रंगेहातमा भटाभट सफाइ, अख्तियार आगो

रंगेहात समातिएका कर्मचारीलाई विशेष अदालतले एकपछि अर्को गर्दै सफाइ दिएपछि अख्तियार असन्तुष्ट बनेको छ । तीन महिनाको अवधिमा १० वटा घुस प्रकरणमा विशेष अदालतका फैसलामाथि चुनौती दिँदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

Advertisement 1

दश वटा घुस प्रकरणमा तथ्य प्रमाणको गलत विश्लेषण गरी कानुनविपरित सफाइ दिएको भन्दै अख्तियारले ती मुद्दामा गएको साउन ९ गते पुनरावेदन गरेको हो । रंगेहात समातिएका नापी कार्यालय इनरुवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी रामनारायण पोद्धार, यातायात व्यवस्था कार्यालय सुकेधाराका प्रमुख, उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेल, खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलगायतका प्रतिवादीलाई ‘शंकाको सुविधा अभियुक्तले पाउने’ नाममा सफाइ दिएपछि अख्तियार असन्तुष्ट बनेको हो ।

विदेशबाट जारी सवारी चालक अनुमतिपत्र नेपालीकरण गर्ने नाममा यातायात व्यवस्था कार्यालय सुकेधाराका प्रमुख भट्टराई, शाखा अधिकृत ढकाल र नासु पौडेलले सम्बन्धित दूतावास, कन्सुलर सेवा विभाग, भिसा, सवारी चालक अनुमतिपत्रसमेत किर्ते गरी ८ सय ५५ जनाको अनुमतिपत्र ‘नेपालीकरण गरेको’ आरोपसहित अख्तियारले थुनामा राखेर मुद्दा चलाएको थियो । यस्तै नापी कार्यालय इनरुवा सुनसरीका सर्भेक्षक महतो र लेखापढी व्यवसायी पोद्धार ‘जग्गाको नक्सा सुधार गरिदिने’ भन्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेकै बेला पक्राउ परेका थिए ।

Advertisement 2

शंकारहित तवरले आरोप पुष्टि भएको अवस्थामा अभियुक्तलाई शंकाको सुविधा हुने भन्दै सफाइ दिएको दाबी अख्तियारको छ । भ्रष्टाचारको तथ्य स्थापित भएको स्विकारे पनि विशेषले अन्तिममा अभियुक्तलाई छुट्कारा दिलाएको भन्दै अख्तियार असन्तुष्ट बनेको छ । ३५ हजार रूपैयाँ घुससहित पक्राउ परी अख्तियारको हिरासतमा राखेर छानबिन गरिएका खाद्य अनुसन्धान अधिकृत श्रीवास्तवले पनि यसरी नै सफाइ पाएका थिए ।आरोपितले कसुर इन्कार गरेको र उजुरीकर्तामध्ये एक जनाले बयान नदिएको बिषयलाईसमेत सफाइको आधार बनाइएको छ ।

पोलिग्राफ परीक्षण, रंगेहात परीक्षण तथा नमुना संकलन, मुचुल्का, खानतलासी एवं बरामदी मुचुल्कासमेतबाट कसुर पुष्टि, रकम बार्गेनिङको अडियो रेकर्डसमेत पेश भएका मुद्दाका अभियुक्तले पनि सफाइ पाएपछि अख्तियार आश्चर्यमा परेको छ । विशेष अदालतमा श्रीकान्त पौडेल अध्यक्ष बनेर गएपछि घुस रिसवतमा एकपछि अर्को गर्दै विशेष अदालतले भटाभट सफाइ दिँदै आएको छ । वैशाखयता सफाइ पाएका दश वटा मुद्दामा अख्तियार सर्वोच्च पुगेको हो ।

प्रकाशित :२०७९ कार्तिक २, बुधबार १७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry