निजामती सेवा भनेको के हो ? के-के सुविधा पाउँछन् निजामती कर्मचारीले ?

साधरण रुपमा सरकारी कर्मचारीलाई निजामती कर्मचारी भन्ने गरिएको छ ।विशिष्ट सीप , ज्ञान र क्षमता भएका स्थायी प्रवृतिका राज्यको कोषबाट तलब भत्ता पाउने, गैर सैनिक व्यवसायीक समूहलाई निजामती सेवाको रुपमा परिभाषित गर्ने गरिएको छ ।

Advertisement 1

नेपालको संविधानको धारा २४३ अन्तर्गत स्पष्टीकरणमा “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ भनी उल्लेख गरिएको छ साथै निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम गठन भएका सेवालाई निजामती सेवा भनिन्छ ।
निजामती सेवाभित्र
नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा
नेपाल कृषि सेवा
नेपाल परराष्ट्र सेवा
नेपाल लेखापरीक्षण सेवा
नेपाल विविध सेवा
नेपाल इञ्जिनियरिङ्ग सेवा
नेपाल न्याय सेवा
नेपाल प्रशासन सेवा
नेपाल वन सेवा
नेपाल शिक्षा सेवाका अलवा संसद सेवा र नेपाल स्वास्थ्य सेवा समेतलाई समावेश गरिएको छ ।

निजामती कर्मचारीले निजामती सेवामा श्रम, सीप र समयको लगानी गरेबापत सरकारले उपलब्ध गराउने क्षतिपूर्ति कर्मचारीको सुविधा हो । यस्तो सेवा सुविधा मौद्रिक र गैरमौद्रिक हुने गर्छ । मौद्रिक सेवा सुविधा मुद्रासँग सम्बन्धित छ भने गैरमौद्रिक सेवा सुविधा मुद्राबाहेकका अरू सेवा सुविधासँग सम्बन्धित छ ।

Advertisement 2

नेपालमा निजामती कर्मचारीलाई हाल निजामती सेवा ऐन २०४९ र निजामती सेवा नियमावली २०५० अनुसार निम्न सुविधा प्रदान गरिँदै आएको छ

सरकारी कर्मचारीहरुले मौद्रिक र गैरमौद्रिक गरी दुई प्रकारको सेवा सुविधा पाउने गर्दछन् ।
मौद्रिक सेवा सुविधा अन्तरगत कर्मचारीहरुले मासिक रूपमा तलब, भत्ताको व्यवस्था,ग्रेडको सुविधा पाउँदै आएका छन् । यस्तै निजामती कर्मचारीहरुले जागिरे अवधिमा तलबी बिदाका अलवा मुटु, मिर्गौला र क्यान्सरजस्ता रोग लागेमा बढीमा पाँच लाखसम्म थप आर्थिक सहायताका अलवा १ लाख रुपियाँ बराबरको जीवन बीमा व्यवस्था, प्रत्येक वर्ष एक महिना बराबरको रकम चाडबाड खर्च पाउँदै आएका छन् । यसका अलवा सेवाबाट अवकाश हुँदा उपदान वा निवृत्तिभरण पाउँदै आएका छन् । यस्तै तलबको १० प्रतिशत रकम कट्टी गरी उक्त रकमको सतप्रतिशत थप गरी कर्मचारी सञ्चय कोषमा जम्मा हुने व्यवस्था पनि निजामती सेवामा रहेको छ । यस्तै पोसाक भत्ताको व्यवस्थाका साथैं शैक्षिक वृत्ति, सन्तति वृत्ति, अशक्त वृत्तिको व्यवस्थाको सुविधा समेत निजामती सेवामा रहँदै आएको छ ।
यस्तै गैरमौद्रिक सेवा सुविधा अन्तरगत जागिरे अवधिमा रहँदा सामान्यतया प्रत्येक दुई वर्षमा सरुवा हुने व्यवस्था, सरुवा गर्दा दुर्गममा बस्नेलाई सुगममा र सुगममा बस्नेलाई दुर्गममा सरुवा गरी न्यायोचित सरुवा प्रणालीमा जोड, श्रीमान् श्रीमती दुवै निजामती सेवामा कार्यरत भएमा मिलेसम्म एकै जिल्लामा सरुवाको व्यवस्थाको सुविधा समेत रहेको छ । कर्मचारीको पति वा पत्नीका लागि बढीमा पाँच वर्षसम्म बेतलबी बिदाको व्यवस्था रहेको छ । निजामती कर्मचारीको पेसागत हक–अधिकारको सुनिश्चितताका लागि ट्रेड युनियन गठन गरी संगठित हुने अधिकारको व्यवस्था समेत कानुनले दिएको छ ।

प्रकाशित :२०७९ फाल्गुन २२, सोमबार १८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry