माटो दिवस र यसको सन्देश

माटो अत्यन्त महत्वपूर्ण प्राकृतिक धरोहर हो । माटो भनेको खनिजतत्व, प्रांगारिक पदार्थ र सूक्ष्म जीवहरुको सम्मीश्रण हो । बिरुवाको वृद्धिविकासको लागि अति आवश्यक धेरै जसो तत्वहरु माटोमा नै पाइन्छ । माटोको महत्वको उजागर गर्न र सबैतिरको माटोको संरक्षण हुन सकोस् भनेर माटो दिवस मनाउन थालिएको छ ।

Advertisement 1

यो वर्षको माटो दिवस डिसेम्बर ५ मा संसारभरि भव्यताका साथ मनाइएको छ । माटोको महत्वलाई संसारभरि फैलाउने र माटोको संरक्षणमा संसारका सबै मानिसले आ–आफ्नो तर्फबाट योगदान दिन सकुन् भन्ने लक्ष्यकासाथ यो दिवस मनाउन थालिएको हो । इतिहासलाई केलाउने हो भने माटो दिवस मनाउनको लागि अन्तराष्ट्रिय माटो विज्ञान संघले सन् २००२ मा नै डिसेम्बर छ लाई सिफारिस गरेको भएता पनि २०१३ मा आएर मात्र संयुक्त राष्ट्र संघको सभाले डिसेम्बर ५ लाई माटो दिवस मनाउने घोषणा ग¥यो र २०१४ बाट संसारभर मनाउन थालियो । माटो दिवस मनाउनको लागि थाइल्याण्डका राजा भूमिबोल अदुल्यदेजको ठूलो योगदान रहेको भन्ने गरिन्छ । माटो दिवस संयोगवस उनकै जन्मदिवसको दिनमा नै पर्न गएको छ ।

यो बर्षको माटो दिवसको थिम रहेको छ, माटो जहाँबाट खानाको सुरुवात हुन्छ (Soils: Where food begins. )। हुन पनि हो हामीले खाने खाना धेरै जसो त माटो बाटै उत्पादन भएको हुन्छ । संसारमा ९४ प्रतिशत खानेकुरा माटोबाटै उत्पादन हुन्छ । माटोको गुणस्तरमा आएको कमीको कारण खानेकुरामा पाइने भिटामिन र पोषक तत्वहरु घट्दै गएको देखिएको छ । विश्वका २ खर्ब जनसंख्यामा पोषक तत्वको अभाव देखिएको छ । बढ्दो जनसंख्याको अवस्थालाई हेर्दा सन् २०५० सम्ममा कृषि उत्पादन ६० प्रतिशतले वृद्धि गर्नु परेको छ । त्यसैले माटोको सुरक्षा गर्नु भनेको हाम्रो खानेकुराको सुरक्षा गर्नु हो । माटोबाट हामीले धेरै वस्तुहरु प्राप्त गर्दछौं । यो मानिसहरुको लागि मात्र नभएर सहस्र प्राणीहरुको बासस्थान पनि हो । माटो प्राकृतिक प्रणालीको एक महत्वपूर्ण टुक्रा हो । हाम्रो वरपर रहेका पञ्च भौतिक तत्वहरु मध्ये माटो एक महत्वपूर्ण तत्व हो । यसको संरक्षणविना जैविक विविधताको संरक्षण हुन सक्दैन । जैविक विविधताको संरक्षणविना मानव जातिको अस्तित्व रहन सक्दैन । त्यसैले माटोको संरक्षण भनेकै हाम्रो आफ्नो संरक्षण हो ।
अहिले माटोको विनाश संसार भरको समस्या बनेर चुनौतीको रुपमा खडा भएको छ । यसको संरक्षणमा लाग्नु हामी सबैको कर्तव्य बनेको छ । माटो विनाश हुनुको प्रमुख कारणहरु वनको विनाश, बाढीपहिरो, प्रदूषण, विषादी र विभिन्न रासायनिक वस्तुहरुको प्रयोग, फोहोर मैलाको विसर्जन, जथाभाबी बनाइने भौतिक संरचना, शहरीकरण, खेती गर्ने नाममा माटोको अत्यधिक दोहन आदि हुन् ।
एक–दुई सेमि बाक्लो खेतीयोग्य माटो बन्न स्थान हेरेर सय वर्षदेखि केही हजार वर्षसम्म लाग्न सक्छ तर हामी मानव जातिको विध्वंशकारी क्रियाकलापले उक्त माटो केही समयमै नष्ट हुन सक्दछ । संसारभरिकै खेतियोग्य माटो अहिले धेरै नष्ट भइसकेको छ । प्रदूषण, भूक्षय, रासायनिक वस्तुहरुको प्रयोग आदिका कारण खेतीयोग्य जमीनको भरुभूमिकरण भइरहेको छ । यो क्रम रोकिएन भने मानिसहरु खानाको अभावमा धेरै मर्नसक्ने अवस्था आउन सक्छ । मानिसहरुमा माटोको महत्वप्रति चेतना जागोस् र संरक्षणमा सबैको मन जाओस् भनेर नै माटो दिवस मनाउन थालिएको हो ।

प्रकाशित :२०७९ मंसिर २०, मंगलवार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry