शासन भित्रका परजीवीहरू
शासन,राजनीति र प्रशासनको उर्वरभूमि हो । जहाँ अनेक प्रवृत्ति जन्मन्छन्,बढ्छन्,र हुर्किन्छन् । चाडक्यले आफ्नो नीतिमा यो कुरा त्यतिखेरै भनेका छन। शासनको प्रवृत्ति शुद्ध पार्न पूर्व र पश्चिममा राजनीति सिमारेखा तयार भए। यही उर्वरतामा समाजवाद ,पूँजीवाद र अनेक धर्म सम्प्रदायले शासन गर्दै गए। जसको प्रतक्ष्य प्रभाव अहिलेको विकास, समृद्धि, र गरिबीमा एकैचोटी देखिँदैछ । उपयोगितावादको परिवेशमा हाम्रो शासन भित्र अवसरवाद ,झुटतंत्र र अबिश्वासको प्रवृत्ति फरक तरिकाले बढ्दैछ। जसले जनताको राजनीति र शासन प्रतिको विश्वासलाई घटाउँदै लगेको छ। यसमा हामीमात्र दोषी छैनौ। सीमापारीको राजनीति र भूमंडीकरणको स्वार्थ यसैभित्र छिपेको छ।हाम्रो शासनले स्वीकार गरेको राजनीति भित्र सिद्धान्त छैन। बाद मात्र छ।
Advertisement 1
राजनीतिक दलहरुलाई यो विषयले चस्स दुख्न सक्छ ।किनकि उनीहरु यो मान्न तयार छैनन् । राजनीतिको एउटा दृष्टिकोण हुन्छ । लक्ष्य हुन्छ । ध्येय हुन्छ । शासन र जनतालाई हेर्ने दृष्टिकोण प्रष्ट हुन्छ। हामीकहाँ शासन सञ्चालन गर्ने राजनीतिक पार्टीहरूको दूरदर्शिता धमिलो छ। त्यसैले हलक्क बढेको राजनीतिक संस्कार र सामाजिक संजालले प्रख्यात बनाएका अनुहारहरू राजनीतिको पृष्ठभूमिमा देखिन थालेका छन्। प्रजातन्त्रको परिभाषाले यसलाई गलत मान्दैन। तर हुर्किंदै गरेको संस्कारले शासन प्रणालीलाई जनमुखी बनाउन कठिन छ।
अहिले रबि लामिछाने प्रकरण पहिलो पंक्तिमा छ । यो विगत कै शासनप्रणालीको उत्पादन हो । नयाँ होइन। शासनलाई भजाएर कतिले आफूलाई पालेका छन र, कसरी देश आजको अवस्थामा छ भन्ने अरु प्रमाण खोज्नु पर्दैन। उनका भनाइ पर्याप्त छन्। कानून बजारमा बिक्री भएको छ। खरिद र विक्रेता को को हुन् ? मोलमोलाइ पो नमिलेको हो कि ! उनको भनाइ अस्पष्ट छैन।
Advertisement 2
शासन प्रणाली दरिलो हुन राजनीति बलियो हुनुपर्छ । तर हामी सर्वोच्च अदालतको फैसला माथि शंका गर्छौ। किनकि अनेकौं फैसलाहरु शंकाबाट मुक्त छैनन् । संवैधानिक अङ्ग, प्रशासनिक निकाय, न्यायालयका निर्णयलाई फाइदा बनाएर जिविका चलाउनेहरुको संख्या बढेपछि हुने यस्तै हो । व्यापारी, उद्योगपति ,मिडियाकर्मी, प्रशासक सबै शासनबाट प्रतिफल चाहन्छन् यो प्रतिफल सर्वसाधारण जनताको घर दैलोसम्म पुगेकै छैन।सार्बजनिक पदमा नियुक्तिका फाइदा थुप्रै छन्। यहाँ अर्काको बाको श्राद्ध गर्न पाइन्छ । मैले नतिजा दिन सकिन,राजीनामा दिन्छु भन्ने कुनै मन्त्री, सचिव यहाँ भेटिदैन । तर हाम्रो सुशासन र समृद्धि कता जाँदैछ। देखेकै छौ। यि शासनका परिजीबी नभए को हुन त । तर हामी आफूलाई सधै गेम चेन्जर ठान्छौं । फौबन्जार असल कलाकार हो । नाफा र घाटा सधैभरी उसैको हातमा हुन्छ। क्रेता र विक्रेता दुवै उसका ग्राहक हुन। अहिलेको राजनीति र शासन भित्रको प्रकरण यो भन्दा फरक छैन। सबै आफ्नो ठाउँमा चुपचाप बस्ने र बेफाइदामा एकआपसको पोल खोल्ने प्रवृत्तिले शासनका परजीवीहरू झन् बढ्दै गएको भान हुन्छ ।
भ्रष्टाचार,अनियमितता,अपारदर्शिताको बिरोध गर्नेले समय कुरेर बस्दैन। हाम्रो राजनीति र प्रशासनमा एक्लो हुन चाहनेहरूको अभाव छ । जो स्वाभिमान र इमान्दारिताको भाषा बोलेर भीडमा रमाउन चाहन्छ उ परिवर्तनको वाहक हुनसक्तैन। अहिले केही स्वरहरु बिभाजित छन। मात्र केही दिनपछि एकरूपता आउने नै छ। हतारिनु पर्दैन। लेखक कृष्णलालले मकैको खेती पुस्तकमा किरा नहटाएसम्म उत्पादन बढ्दैन भनेजस्तै यी परजीवीहरूबाट शासन मुक्त नभएसम्म देश बन्दैन । यो सत्य हो। मस्तिष्कमा राष्ट्र प्रेम, दुरदर्शिता, उदारवादी राजनीति सुझबुझ नभएसम्म यस्ता घट्नाक्रम भइरहन्छन। मलजल गर्ने हामी छँदैछौ। कलाकारिता हामी थाहा नै पाउँदैनौ। अहिलेका विवादहरू मात्र नाफा र घाटाका विवाद हुन। इमान्दार ,कुशल राजनीतिज्ञ र पेसाविदहरूको विवाद यस्तो हुँदै हुँदैन । दुवै शासन प्रणालीलाई भजाएर बाँच्न चाहन्छन् । आजसम्मको हाम्रो शासन प्रणालीको दुर्गति यहि हो।