वातावरणीय र साँस्कृतिक दृष्टिले देवघाट क्षेत्रको विकास र संरक्षण



देवघाट क्षेत्रको सामान्य परिचयको कुरा गर्दा यो क्षेत्र नेपालको अत्यन्तै महत्वपूर्ण तीर्थस्थलहरुमध्येको एक हो । यस क्षेत्रको महत्वको व्याख्या वैदिककालदेखि नै गरेको पाइन्छ । सुरुमा धार्मिक महत्वको हिसाबले हेरिएता पनि पछि सांस्कृतिक हिसाबले पनि महत्व दिन थालियो । अहिले पर्यटनको दृष्टिले पनि उस्तै महत्व दिन थालिएको छ । यसको कारण हो, यहाँको सुन्दर प्रकृति, स्वच्छ नदीनाला, वरपरको सुन्दर वन वनेली, जैविक विविधता, विभिन्न जनजातिहरु बसोबास गर्ने विविध खालका बस्तीहरु, विभिन्न समयमा निर्माण गरिएका मठ–मन्दिरहरु, साथै विभिन्न तपस्वीहरु, भक्तहरु, श्रद्धालु तथा आध्यात्मिक व्यक्तिहरुले आफ्नो आत्मिक उन्नयनका लागि बनाएका विभिन्न स्थानहरु आदि । साथै यो स्थान ऐतिहासिक र पुरातात्विक हिसाबले पनि महत्व राख्ने स्थान हो ।
पाल्पाका प्रख्यात त्यागी राजा मणीमुकुन्द सेनले राजकाज त्यागेर जीवनको अन्तिम समयमा यहीँ आएर तपस्या गरे । योगी नरहरिनाथले यही क्षेत्रलाई आफ्नो तपस्या थलो बनाए । सिद्ध तपस्वी गलेश्वर बाबाले आफ्नो कर्म थलो बनाए । विद्धान डा. रामानन्द गिरीले पूर्वीय दर्शनको विस्तारको लागि महाविद्यालय खोले र संस्कृत विद्वानहरु उत्पादन गर्ने कार्यमा लागे । राजा महेन्द्रले पहिलो पटक डुंगामा ऐतिहासिक कवि सम्मेलन सम्पन्न गरे । हजारौं विशिष्ट व्यक्तिहरुले आफ्नो जीवनको अन्त्यमा यहाँ आई जीवन विसर्जन गरे । पंचायती व्यवस्थाका सूत्रधार राजा महेन्द्रको देहावसान पनि यही क्षेत्रमा रहेको दियालो बंगलामा भयो ।
संसारमै दुर्लभ वस्तुको रुपमा गनिने शालीग्राम ढुगामा यहीँको कालीगण्डकी तटमा नै पाइनुले पनि यो स्थानको महत्व बढेको मानिन्छ । साथै अत्यन्तै पवित्र मानिने कालीगण्डकी नदी, जोे पवित्र मुक्तिनाथ क्षेत्र हुँदै आएर अर्को उस्तै पवित्र मानिने गोसाइँकुण्ड मुहान भएको त्रिशुली नदीमा मिल्ने संगमभूमि भएकोले पनि देवघाटको महत्व बढी हुन गएको हो ।
यी नदीहरुको किनारमा रहेका समथल बेसीहरुमा आदिवासी बोटे, दराई, माझी र कुमालहरुको बस्ती र उनीहरुले संरक्षण गरेर राखेको संस्कृति र परम्पराको दृष्टिले पनि यो स्थानको महत्व थपिएको छ । वरपर रहेका सुन्दर हरिया पहाडहरु, त्यहाँ हुर्केको मगर, गुरुङ र चेपाङहरुको संस्कृतिले पनि उति नै महत्व बढाएको देखिन्छ ।

Advertisement 1

माघे संक्रान्ति, हरिसैनी एकादशी, बोलवम आदि समयमा भरिने मेलाहरु पनि यस क्षेत्रका प्रमुख आकर्षण हुन् । सीता गुफा, चक्रबर्ती महादेव, महेश आश्रम, गलेश्वर धाम, हरिहर आश्रम, लक्ष्मीनारायण मन्दिर, बागीश्वरी मन्दिर, योगी नरहरीनाथ गौ संरक्षण केन्द्र, गणेशस्थान, हरिहर मन्दिर, मौलाकाली मन्दिर आदि यहाँका केही विशेष धार्मिक स्थलहरु हुन् । राजाहरुले हिउँदे राजधानीको रुपमा स्थापना गरेका दियालो बंगला दरबार पनि यो क्षेत्रको अर्को महत्वपूर्ण धरोहर हो । ऐतिहासिक, साँस्कृतिक, धार्मिक हिसाबले मात्र हैन, जैविक विविधताको हिसाबले पनि यो क्षेत्रको महत्व उति नै रहेको छ । वरण्डाभार जंगल अन्तर्गत पर्ने जलदेवी सामुदायिक वन, सतनचुली सामुदायिक वन, बागीश्वरी सामुदायिक वन जस्ता वनहरु, जसले पहाड र तराईमा रहेका वन्यजन्तु, चरा, पुतलीहरुको ओहोरदोहोर गर्ने जैविक मार्गको काम गर्ने गरेको छ । साथै एकसिंगे गैंडा, पाटे बाघ, मगरगोही, अजिंगर जस्ता दुर्लभ वन्यजन्तुहरु रहने चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कारणले पनि यी वनहरुको आफ्नै महत्व छ । निकुञ्जका जीवहरु यहाँ आउने र यहाँका निकुञ्जतर्फ जाने आउने क्रम जतिबेला पनि भइरहन्छ ।
यस क्षेत्रको जंगलहरुमा साल, सतिसाल, सिमल, सिसौ, खयर जस्ता दुर्लभ वृक्षहरुको साथै हजारौं खालका जडीबुटीहरु पाइने गर्दछन् । यहाँका नदीहरुमा पाइने जलचरहरुको पनि उति नै महत्व छ । त्रिशुली, कालीगण्डकी र त्रिशुली नदीहरुका गहिरा दहहरुमा असला माछा, गोही र डल्फिन जस्ता दुर्लभ जीवहरु भेटिने गर्दछन् । यी सबैको धनी मानिने यो देवघाट क्षेत्र प्राचीन कालका ऋषिमुनी, तपस्वी, आध्यात्मिक भक्तजनहरुको लागि मात्र हैन आधुनिक विज्ञानमा रुचि राख्ने अध्येता, अनुसन्धानकर्ता, प्रकृतिप्रेमी, संस्कृत विज्ञ, वातावरणविद्, तीर्थाटन कर्ता, पर्यापर्यटक, पर्यटन व्यवसायी सबैको लागि आकर्षक थलो बनेको छ ।
यसरी हेर्दा देवघाटको महत्व त जति गरे पनि कमै हुन्छ । मानिसहरु यसको महत्वको बारेमा धेरै चर्चा त गरिरहन्छन् । तर संरक्षण भने हुन सकिरहेको छैन । संरक्षणका कुरा उठेता पनि ढंग पु¥याएर संरक्षण हुन सकेको देखिन्न । देवघाट आफैंमा बहुआयामिक स्थल हो । यसको एक पक्षलाई मात्र हेरेर संरक्षण र विकास गर्न खोजेर यो स्थानको न संरक्षण नै हुन्छ, न त विकास नै । देवघाटको समग्र विकास र संरक्षणको लागि यसका हरेक पक्षहरुलाई मसिनोसँग केलाएर हेर्नु पर्छ । यहाँको आध्यात्मिक पक्ष, सांस्कृतिक पक्ष, वातावरणीय तथा प्राकृतिक पक्ष, ऐतिहासिक, पुरातात्विक पक्ष, पर्यटकीय पक्ष, सामाजिक पक्ष आदि सबैलाई अलग–अलग केलाउने र तिनीहरुबीचको अन्तरसम्बन्ध, एक पक्षले अर्को पक्षलाई पार्न सक्ने प्रभावलाई पनि केलाउनु पर्दछ ।

विकास र संरक्षणका कार्यहरु अलगअलग हुन्छन् तर तिनीहरुको असर भने एक अर्कामा परिनै रहन्छ । यी दुवै कार्य गर्दा अत्यन्त गम्भीर भएर अगाडि बढ्नु पर्छ । नत्र भने एक पक्षको विकास गर्न खोज्दा अर्को पक्षको विनाश हुन सक्छ । एक वस्तुको विकास गर्दा अर्को वस्तुको संरक्षणमा आघात पुग्न जान्छ । सबै पक्षका आ–आफ्ना महत्व हुन्छन् । एउटालाई महत्व दिन खोज्दा अर्कोको महत्व घट्न दिनु हुन्न । सबै पक्षको संवेदनशीलतालाई राम्ररी बुझेर, दूरद्रष्टा भएर मात्र काम गर्नुपर्छ । साँच्चै देवघाटको विकास गर्नु भनेको अन्य सामान्य स्थानको विकास गरे जस्तो सजिलो छैन । सबैै पक्षलाई मिलाउन सकिएन भने भद्रगोल भएर धेरै पक्षलाई नोक्सान पुग्न जान्छ ।

Advertisement 2


विकासको कुरा गर्दा भौतिक संरचनाहरु जस्तै भवन, सडक, पुलपुलेसा, निकास, खानेपानी व्यवस्थापन, मठमन्दिर, विद्यालय, पाठशाला, हाटबजार, फोहोर व्यवस्थापन, पर्यटकीय स्थल, धर्मशाला, होटल रेष्टुरेन्ट, बागबगैंचा, स्नान गृह, दाहसंस्कार स्थल, ध्यान केन्द्रहरु आदिको निर्माण भन्ने गरिन्छ । मानिसहरुको सुविधाका लागि यी संरचनाहरु आवश्यक छन् । तर देवघाटमा बन्ने भवनहरु नरायणगढ र भरतपुरको भन्दा भिन्न हुनु पर्छ । डिजाइन पनि विशेष हुनु पर्छ र निर्माण सामग्रीहरु प्रयोग गर्दा पनि निकै विचार पु¥याउनु पर्छ । प्राकृतिक सौन्दर्यतालाई नै छेक्ने, पुरातात्विक महत्वका स्थानहरुलाई नै छोपिदिने, आधुनिक ठूला सहरहरुका जस्ता गगनचुम्बी भवनहरु निर्माण गरेर सुन्दर प्राकृतिक छटाहरुलाई कंक्रीटको जंगलमा रुपान्तरण गर्ने खालको विकासले देवघाटको गरिमालाई नै घटाउने गर्दछ । देवघाटमा मानिसहरु आध्यात्मिक प्रगतिको लागि, प्राकृतिक आनन्द प्राप्त गर्न, अनुपम प्राकृतिक सुन्दरताको अनुभूति गर्न, शान्ति र आनन्द लिन, स्थानीय संस्कृतिको अवलोकन गर्न, धार्मिक मेलाहरु भर्न, ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको अध्ययन अवलोकन र जैविक विविधताको अनुसन्धान गर्न आउने हुन् । प्राकृतिक सुन्दरता नियाल्दै पैदल यात्रा गरेर आनन्द लिनेहरु यहाँ आउँछन्् ।

