समायोजन संशोधनका लागि एक हजार निवेदनको चाङ,दैनिक सरदर ५० गुनासो दर्ज
सरकारले कर्मचारी समायोजन संशोधनको ढोका खोलेसँगै त्यहाँ निवेदनको चाङमाथि चाङ लागेको छ । २०७७ भदौ १ को मन्त्रिपरिषद्को निर्णयबाट समायोजन संशोधनको ढोका खुलेको थियो । दुई बर्ष अघि समायोजन गरेर संघबाट प्रदेश र स्थानीय तहतिर पठाइएका असन्तृष्ट कर्मचारीहरु समायोजन संशोधनका लागि निवेदन दर्ज गरेका हुन् ।
Advertisement 1
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीहरूको गुनासो सम्बोधन गर्ने क्रममा एकपटक फेरि मौका दिइएसँगै अहिले समायोजन मिलानका लागि दैनिक सरदर ५० वटा निवेदन दर्ज भइरहेको छ ।
अस्तिसम्ममा त्यहाँ झण्डै एक हजार कर्मचारीहरूले समायोजन मिलानका लागि अनलाइनमार्फत मन्त्रालयमा निवेदन दिएका छन् ।
२०७५ मा कर्मचारी समयोजन गरिँदा झण्डै १ लाख ३७ हजार निजामती कर्मचारीहरू समायोजन सामेल भएका थिए ।
Advertisement 2
मन्त्रालयले हालै कर्मचारी समायोजन–मिलानसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । मापदण्ड स्वीकृत भएसँगै समायोजन भएका कर्मचारीको एक पटक समायोजन संशोधन हुनेछ भने सङ्घका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा समायोजन भएर जाने ढोका खुलेको छ । मापदण्डअनुसार एक स्थानीय तहबाट अर्को स्थानीय तह तथा एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन सक्नेछ । यसका लागि सम्बन्धित दुवै कार्यालयको सहमति आवश्यक हुन्छ ।
समायोजन मिलान गर्न चाहने कर्मचारीले अनलाइनबाटै निवेदन दिन सक्ने व्यवस्था छ ।