प्रधानमन्त्री प्रचण्डको निजी सचिवमा सहसचिव नवराज ढुंगाना नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को क्रम भंग गर्नुभएको छ । आफ्नो निजी सचिवको जिम्मेवारी दिँदा उहाँले विगतको परम्परालाई तोड्दै सहसचिवलाई निजी सचिवालयमा भित्राउनुभएको हो ।
Advertisement 1
लामो समय वन तथा वातावरण मन्त्रालय हुँदै महालेखा नियन्त्रक कार्यालय प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका नवराज ढुङ्गानालाई हिजैको मितिदेखि लागू हुने गरी उहाँले निजी सचिवमा नियुक्त गर्नुभएको छ । यस्तै प्रधानमन्त्रीको सचिवालयमा अधिकृत मोहदत्त अधिकारीलाई भित्राइएको छ ।
यता उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नारायणकाजी श्रेष्ठले आफ्नो निजी सचिवालयमा कसलाई लैजाने भन्ने केही टुंगो लागिसकेको छैन । अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निजी सचिवका रुपमा उपसचिव गोकर्ण उपाध्यायलाई भित्राएका छन् ।
Advertisement 2
धादिङ जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुँदै लागू औषध विभागको नेतृत्वमा रहेका उपाध्याय त्यहाँबाट सरुवा भएर गृहको कर्मचारी प्रशासनमा पुगेका थिए । उनैलाई गृहमन्त्रीले आफ्नो निजी सचिवको रुपमा नियुक्त गरेका हुन् ।
गत १० पुसमा मन्त्रिपरिषद बिस्तार हुँदा ज्वालाकुमारी साह,दामोदर भण्डारी,राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनाइएको भए पनि उनीहरुको कार्यभार तोकिएको छैन । उनीहरुको दैनिकी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्ने र फर्कनेमा सीमित छ ।