दरबन्दी पाँचथरमा छ तर काठमाडौंको विपद व्यवस्थापनमा छिन्, काजमा ।

Advertisement 1

यसरी सकेसम्म मन्त्री, सिंहदरबार, सुगममा घुमेर जागिर खाने अर्का कर्मचारी हुन्, नारायण मैनाली, शहरी विकासमन्त्री सीता गुरुङको निजी सचिव ।
झंक ढकालले यसअघि मन्त्रीको सचिवालयमा जागिर खाए । अहिले भाइ ज्ञाननाथलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीकोमा पठाएका छन् । जापानमा राजदूत रहेका दुवसु क्षेत्रीले भाइलाई उसैगरी परराष्ट्र मन्त्रीको सचिवालयमा खटाएका छन् । जनार्दन शर्माको गाउँले भएकै कारण अर्जुन भण्डारीले मन्त्रीहरूको सचिवालय छाडेर अन्यत्र जानुपरेको छैन । तीन पटकसम्म जनार्दनको सचिवालयमा रहेका उनी केही समयदेखि प्रचण्डको परिक्रमा लगाउने ठाउँमा छन् । जनार्दन गृहमन्त्री हुँदा रसुवाको प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य पाए । त्यहाँबाट लागुऔषध नियन्त्रण महाशाखामा केही समय बसेका उनी जनार्दन अर्थमन्त्री नियुक्त भएसँगै पिए मात्र भएनन्, टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण केन्द्रको हाकिम खाए । सहसचिवमा बढुवा हुनुअघि प्रधानमन्त्री प्रचण्डको सचिवालयमा थिए । उपसचिवबाट उक्लिए पनि प्रदेशतिर झर्न परेन । सीधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पोस्टिङ लिए ।

रामहरि शर्मा, वामदेव गौतमको निजी सचिव थिए, लालबाबु पण्डित सामान्य प्रशासनमन्त्री हुँदा उनको सचिवालयमा खटिए । अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको निजी सचिव छन् । चार लाख हाराहारी रकम बुझेर लियाजो अफिसरको रूपमा हिमाल आरोहणका लागि निस्किए पनि नाम्चेसमेत नपुगी आधा बाटोबाटै मोडलिङ गरी फर्किएका डा. डिजन भट्टराई पनि केही समय वामदेव गृहमन्त्री हुँदा सचिवालयमा थिए । त्यहीँँबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’देखि जनार्दन शर्मा हुँदै सुदन किरातीसम्मको सचिवालयमा घुमिरहेका छन् ।

Advertisement 2

पद्मा अर्याल भूमिसुधारमन्त्री हुँदा निजी सचिव बसेका कृष्ण सुवेदी खगराज अधिकारी १३ दिने गृहमन्त्री हुँदा त्यतै सरे । पार्टी फुटेपछि नेकपा एस समर्थक देखिएका उनी किसान श्रेष्ठदेखि शेरबहादुर कुँवरसम्मको सचिवालयमा बसे । अहिले कृषिमन्त्री बेदुराम भुसालको सचिवालयमा बस्न खोजेका थिए तर त्यो अवसर दीपक पौडेलले पाएका छन् । प्रशासनतर्फका मात्र होइन, मन्त्रीको निजी सचिवमा संसद् सेवाका कर्मचारीसमेतको रुचि अस्वाभाविक देखिने पूर्व प्रशासकहरू बताउँछन् । जस्तोः हृदयेश त्रिपाठी जतिखेर लेखा समितिमा थिए संसद सेवाका कर्मचारी विष्णु खड्का उनको सचिवालयमा रहे, त्रिपाठी स्वास्थ्यमन्त्री हुँदा उतै गए । अहिले ठूला करदाता कार्यालयका हाकिमको रूपमा कार्यरत राजेश्वर ज्ञवालीसमेत रघुवीर महासेठ जति पटक मन्त्री हुँदा पनि उनको सचिवालयमा थिए ।

प्रकाशित :२०८० जेष्ठ १३, शनिबार ०६:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry