कर्मचारी भर्ना प्रक्रिया अन्योलमा

रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा पाँच महिना पहिला खोलेको कर्मचारी विज्ञापनमा हालसम्म भर्ना प्रक्रिया शुरु हुन सकेको छैन । कर्मचारी छनोटका लागि आवेदन दिएकाहरूले नगरपालिकाले महिनौंसम्म आफूहरूलाई अन्योलमा परेको गुनासो गरेका छन् ।

Advertisement 1

नगरपालिकाले सूचना प्रविधि अधिकृत र रोजगार सहायक पदको लागि खोलेको विज्ञापनमा निवेदन संकलन गरेपश्चात् हालसम्म कुनै पनि सूचना नदिएको आवेदकहरूले बताए । असार ३० गते रोजगार सहायक र साउन ११ गते सूचना प्रविधि अधिकृत भर्नाको लागि १५ दिने सूचना प्रकाशित गरिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिए । उनले नगरकार्यपालिकामा तत्कालीन अवस्थामा भएको बेमेल, निर्वाचन आचारसंहितालगायत कारण कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढेको बताए । तत्काल पदपूर्ति समितिको बैठक बसेर आवश्यक निर्णय गरिने उनैले जनाएका छन् ।

यस विषयमा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले कार्यपालिकामा सहमति गरेर भर्ना प्रक्रिया अगाडि बढाउने बताएका छन् । कार्यपालिकामा अल्पमत र बहुमतको दलीय आस्थाका कारण तत्कालीन अवस्थामा बेमेल बढेको थियो । यसका साथै प्रमुख प्रशासकीय अधिकृत नयाँ ल्याउने विषयमा समेत विवाद थियो ।

Advertisement 2

नगरपालिकाका अनुसार रोजगार सहायक पदका लागि ५६ जना र सूचना प्रविधि अधिकृतमा ६ जनाको दरखास्त परेको छ । परीक्षाको तयारी गरिरहेका आवेदकहरूले भने जनप्रतिनिधिको दलीय आस्थाको लडाइँको कारण आफूहरूले लामो समयसम्म छनोट प्रक्रियामा ढिलाइको मार खेप्नुपरेको जनाएका छन् । रिक्त दरबन्दीमा कर्मचारी भर्ना हुन नसक्दा प्रशासनिक र विषयगत काममा कठिनाइ भएकोसमेत जनाइएको छ ।

प्रकाशित :२०७९ मंसिर २१, बुधबार १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry