फूल होइन हजुर ! भातको खाँचो छ

आकाशबाट केही झर्यो रत्नपार्कमा
वृद्ध खुसी
रित्तो टपरीमा हेर्दै
मुसुक्क गिजा
आहा
हामीलाई पनि सम्झेछन !
सिपाही उता देखाउँदै
हैन बा भात होइन
फूल हो फूल !
उनीहरुका लागि
यता हावाले ल्यायो
उता जल्सा छ समारोह
यता तड्पिरहेछ भोक
पर्खिरहेछ एक पसर खैरातको भात
खुवाउने अर्कै हो
नबोल फगत पर्खिराख
प्रश्न नगर नसोध
उता जात्रा छ !
नसुन स्खलित अभिनन्दन र बधाईहरु
नहेर पङ्क्तिबद्ध बन्धक छन् उता
कोही खुसीमा कोही विवशतामा
खडा छन् करबद्ध करियाहरु
एउटा कवि करायो उता हेर्दै
तिम्रा प्रत्येक निश्वासमा
कसैको सास गइरहेछ
तिम्रा हृदयका हरेक स्पन्दनमा
कसैको हृदय फाटिरहेछ
तिम्रा लेखी निम्न जीव
गुमनाम मरिरहेछ
मरोस !
आफै ईश्वर आफै आत्मा तिमी
यो दुनिया बडो अस्थिर छ साथी !
मजा लिइहाल
भोलि आगो बल्नेछ
शीतल लिइहाल
राख वरिपरी अत्याधुनिक चेटहरुलाई
दैन्य बीभत्सतामाझ
बाँडिदेऊ लहडी पारितोषिक
बधाई बाँड आपस्तमा
तिमी नै राख तिम्रो पेवा लोकतन्त्र
बाँडिचुडी खाऊ अघाउन्जेल
लोकहरु त हेर
गएको जवान ज्यान
कोही बट्टामा कोही प्लास्टिकमा
धारा तेत्तीस पीडित भोको भीड
भागिरहेछ बेतहासा दक्षिणतिर
एक गास भात खोज्दै
आफ्नै अस्तित्व जलेको हेर्न अभिशप्त
डराइरहेछ कतै
उताको सिपाही भेट नहोस
दौडिरहेछ आगोतिर
सुनसान गल्लीमा
रोइरहेछ शोकाकूल भोकाकूल जीव
दुर्व्यवस्थाका देवत्वकृत दुस्स्वप्नीहरु !
बन्दी बन्यो रे लोकतन्त्र
निसास्सिदै छ उकुसमुकुस
अभागी आङन खुलामन्च
धुरुधुरु बलिन्द्रधारा
सलाम साहेब !!
सलामी चढाउँदै खुलामन्च
मौन करुण पुकारा गरिरहेछ
फूल होइन हजुर !
भातको खाँचो छ