आधुनिक सहरको कोलाहरुलपूर्ण वातावरणबाट मुक्ति पाउने आशाले शान्तिको खोजीमा आउने हुन् । त्यसैले देवघाटमा यीसँग सम्बन्धित वस्तुहरुको संरक्षण र विकास हुनु जरुरी छ । जे हेर्दा पनि जता हेर्दा पनि आध्यात्मिकता झल्कने, हेर्दै मन शान्त हुने, आत्मिक उन्नयन हुने खालका संरचनाको निर्माणमा लाग्नु पर्छ । बनिसकेका संरचनाहरु, जसले देवघाटको विशेष परिचय दिने गर्दछन् तिनीहरुको संरक्षण पनि हुनुपर्छ । धर्मका नामका कतिपय विकृतिहरु गाँजा सेवनको परम्परा, धुमपान, मद्यपान, बली प्रथा, जनावरहरुको हिंसा जस्ता कुप्रथाहरुलाई क्रमशः हटाउँदै लैजाने गर्नु पर्दछ । मठमन्दिरहरु बनाउँदा नेपाली कलात्मक शैलीका स्थानीय निर्माण सामग्रीहरुको प्रयोग गरी पुरातत्व विभागको परामर्शमा मात्र निर्माण गरे राम्रो हुन्छ । स्थानीय शैलीका कलात्मक कुटीहरुले जति देवघाटको महत्व बढाउन सक्छन्, त्यति विदेशी शैलीका विशाल मन्दिरहरुले महत्व बढाउन सक्दैनन् ।
यहाँको महत्वका लागि पुराना शैलीका थुप्रै कुटीहरु हुनु पथ्र्यो । तर यतिबेला बागीश्वरीमा भएका दुईवटा कुटीहरु बाहेक अन्यत्र देखिन्न । साधुसन्त भन्नेहरु नै आधुनिक सिमेन्टेड ठूला भवनहरुमा ठाँट र रवाफले बस्न थालेकाले देवघाट अब कंक्रिटघाटमा परिणत हुने डर छ । योगी नरहरीनाथ र श्रीषनाथको प्रयासले बागीश्वरीमा दुइवटा कुटीहरु, बागीश्वरी मन्दिर र गणेश मन्दिर भने पुरातात्विक मापदण्ड अनुसार चुनासुर्की र ढुंगाबाट निर्माण गरिएका छन् । तर अहिले बनेका योगी नरहरीनाथको हमन स्थल समेत सिमेन्टको बनाएर पुरातात्विक स्थलको खिल्ली उडाउने काम भएको छ । योगी नरहरीनाथको नाममा सहयोग जुटाएर नरहरिनाथले दिएको विचार, उनले अपनाएको सिद्धान्त र उनले दिएको वातावरणमैत्री शिक्षाको नै उपहास गरेको देखिन्छ । योगी नरहरिनाथको आश्रम वरपरको क्षेत्रमा नै योगीजीको भावनामाथि ठेस पुग्ने गरी जथाभावी निर्माण गरेर बागीश्वरी क्षेत्रको गरिमा घटाउने काम भएको छ, यसले योगीजीको त्याग र योगदानको अपमान हुन गएको छ ।

Advertisement 3


सडकलाई चाक्लो बनाउने नाममा यहाँको महत्वपूर्ण वनको विनाश गरिएको छ । देवघाटदेखि नारायणगढसम्म स्थानीय स्तरमा पाइने ढुंगा बिच्छाएर पैदल मार्ग बनाई खोला खोल्साहरुमा काठका पुल तथा फड्केहरु निर्माण गरिदिने हो भने जैविक विविधताको अवलोकन गर्दै आनन्द लिएर मानिसहरु घुम्म र रमाउन पाउने थिए । गाडी चढेर फुत्त जानु, धुलो र धुवाँ खानु भन्दा धेरै राम्रो हुने थियो । नारायणीको किनारै किनार यस्तो बाटो निर्माण गर्न सके देवघाटको यात्रा अत्यन्त रमणीय हुने थियो । होटेल रेस्टुरेन्टहरुको निर्माण गर्दा पनि शाकाहारी परम्पराका कटेज स्टाइलका स्थानीय काठ, बाँस, खर, ढुंगा आदिको प्रयोग गरी रातो वा गेरु माटोले पोतेर वा स्थानीय प्राकृतिक रंगले रगाएर प्राकृतिक दृष्यावलोकन गर्न मिल्ने स्थानहरुमा बनाउँदा देवघाटको महिमा बढ्ने छ ।
देवघाट क्षेत्र भनेको गणेशस्थान, हरिहर मन्दिरदेखि पुलचोक क्षेत्र, मौलाकाली क्षेत्र आदि पनि पर्दछन् । यी सबै क्षेत्रमा बनेका संरचनाहरु देवघाटको गरिमा बढाउने भन्दा पनि घटाउने खालका छन् । जानी या नजानी गल्ती त धेरै भएको छ यो क्षेत्रको विकासको नाममा । तर अबका दिनमा हामीले सोच्नै पर्छ देवघाटलाई साँच्चिकै देवघाट बनाउने कि भद्रगोलघाट । त्यो हाम्रो बुझाइ र प्रयासमा भर पर्दछ । हतारिएर बजेट खर्चने कुरालाई मात्र विकास भएको भन्नु यस क्षेत्रको लागि अभिशाप हुन्छ । कामको थालनी गर्दा धेरै गमेर मात्र गर्नु पर्दछ । आउन सक्ने परिणामलाई हेरेर मात्र काम गर्नु पर्दछ । देवघाटको महिमालाई दृष्टिगत गर्दा यहाँ धेरै कुराहरु त बिगारिसकिएको छ । महत्वपूर्ण सार्वजनिक स्थलहरु, मन्दिर परिसर भित्रका जमिनहरु, नदी किनारका सुन्दर तटहरु, महत्वपूर्ण वन क्षेत्रहरु खासगरी नाराणगढको नदी किनार, गणेश स्थानको मन्दिर वरपरको केही बिघा जमिन, आँपटारीको सुन्दर जंगल, जोरकुसुमको नदी किनारको सुन्दर भूभाग, देवघाट वारी र पारी पट्टि रहेका नदी किनारका महत्वपूर्ण स्थानहरु विभिन्न व्यक्ति, संघसंस्था र समूहको नाममा अतिक्रमित भइसकेका छन् । त्यसलाई फिर्ता ल्याएर गुरुयोजना अनुसारका केही आवश्यक संरचनाहरु तयार गर्न सकिन्छ, जसले देवघाटको गौरवलाई बढाउन सक्छन् ।
निर्माणका लागि मापदण्डहरु पनि तयार छन् । समय अनुसार नपुग कुराहरु थप्दै गएर मापदण्ड लागु गर्नु पर्दछ । जसरी हुन्छ यो सुन्दर क्षेत्रको प्राकृतिक स्वरुपलाई बिग्रन नदिई यसको गरिमा र महत्वमा कमी आउन दिनु हुन्न । बसोबास क्षेत्रमा मापदण्ड केही खुकुलो गरे पनि केन्द्र भागहरुमा भने मापदण्ड कडाइका साथ लागु गर्नु पर्दछ । त्यहाँको स्वच्छ वातावरण, प्राकृतिक सुन्दरता, जैविक विविधता, वन, खोला तथा सीमसार क्षेत्रहरुको संरक्षणमा कमी आउन दिनु हुन्न । पहिलेकाले गरेका गल्तीहरुलाई दोहोरिन नदिई विचार पु¥याएर अगाडि बढे देवघाट साँच्चिकै देवघट्ट बन्ने छ । देवघाट जस्ता तीर्थस्थलहरुको विकास गर्दा र संरचना बनाउँदा विभिन्न क्षेत्रका विज्ञहरु जस्तै संस्कृतिविज्ञ, इतिहासविज्ञ, पुरातत्वविद्, वातावरणविद् आदिसँग परामर्श गरेर मात्र गर्नु पर्दछ ।
देवघाट सुन्दर, शान्त आध्यात्मिक स्थल हो, पवित्र नदीहरुको संगम र स्वच्छ मनोरम वातावरण भएको स्थान हो । यो आध्यत्मिक चिन्तन बोकेका मानिसहरुको लागि आस्थाको केन्द्र हो । आधुनिक कोलाहलको वातावरणबाट केही समयको लागि भए पनि मुक्ति पाउने आशाले आउने मानिसहरुको गन्तव्य स्थल हो । यसको विकास गर्दा प्राकृतिक सुन्दरता नबिग्रने गरी, जैविक विविधतामा नकारात्मक प्रभाव नपर्ने गरी, धार्मिक मूल्य–मान्यतामा आँच नआउने गरी वातावरणमैत्री, धर्म संस्कृतिमैत्री हिसाबले विकास गर्नुपर्दछ, जसले गर्दा यहाँ रहेका हरेक पुरातात्विक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वका विविध वस्तुहरुको संरक्षण हुन सकोस् ।

प्रकाशित :२०७७ माघ २२, बिहीबार १४:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry