क्यानाडा र नेपालको कर्मचारीतन्त्र : प्रणाली उही तर अनुभव अनेक
Advertisement 1
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानका आधारमा क्यानाडाको कर्मचारीतन्त्र विश्वमै सबैभन्दा बढी प्रभावकारी देखिएको छ। मैले नेपालको निजामती सेवामा लगभग १६ वर्ष सेवा गर्ने मौका पाए। क्यानाडाको निजामती सेवामा काम गर्न थालेको ७ वर्ष भयो। प्रणाली उही तर अनुभव अनेक हासिल गर्ने मौका पाइएको छ।
नेपालको निजामती सेवामा जेनरलिस्टहरुलाई बढी महत्व दिइन्छ। नेपालको कर्मचारीतन्त्रमा प्रशासन सेवा हावी हुनुका साथै यो सेवाको छायाँमा अरु प्राविधिक सेवाहरु परेका छन्। संघीय कर्मचारीतन्त्रको अवैज्ञानिक पुनर्संरचना यसको ज्वलन्त उदाहरण हो।
Advertisement 2
यसका लागि न राजनीतिक नेतृत्वले आफ्नो सक्रिय भूमिका निभाए न त प्राविधिक कर्मचारीहरुका आवाज नै सुनिए। संघीय कर्मचारीतन्त्रको पुनर्संरचना गर्दा राजनीतिक ईच्छाशक्तिको ठुलो अभाव देखियो। प्रशासन सेवाका केही मानिसहरुको प्रस्तावमा विना गहन अध्ययन नेपालको राजनैतिक नेतृत्वले नेपाली कर्मचारीतन्त्रको प्रकृति र स्वरुप तय गर्न पुग्यो।
क्यानाडाको निजामती सेवा विशेषज्ञ प्रकृतिको छ। क्यानाडामा सोसल वर्कर, मेडिकल डाक्टर, डेन्टिस्ट, आँखाका डाक्टर, नर्स, शिक्षक, इन्जिनियर, वकिल, प्लम्बर, मनोविज्ञानवेत्ता, इलेक्ट्रीसियन र सेक्युरिटी प्रोफेसनल लगायत अन्य थुप्रै पेशाहरु रेगुलेटेड पेशाका रुपमा स्थापित छन्। मननयोग्य कुरो के छ भने प्रमुख जिल्ला अधिकारीजस्ता पद नै छैनन्।
Advertisement 3
सबै विषयगत कार्यालयहरुले स्वायत्त भएर आफ्नो कार्यसम्पादन गर्छन्। सेवा प्रवाह गर्दा अरु कार्यालयहरुसंग समन्वय गरेर काम गर्नु यहाँको कर्मचारीतन्त्रको विशेषता नै रहेछ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानका आधारमा क्यानाडाको कर्मचारीतन्त्रमा सबैभन्दा बढी शिक्षित कर्मचारी रहेको पाइयो। यसका साथै महिला, जनजाति र धार्मिक समुहहरुको प्रतिनिधित्व पनि त्यत्तिकै पाइएको छ।
यो अध्ययनका अनुसार क्यानाडा मानवस्रोत व्यवस्थापनका सवालमा विश्वमा तेस्रो उत्कृष्ट देशका रुपमा रहेको छ।
योग्यता प्रणालीमा आधारित कर्मचारी भर्ना क्यानाडाको विशेषता नै हो। क्यानाडामा लोकसेवा उत्तीर्ण गरे पश्चात नयाँ कर्मचारीलाई एक वर्षको परीक्षणकालमा राखिन्छ। वर्षभरी तीन ओटा पर्फर्मेन्स रिभ्यू गरेर कार्यसम्पादन सन्तोषजनक भए मात्र स्थायी हुने चलन रहेछ। तर, क्यानाडाको निजामती सेवाभित्र परीक्षणकालको अवधि भने सेवापिच्छे फरकफरक रहेको भेटियो। एक वर्ष परीक्षणकालमा राख्ने व्यवस्था त नेपालमा पनि छ तर पर्फर्मेन्स रिभ्यू गरेर स्थायी गर्ने चलन भने मेरा लागि नितान्त नयाँ थियो। किनकि नेपालमा नियुक्तिपत्रमा मात्रै एक वर्षको परीक्षणकाल भनिन्थ्यो। पर्फर्मेन्स रिभ्यू गरेर सफल र असफल उम्मेदवार भन्ने निर्णय सम्बन्धित निकायले गरेको मलाई थाहा छैन।
क्यानाडामा प्रत्येक चार महिनामा हुने पर्फर्मेन्स रिभ्यूले मलाई समय समयमा झस्काइरहन्थ्यो। वर्षको अन्तमा पर्फर्मेन्स रिभ्यू गर्ने टीमले परीक्षणकाल सन्तोषजनक भएकाले बधाई दियो। अनि स्वतन्त्र भएर कार्यसम्पादन गर्न माथिल्लो अधिकारीबाट उत्तरदायित्व सहितको अधिकार प्रत्यायोजन भयो। अनि मात्रै म ढुक्क भए। किनकि म अब यहाँको निजामती सेवामा स्थायी भएको थिए।
आर्थिक वर्षको सुरुमा प्रत्येक वर्षका लागि सबै कर्मचारीहरुले पर्फर्मेन्स सम्झौता गर्नु पर्छ। यो सम्झौता निरन्तर चलिरहने प्रक्रिया रहेछ। यस्तो खाले पर्फर्मेन्स सम्झौताले कर्मचारीको सिकाईमा ठुलो भूमिका खेल्दो रहेछ। पर्फर्मेन्स सम्झौता गर्दा कर्मचारीका सम्पूर्ण कामहरुलाई मन्त्रालयका भिजन, मिसन, उद्देश्य, नीति, कार्यक्रम र मूल्य र मान्यताहरुसंग जोड्ने चलन रहेछ। पर्फर्मेन्स सम्झौताले संगठनका बृहत्तर उद्देश्यहरु हासिल गर्न ठुलो सहयोग गर्दोरहेछ। यो भन्दा ठुलो कुरो यस खाले सम्झौताले प्रत्येक कर्मचारीको क्षमता विकासमा ठुलो भूमिका खेल्दोरहेछ।
नेपालमा कतिपय कर्मचारीहरु अहिले पनि आफ्नो मष्तिस्क खियाएर कुनै ठोस नतिजा दिन तयार छैनन्। नेपालमा वास्तविक कार्यविश्लेषणका आधारमा कर्मचारीका लागि कार्यविवरण तयार गरेर लागु गर्ने गराउने काम भएको छैन। सुरुमा कुनै पद सिर्जना गर्न र लोकसेवामा त्यसको माग पठाउने समय मात्रै झारा टार्ने कार्यविवरण तयार गरिन्छ। त्यसपछि त्यसको कार्यान्वयन गर्ने काम सधै फितलो रहेको हुन्छ।
क्यानाडामा भने यो खाले अभ्यास ठिक उल्टो छ। कुनै एउटा पदका लागि वैज्ञानिक रुपमै कार्यविश्लेषण गरेर मात्रै कार्यविवरण तयार गरिन्छ। यो कार्यविवरण अधिकार र उत्तरदायित्व सहितको हुन्छ। यो कार्यविवरण यस्तो ढंगले तयार गरिएको हुन्छ कि १ घण्टा लन्च गर्ने समय बाहेक ७ घण्टा घोटिएर काम गर्नुपर्छ। कार्यविवरणले प्रत्येक दिनका लागि तोकेको काम लन्च समय कटाएर बाकी रहेको ७ घण्टाभित्र गर्न सकिएन भने अर्को दिन त्यो काम जसरी पनि पूरा गर्नु पर्छ। नत्र कर्मचारीको कार्यक्षमता माथि नै प्रश्न खडा हुन्छ।
मेरो भोगाइ र गराइबाट म के निष्कर्षमा पुगेको छु भने नेपालको कर्मचारीतन्त्रको आकार यसले सम्पादन गर्ने कामका तुलनामा धेरै नै ठुलो रहेको छ। नेपालको निजामती सेवा केन्द्रदेखि स्थानिय तहसम्म एउटा ठुलै साम्राज्य हो भन्दा अतिसयोक्ति नहोला। देशले संघीय संरचनामा फड्को मार्दा यसको आकार घटाउने कुरोमा त छलफल पनि भएन। केन्द्रमा थोरै कर्मचारी भए पनि हुने अवस्थामा उही पुरानै खाले कर्मचारीतन्त्रलाई निरन्तरता दिने काम भयो। समावेशी र सबै सेवासमुहलाई स्वीकार्य निजामती सेवा नभएसम्म यो सिलसिला नेपालमा चलिरहनेछ। आउने दिनहरुमा पनि कर्मचारीको मनोवल अझै खस्किदै जानेछ। यसको प्रभाव सार्वजनिक सेवाप्रवाहमा कस्तो पर्ला आफै अनुमान गर्न सक्नु हुन्छरु
तर, क्यानाडाको निजामती सेवा चुस्त र दुरुस्त छ। यो संरचनात्मकरुपमा सानो रहेको छ। थोरै कर्मचारीले चलाएको पद्दति रहेछ। क्षेत्रफलका हिसावले मैले काम गर्ने प्रदेश सरकारको कार्यक्षेत्र नेपालको भन्दा तीन गुणा ठुलो छ। तर, लगभग २६ हजार निजामती कर्मचारीले सफलतापूर्वक सार्वजनिक सेवाप्रवाह गर्न सरकारलाई सहयोग गरिरहेका छन्।
राजनीति र प्रशासन एक अर्काका सहयोगी हुन्। राजनीतिले नीतिनिर्माण गर्छ भने प्रशासनले नीति विश्लेषण र कार्यान्वयन गर्छ। यिनीहरुका बीच स्पस्ट लक्ष्मण रेखा कोरिएको नभए पनि राजनीतिले प्रशासनिक र प्रशासनले राजनीतिक काममा हस्तक्षेप गर्नु राम्रो होइन।
क्यानाडाको कर्मचारीतन्त्रमा राजनीति र प्रशासनको सिद्दान्तलाई व्यवहारमा कार्यान्वयन गरेको देखियो। निजामती कर्मचारीले नीतिनिर्माणका लागि राजनीतिलाई सूचना उपलव्ध गराउछ भने राजनीतिले नीति र कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीतन्त्रका लागि आवश्यक पर्ने स्रोतसाधन उपलव्ध गराउछ। नीति विश्लेषणका लागि प्रत्येक मन्त्रालयमा नीति विश्लेषक छन् जो पोलिसी स्टडिजमै विश्वविद्यालयबाट स्नाकोत्तर हुन्छन्।
व्यवहारमा नेपालको कर्मचारीतन्त्रमा कर्मचारीले नीतिनिर्माण गर्छन् भने राजनीतिले कर्मचारीको सरुवा र वढुवामा रुचि राख्छ। सम्वन्धित क्षेत्रका विज्ञ मन्त्री नभएर यो स्थिति आएको देखिन्छ। नेपालमा राजनैतिक कार्यकर्ता र तिनका नेताहरुले कर्मचारीतन्त्रमा हस्तक्षेप गर्ने काम गर्छन भने क्यानाडाको कर्मचारीतन्त्रमा राजनीतिको हस्तक्षेप नगन्य छ। हस्तक्षेप हुन गए सार्वजनिक बहसको विषय बन्न पुग्छ।
७ वर्षको जागिर अवधिभर आजसम्म एउटा नेता तथा कार्यकर्ताले कार्यालयमा आएर यो काम गरी दिनु पर्यो भनेर दवाव दिएको न सुनेको छु न देखेको छु। न कुनै नेता तथा कार्यकर्ताले दवाव दिन कार्यालयलाई फोन गर्छन। कर्मचारीतन्त्रले बिना दवाव र भनसुन आफ्नो गतिमा काम गरिरहेको हुन्छ। जनता पनि कुनै नेता तथा कार्यकर्तालाई च्यापेर कार्यालयमा आउदैनन। तर, कुनै काम नभैरहेको अवस्थामा सेवाग्राहीले सम्बन्धित विभागीय मन्त्रीकहाँ गुनासो भने गर्छन्। यस्तो स्थितिमा समयमै निश्चित प्रक्रिया र माध्यमबाट समस्याको समाधान गर्ने चलन रहेको छ।
काममा धरै व्यस्त छु भन्ने वहाना बनाएर यत्रतत्र घुमिरहेका कर्मचारीको जमात नेपालमा ठुलै छ। कर्मचारी युनियनमा लागे पछि थोरै वा कामै नगरे पनि हुन्छ भन्ने संस्कार व्याप्त छ। हाकिमहरुले कर्मचारी युनियनमा लागेकाहरुलाई काममा लगाउन त्यति सजिलो छैन। हाकिमहरुले युनियनका पदाधिकारीहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न उपयोग गरेको पनि देखिन्छ। किनकि युनियनका पदाधिकारीहरु सत्ताका नजिक हुन्छन्। उच्चपदस्थ कार्मचारीले आफुलाई सचिव बनाउन वा अन्य महत्वपूर्ण जिम्मेवारीका लागि युनियनका पदाधिकारीहरुलाई गुहार्नु नेपालमा सामान्य नै हो। यस्तो अवस्थामा उच्चपदस्थहरुले नेपालको निजामती सेवामा कसरी थिति बसाउन सक्षम होलान् आफै अनुमान गर्न सक्नु हुन्छ।
क्यानाडामा नेपालको जस्तो अवस्था छैन। राजनीतिक पार्टीपिच्छे कर्मचारी संघसंगठन छैनन्। एउटा युनियन हुन्छ जसले कर्मचारीका हकहितका लागि सरकारसंग सामुहिक सौदावाजी गर्छ। अपवाद बाहेक कुनै जुलुस, सभा र सम्मेलन गर्दैनन्। कुनै राजनीतिक पार्टीसंगको सम्वन्धन पनि हुदैन। कार्यालयबाट विषयगत प्रतिनिधित्वका लागि युनियनले अनुरोध गर्छ। यसका लागि तछाडमछाड नै हुदैन। कतिले त आफ्नो ईच्छा नै जाहेर गर्दैनन्।
कार्यालयमा भएका युनियनका प्रतिनिधिको काम भनेको स्थानिय सबै कर्मचारीहरुका विचारका आधारमा सरकारसंग सामुहिक सौदावाजी गर्न आवश्यक पर्ने सूचना उपलव्ध गराउनु हो। यसकासाथै कुनै जटिल विषय छ भने ईमेलमार्फत युनियनका पदाधिकारीहरु सबै कर्मचारीबाट उनीहरुका रायसुझाव संकलन गर्छन्। यसैका आधारमा सरकारसंग सामुहिक सौदावाजीका लागि आफ्नो नीति तय गर्छन्। कार्यालय समयमा कर्मचारीहरुले राजनीतिको ुरु पनि उच्चारण गर्दैनन्। यस किसिमका गतिविधि गर्ने संस्कार नै छैन।
नेपालका हाकिमहरु आफ्ना कर्मचारीको सुक्ष्म व्यवस्थापन (Micro Management) गर्न खप्पिस छन्। एउटा कार्यालय प्रमुखलाई आफ्नो कार्यालयमा एउटा लेखापाल, एउटा स्टोरकिपर, एउटा पियन र एउटा ड्राइभर भए पुग्छ । यसका साथै अदृश्य रुपमा भ्रस्टाचारका लागि मन मिल्नेहरुको एउटा समूह बनाउने कार्य पनि सामान्य नै मानिन्छ। कार्यालय प्रमुखको बोलीमा लोली मिलाउनेहरु यस्तो खाले समुहमा समावेश हुन्छन भने यो खाले काम गर्न नचाहनेहरु या त किनारा लाग्छन या हाकिमले विभिन्न खाले बहाना बनाएर उनीहरुको सरुवा गरी दिन्छ। यसरी एउटा कर्मचारी आफ्नै कार्यालयमा बहिस्करणमा पर्यो भने सेवाप्रवाहको गुणस्तर कस्तो होला हामी सहजै अनुमान गर्न सक्छौ। यसै गरी नेपालका सवालमा यो सुक्ष्म व्यवस्थापनले भ्रस्टाचारलाई संस्थागत गर्न ठुलो भूमिका खेलेको छ।
क्यानाडामा टिमलिडरले कहिले पनि आफ्ना टिममा भएका कार्मचारीहरुलाई सुक्ष्म व्यवस्थापन गर्ने चेस्टा गर्दैन। कसैले यस्तो खाले चेस्टा गरे पनि ऐननियमले समाउछ। कार्यालयको नेतृत्वले कही कतै यो भैरहेको छ कि भनेर नजिकबाट अनुगमन गर्ने गर्छन्। यो उनीहरुको नियमित काम हो।
अधिकारका लागि नेपालको जस्तो हाकिमको मुख ताकिरहनु पर्दैन। किनकि कार्यविवरणमै कार्मचारीले अभ्यास गर्न पाउने अधिकार र उत्तरदायित्वको स्पस्ट व्यवस्था गरिएको हुन्छ। कर्मचारीको कार्यविवरण, अधिकार र उत्तरदायित्वलाई कानूनमै व्यवस्था गरिएकाले नेपालको जस्तो हाकिमहरुले तलमाथि र यताउता गर्न पाउदैनन्। कार्यालयको नेतृत्वबाट मासिक स्टाफ वैठकमै’हाकिमलाई होइन सेवाग्राहीलाई खुशी पार्नुस भन्ने संदेश प्रवाह हुन्छ। यो यहाँको कर्मचारीतन्त्रको संस्कार नै हो भन्दा हुन्छ।
क्यानाडाको कर्मचारीतन्त्रमा कर्मचारीले काम गर्दा सेवाग्राहीवर्गलाई अति नै सम्मान दिनु पर्छ। सेवाग्राहीका आवाज र आवश्यकतालाई ध्यान दिन सकिएन भने उनीहरुका गुनासा सुन्न त्यस्तै खाले संयन्त्र छन्। यसैले प्रत्येक कर्मचारी सेवाग्राहीप्रति सधै जवाफदेही हुन्छ। सेवाग्राहीलाई आजको सेवा आजै दिनु पर्छ र भोलि भन्ने नै हुदैन। भोलि भन्नु पर्ने स्थिति आयो भने उचित र पर्याप्त कारण दिनु पर्छ। सेवाग्राही कार्यालयमा आओस् वा कर्मचारीले सेवाग्राहीकै घरमा जानुपरोस् कर्मचारीले पहिले नै सेवाग्राहीलाई भेट्ने समय निश्चित गर्नु पर्छ।
नेपालमा सेवाप्रवाह्का सन्दर्भमा एउटा कर्मचारी त्यही अडान लिन्छ जुन उसको स्वार्थसंग जोडिएको हुन्छ। नेपालको निजामती सेवाले सेवाग्राहीलाई सम्मान गर्न नसकेकै कारण आफु पनि सम्मानित हुनसकेको छैन। सेवाग्राहीको काम गर्न भोलिभोलि भन्ने संस्कार व्याप्त छ। कुनै बहाना बनाएर पैसा असुल्ने काम सामान्य नै हो। सेवाप्रवाहलाई सेवाग्राहीका लागि सजिलो वनाउला भनेर कर्मचारी भर्ना गरिन्छ। तर, व्यवहारमा सेवाग्राहीको काम गर्न कार्मचारी नै वाधक बन्छ जुन नेपालको कर्मचारीतन्त्रको तितो सत्य हो। सेवाग्राहीले अनुनय विनय गरेर वा पैसा खुवाएर कर्मचारीबाट काम लिनु पर्ने अवस्था विद्यमान छ।
क्यानाडाको कर्मचारीतन्त्रमा नेपालको भन्दा भिन्न कार्यसंस्कृति रहेछ। सिद्धान्तमा कर्मचारीमा नागरिक व्यवहार हुनु पर्छ भन्ने पढेको थिए। क्यानाडाको कर्मचारीतन्त्रले यसलाई व्यवहारमा उतारेको पाए। उदाहरणका लागि कार्यालयप्रमुख र अरु कर्मचारीहरु पालैपालो कार्यालयमा रहेको भान्सा र भाडाकुडा सफा गर्ने काम गर्छन्। अरुले प्रयोगमा ल्याएका भाडाकुडा कार्यालयप्रमुखले सफा गरेको देख्दा नेपालको सम्झना आउछ जहाँ कार्यालयप्रमुखले यस्तो नागरिक व्यवहार देखाएको बिरलै पाइन्छ। मेरा लागि यो अनुभव नितान्त भिन्न थियो। किनकि नेपालमा यी सबै काम पियन वा ड्राइभरले गर्ने चलन छ। यहाँसम्म कि पियन वा ड्राइभरले कर्मचारीको खाना पनि उसको टेबुलमै लिएर जाने चलन छ। पियन, बगैचे, चालक र कम्प्युटर अपरेटर भन्ने पद नै हुदैनन्। आफ्नो सम्पूर्ण काम जस्तैस् फोटोकपी गर्ने, आफ्नो टेबुल सफा गर्ने, फ्याक्स गर्ने, टाइप गर्ने, डाटा इन्ट्री गर्ने र गाडी चलाउने सबै स्वयम् कार्मचारीले गर्नु पर्ने रहेछ। सुरुमा गारो भए पनि अहिले आएर यो संस्कारलाई आफ्नो जीवनको अभिन्न अंग बनाउन सफल भएको छु।
मेरो कार्यप्रकृति अनुसार मैले ५०% समय फिल्डमा बिताउनुपर्छ। किनकि यहाँ कर्मचारीले सेवा दिन सेवाग्राही कहाँ पुग्नु पर्छ। तर, यहाँ कार्यसम्पादन गर्न कार्यालय प्रमुखलाई समेत व्यक्तिगत रुपमा गाडी दिइदैन। न त दैनिक भ्रमणभत्ताको व्यवस्था छ। किनकि काममा गएर कार्यालयको समयभित्र फर्केर आउने गरी सेवाक्षेत्र बिभाजन गरिएका छन्। सरकारी सबै गाडीहरु पुलमा राखिएका हुन्छन्। सेवाग्राहीलाई भेट्न जानु पर्यो भने कर्मचारीले गाडी बुक गर्नु पर्छ।
फिल्डमा जादाँ र कामबाट फर्किदा लगबुक भर्नु पर्छ। गाडी ड्राइभ आफैले गर्ने हो र ग्यासको ट्यांकी दुई तिहाई भन्दा तल गयो भने आफैले ग्यास भर्नु पर्छ। यो नीति नै हो जसको पालना सबै कर्मचारीले गर्नु पर्छ। यी काम गर्न सम्पूर्ण कागजपत्र गाडीमै हुन्छन्। कार्यालय समय बाहेक अरु समय सरकारी गाडी प्रयोग गर्न पाइदैन। सरकारी गाडी अन्तै लगेको थाहा हुन्छ किनकि प्रत्येक गाडीमा जिपिएस जडान भएको हुन्छ। काम सकेपछि गाडी सधै पार्किङ्ग लटमा पार्क गर्नु पर्छ। महिनाको अन्तमा यस्तो लगबुकको लेखापरीक्षण हुन्छ। सरकारी स्रोतसाधनको प्रयोग मितव्ययी ढंगले गर्नुपर्छ भन्ने क्यानेडियन कर्मचारीतन्त्रको विशेषता नै रहेछ। जनताको ट्याक्स मनीको दुरुपयोग गर्न हुदैन भन्ने बलियो मान्यता रहेको छ।
नेपालमा सरकारी गाडीको कति दुरुपयोग हुन्छ त्यो त जगजाहेर नै छ। सरकारी गाडी व्यक्तिगत प्रयोगमा ल्याउने चलन नै भएको छ। कर्मचारी मात्रै होइनन्, कर्मचारीका परिवारजन पनि सरकारी गाडीको दुरुपयोग गर्दछन्। व्यक्तिगत प्रयोगका लागि पेट्रोल पनि सरकार कै र गाडी पनि सरकार कै प्रयोगमा ल्याउनु नेपाली कर्मचारीतन्त्रको संस्कार नै भएको छ। नेपालमा कर्मचारीले सरकारी सम्पती घरमा लैजाने र प्रयोगमा ल्याउने चलन पनि आम हुदै गएको पाइन्छ।
अपवादलाई छाडेर क्यानेडियन कर्मचारीको मस्तिस्कमा घुस भन्ने कुरो नहुदोरहेछ। सेवाग्राही नै सम्प्रभु हो भन्ने मनमा राखेर काम गर्छन्। यसो हुनुमा यहाँको समाज र शिक्षाप्रणालीले ठूलो भूमिका खेलेको छ। विद्यालयमा नागरिक शिक्षाको स्थिति बलियो छ। विद्यालयले नै असल नागरिक उत्पादन गरे पछि भ्रस्टाचार गर्ने, सेवाप्रवाह गर्दा भोलिभोलि भन्ने, सेवाग्राहीलाई प्रकियामा अल्झाउने, सेवाप्रवाह गर्दा जटिल र अप्ठ्यारो अवस्था सिर्जना गर्ने काम कर्मचारीबाट हुदोरहेनछ। यसका अतिरिक्त राज्यप्रणालीमा मुहानको रुपमा रहेको राजनीति नै स्वच्छ भए पछि भ्रस्टाचार हुने कुरो नै भएन।
कर्मचारीले सेवाग्राहीलाई सेवा पुर्याउदा अति खुसी हुने चलन रहेछ। कर्मचारीले आफ्नो खुसी सेवाग्राहीको सन्तुस्टीमा खोज्ने परम्परा नै रहेछ। क्यानाडाको सरकारी जागिरको ७ वर्षको अवधिमा कुनै पनि कर्मचारीले घुस लिएको वा लिने चेस्टा गरेको मलाई थाहा छैन। यहाँसम्म कि कर्मचारीले भ्रस्टाचारको कुरो नै गर्दैनन्। सेवाग्राहीले पनि कर्मचारीको ठूलो सम्मान गर्छन्। कर्मचारीका लागि सेवाग्रहीसंग कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सम्बन्धित निकायले निश्चित प्रोटोकल नै बनाएका हुन्छन्।
नीतिमा उल्लेख भए पनि नेपालमा सेवाग्राहीलाई अहिले पनि सम्प्रभुका रुपमा व्यबहार गर्न सकिएको छैन। कर्मचारी मालिक र सेवाग्राही सेवकका रुपमा छन्। कर्मचारीले जति नै रुखो र टर्रो व्यवहार गर्दा पनि सेवाग्राही चुप लागेर बस्छन। कसैले आवाज नै उठाउदैनन र उठाए पनि कसैले सुन्नेवाला छैन। जुन सम्मान र पहिचान नेपालका कर्मचारीहरुले सेवाग्राहीलाई दिनु पर्ने हो त्यो अझै दिन सकिएको छैन। यो पनि अख्तियारको दुरुपयोग हो। यसका कारण नेपालको कर्मचारीतन्त्र कोमामा जान मात्रै बाँकी छ। क्यानेडियन कर्मचारीतन्त्रका आधारमा के भन्न सकिन्छ भने नेपालको कर्मचारीतन्त्रले सेवाग्राहीलाई सम्प्रभुका रुपमा जबसम्म सम्मानजनक व्यवहार गर्दैन तबसम्म नेपालले समृद्धि र सुशासनको अनुभूति गर्न मुश्किल नै छ।
कर्मचारीतन्त्रको एउटा महत्वपूर्ण विशेषता यो अवैयाक्तिक हुन्छ भन्ने हो। क्यानाडाको कर्मचारीतन्त्रले यसलाई व्यवहारमा उतारेको छ। तर, नेपाली कर्मचारीतन्त्रमा चाकरी, चाप्लुसी, भनसुन र आफ्नो मान्छेका आधारमा सेवाप्रवाह हुनु सामान्य नै हो। जसको पहुँच हुदैन उसको काम समयमा हुदैन। उसले आफ्नो काम गर्न कार्यालयमा जाँदा सम्मानसमेत पाउदैन। यसका विपरित कसैले चाकरी, चाप्लुसी र भनसुन गर्न सक्यो भने आफ्नो काम फत्ते गर्न सफल हुन्छन्। आफ्नो मान्छे पर्यो भने सेवा समयमै दिइन्छ। आफ्नो मानिस पर्यो भने कर्मचारीले आफ्नो मान्छेलाई चिया र खाजासमेत खुवाएर पठाउने चलन छ। व्यवहारमा नेपालको कर्मचारीतन्त्र वैयक्तिक छ भन्दा कसैले अस्वीकार गर्दैन होला।
निर्णयप्रक्रिया जति छिटोछरितो हुन्छ त्यत्तिनै सार्वजनिक सेवाप्रवाह गुणस्तरीय हुन्छ। यसका लागि निर्णय प्रक्रियाहरु पनि चुस्त र दुरुस्त हुनु पर्छ। नेपालको कर्मचारीतन्त्रमा कुनै निर्णय गर्नु पर्यो भने टिप्पणीले विभिन्न तह भएर गुज्रिनुपर्छ। धेरै समय लाग्छ। ढिलासुस्ती हुन्छ। टिप्पणी स्वीकृत गर्दा कर्मचारीको व्यक्तिगत स्वार्थसमेत जोडिएको हुन्छ। अहिले पनि पेपर फाइलकै चलन छ। इलेक्ट्रोनिक फाइल प्रणाली विकास गरेर प्रयोगमा ल्याउन सकिएको छैन।
क्यानाडाको कर्मचारीतन्त्र पेपरलेस भैसकेको छ। निर्णय गर्न झन्झटिला लामा प्रक्रियाहरु छैनन्। पेपर फाइलको सट्टा इलेक्ट्रोनिक फाइलहरु अनलाइन व्यवस्थित गर्नु पर्ने हुन्छ। सम्पूर्ण अभिलेख अनलाइन राखिन्छ। त्यही अनुसार सफ्टवेयर विकास गरिएका छन्। सम्पूर्ण मन्त्रालयका सफ्टवेयर नियन्त्रण र व्यवस्थापन गर्न एउटा साझा सरकारी आइटी डेस्क छ।
सुपरिवेक्षक वा कार्यालय प्रमुख वा रिजनल डाइरेक्टर वा मन्त्रालयबाट कुनै निर्णय गराउनु पर्यो भने ईमेलका भरमा हुन्छ। धेरैजसो निर्णय त कर्मचारी आफैले गर्छन किनकि कार्यविवरणमै अख्तियारी र उत्तरदायित्वको प्रत्यायोजन गरिएको हुन्छ। फोन र टेक्स्ट मेसेजकै भरमा पनि सुपरिवेक्षक वा कार्यालय प्रमुखले निर्णय दिन्छन्। यसले गर्दा सेवाग्राहीले समयमै सेवा पाउन सफल हुन्छन्।
नेपालको जस्तो दैनिक भ्रमण भत्तामा खर्च हुदैन। कर्मचारीको सरुवा पनि बिरलै हुन्छ। सकेसम्म स्थानीयलाई नै भर्ना गर्छन। वैदेशिक तालिम पनि त्यति हुदैनन्। कर्मचारीको पेशागत विकासका लागि अनलाइन ईकोर्स विकास गरेका छन्। कर्मचारी आफ्नै गतिमा ती तालिमहरु लिन्छन्। फेस टु फेस तालिम त कहिलेकाही मात्रै लिनु पर्छ। काम गर्दागर्दै कर्मचारीहरुले आफ्नो क्षमता विकास गरिरहेका हुन्छन्। Appreciative Inquiry र Reflective मार्फत सरकारी काममा निरन्तर सुधार क्यानाडाको कर्मचारीतन्त्रको मूल्य र मान्यता नै हो।
नेपालमा कर्मचारीहरुले वैदेशिक तालिम धेरै लिन्छन्। ठुलो धनराशी वैदेशिक तालिममा खर्च हुन्छ। आवश्यकता पहिचान बिनाका तालिमले कार्यसम्पादन गर्दा अन्योल मात्रै सिर्जना गरेको पाइन्छ। वैदेशिक तालिमको अवसरका लागि हानथाप नै हुन्छ। चर्को राजनीतिक हस्तक्षेप पनि हुन्छ। मौका पाउनेले सधै वैदेशिक तालिमको अवसर पाउछ भने नपाउनेले कहिले पनि वैदेशिक तालिमको अवसर पाउदैन। जसले हाकिमलाई फाइदा पुर्याउने काम गर्छ उसले त सधै वैदेशिक तालिमको मौका पाएका धेरै उदाहरणहरु छन्।
नेपालको कर्मचारीतन्त्रमा सरुवा भएर आउने कर्मचारीको स्वागत, सरुवा भएर जाने कार्मचारीको बिदाइ र सम्मान गर्ने चलन रहेको छ। यसरी सेवाप्रवाह गर्ने समय यस्ता खाले गतिविधिमा लगाउनु भनेको जनताले तिरेको करको दुरुपयोग हो। यसका फलस्वरूप एउटा कर्मचारीले आफ्नो कार्यविवरण अनुसारको काम समयमै कसरी सम्पादन गर्न सक्ला ?
क्यानाडाको हकमा यो अभ्यास फरक छ। कुनै नयाँ कर्मचारी कार्यालयमा हाजिर हुन आएमा कार्यालय प्रमुखले सबै कर्मचारीलाई ईमेल गरेर फलानो कर्मचारी आज हाजिर भएको छ। उसको कोठा नम्बर फलानो हो र समय पाउनु भयो भने उसलाई भेटेर आफ्नो परिचय दिदै सहकर्मीलाई स्वागत गर्नु होलाु भनेर भनिन्छ। न कुनै कार्यक्रमको आयोजना गरिन्छ न अबिर जात्रा हुन्छ। न त कसैले भाषण नै गर्छ। यो सबै कर्मचारीका हकमा लागु हुन्छ। बिदाईमा पनि यस्तै गर्ने चलन छ। सम्मान लिने र दिने कार्यक्रम त अहिलेसम्म आयोजना भएको मेरो जानकारीमा छैन।
नेपालमा राजनीति र कर्मचारीतन्त्रले सार्वजनिक खर्च कसरी गर्छन भन्ने कुरो सेवाग्राहीलाई थाहा नै हुदैन। राजनीति र कर्मचारीतन्त्रको केही अदृश्य शक्तिकेन्द्रहरुसंग साठगाठ हुन्छ रे ! यदि यस्तो हो भने यिनीहरुले सरकारको सार्वजनिक खर्चलाई कसरी प्रभावित गर्छन ? किन यस्तो भैरहेको छ ? जनताको कर वा विदेशीले दिएको दान वा ऋणमाथि राजनीति र कर्मचारीतन्त्रले यस्तो गर्न पाउछ त ?
मेरो अनुभवमा क्यानाडाको कर्मचारीतन्त्रमा अदृश्य शक्तिकेन्द्रहरुको अस्तित्व छैन। निश्चित मापदण्डका आधारमा सरकारले जो जो मार्फत सरकारी पैसा खर्च गर्छ सबैलाई नियमित गरेको छ। सेवाग्राहीलाई पैसाका रुपमा सामाजिक सहयोग दिनु पर्यो भने सम्बन्धित सेवाग्राहीको बैंक खातामा उसले पाउने पैसा सम्बन्धित कार्यालयले डाइरेक्ट डिपोजिट गरिदिन्छ।
कुनै सेवाग्राहीले पैसाको दुरुपयोग गर्छ भने उसलाई भौचर उपलव्ध गराइन्छ जसमा सुर्ती, सिगरेट र मदिराजस्ता चिजहरु किन्न र बेच्न कानूनले नै बन्देज लगाएको हुन्छ। जुन प्रयोजनका लागि भौचर दिइएको हो सोही प्रयोजनका लागि प्रयोग गर्नु पर्छ। पसलले पनि भौचरमा उल्लेखित वस्तु मात्रै सेवाग्राहीलाई दिनु पर्छ। त्यो भौचर अनुसारको पैसा पसलले सरकारी कार्यालयमा भुक्तानीका लागि बिलसहित दावी गर्नु पर्छ। अनि कार्यालयले पैसा पसलेको बैंक खातामा डिपोजिट गरिदिन्छ।
दृढ राजनीतिक ईच्छाशक्तिकासाथ नेपालले देहायका पाइला चाल्न सक्यो भने नेपालको कर्मचारीतन्त्रमा आमूल परिवर्तन सम्भव छ :
पहिलो, कस्तो खाले निजामती सेवा देशका लागि आवश्यक छ भन्ने कुरोको निर्णय राजनीतिले गर्नु पर्छ। राजनीतिक ईच्छाशक्तिको अभावमा यो सम्भव छैन। निजामतीका उच्चपदस्थहरुले त आफु र निजामती सेवामा काम गर्ने कर्मचारीका स्वार्थका लागि मात्रै काम गर्नु स्वाभाविक हो भन्ने कुरो त संघिय निजामती सेवाको पुनर्संरचनामा छर्लंग भएको होइन र ? राजनीतिक ईच्छाशक्तिको अभावले गर्दा नेपालका उच्चपदस्थ कर्मचारीहरुले राजनीतिलाई खेलौना बनाएका कारण नेपालको निजामती सेवामा आमूल परिवर्तन गर्न नसकिएको तथ्यलाई नेपालको राजनीतिले अब पनि बुझ्न सकेन भने नेपालको निजामती सेवाको सुधारका लागि प्याराडाइम शिफ्ट हुन सम्भव छैन।
दोस्रो, नेपालमा एउटा कर्मचारीबाट प्रत्येक दिन उसको कार्यविवरणका आधारमा अधिकतम काम लिन सक्ने हो भने अहिलेको कर्मचारी संख्यालाई आधामा घटाउन सकिन्छ। यसो गर्दा सरकारले ठुलो धनराशी बचाउन सक्छ। कर्मचारीको क्षमतालाई अधिकतम उपयोग गरेर नतिजा दिन नसक्नु नेपाली कर्मचारीतन्त्रको समस्या हो। नेपालको निजामती सेवामा काम गर्दा मलाई काम गर्ने कर्मचारी भनेर भन्थे। तर, म पनि कामचोर रहेछु किनकि क्यानाडाको निजामती सेवामा काम गर्दा मैले के अनुभव गरे भने क्यानाडाको तुलनामा मैले नेपालमा २५ % मात्रै काम गर्दो रहेछु।
वेलायती प्रधानमन्त्री म्याडम थ्याचरले निजामती सेवाभित्र व्यवस्थापन सुधारमा ध्यान दिनुको सट्टा सिधै निजामती सेवाले हासिल गर्नुपर्ने विशिष्ट उद्देश्यहरु तोकेर बेलायतको निजामती सेवालाई सानो आकारको बनाउन सफल भइन। यो कुनै जटिल प्रक्रिया थिएन। तर प्रधानमन्त्रीको दृष्टिकोणले त्यो बेला राम्रै काम गरेको थियो। प्रधानमन्त्री म्याडम थ्याचर निजामती सेवालाई सानो बनाउने भन्ने आफ्नो अडानप्रति प्रतिवद्ध थिइन्। यसका कारण उद्देश्य हासिल गर्न सफल पनि भइन्। तर नेपालको राजनीतक नेतृत्वले राजनीतिक ईच्छाशक्ति नै परिवर्तनको मियो हो भन्ने कुरा किन व्यवहारमा उतार्न सकिरहेको छैन ?
त्यसैले नेपालको कर्मचारीतन्त्रमा कार्यरत कर्मचारीको काम र संख्यालाई चुस्त र दुरुस्त बनाउन सकियो भने मात्रै सार्वजनिक सेवा प्रवाहमा परिवर्तन र गुणस्तरको अनुभूति गर्न सकिन्छ होला। यो मात्रै एउटा समाधान हो जसलाई नेपाल सरकारले गम्भीरताकासाथ लिनुपर्ने हुन्छ। यसका लागि राजनीतिक ईच्छाशक्ति, प्रतिवद्धता र ईमान्दारिता चाहिन्छ।
तेस्रो, सम्प्रभुका रुपमा रहेका सेवाग्राहीवर्गलाई मालिक सम्झेर सार्वजनिक सेवाप्रवाह गर्नु पर्ने मूल्य र मान्यता स्थापित गर्नु नेपालका लागि अहिलेको आवश्कता हो। नेपालको कर्मचारीतन्त्रमा कर्मचारी मालिक र सेवाग्राहीवर्ग सेवकका रुपमा रहेका छन्।
अहिले नेपालमा यस्तो राजनीतिज्ञको खाचो छ जसले देश र जनताका हितमा हुने गरी नेपालको निजामती सेवालाई सानो आकारमा घटाउन सफल हुन् सकोस्। नेपालको कर्मचारीतन्त्रको आमूल पुनर्संरचना आवश्यक छ तर यो सुधार कर्मचारीको सुझावका अधारमा होइन किनकि केही वर्ष अघि कर्मचारीतन्त्रको सुझावमा गरिएको कर्मचारीतन्त्रको पुनर्संरचनाले गर्दा अहिले देश ठप्प भएको छ। आकार सानो बनाउनु पर्नेमा झन् ठुलो बनाइयो । यसका साथै देशका विकासका लागि मेरुदण्डका रुपमा रहेका प्राविधिक सेवाहरुलाई मानमर्दन हुने गरी निजामती सेवाको पुनर्संरचना गरियो।
नेपालका उच्चपदस्थ कर्मचारीहरुले स्पस्टरुपमा भन्न सक्नुपर्छ कि वास्तवमा नेपालको निजामती सेवालाई डाउनसाइज गर्नुपर्छ। यसबाट देश र जनताको हित हुनेछ।
चौथो, नेपालका राजनीतिकर्मीहरुले चुनावताका नेपालको कर्मचारीतन्त्र जुम्सो छ,यसले जनताको करबाट उठेको पैसाको सदुपयोग गर्न सकेको छैन भनेर आफ्ना राजनीतिक सभा सम्मेलनमा उठाउने गरेको पाइए पनि सत्तामा गए पछि अर्कै गीत गाउने चलन नै भएको छ। राजनीतिले यो दुईजिब्रे संस्कारको अन्त्य गर्नु पर्छ। राजनीतिमा ईच्छाशक्ति भयो भने परिवर्तन सम्भव हुदो रहेछ। वेलायतमा म्याडम थ्याचर प्रधानमन्त्री भएर आउने वित्तिकै उनले वेलायतको कर्मचारीतन्त्रमा कुनै पनि पद सिर्जना नगर्ने नीतिगत निर्णय लिनु भयो। यसकासाथै रिक्त पदमा समेत कर्मचारी भर्ना नगर्ने नीति अख्तियार गर्न पुगिन।
कर्मचारीतन्त्रले सिफारिश गरेको कर्मचारी भर्ना र पद सिर्जना प्रस्ताव समेत खारेज गर्न पुगिन्। त्यो बेलाको वेलायती कर्मचारीतन्त्रको तर्क के थियो भने यदि कर्मचारी भर्ना र पद सिर्जना गरिएन भने सार्वजनिक सेवा प्रभावकारी हुन सक्दैन। तर प्रधानमन्त्री म्याडम थ्याचरले तुरुन्तै १५ % ले वेलायतको कर्मचारीतन्त्रलाई घटाउन निर्देशन नै दिइन्। जब म्याडम थ्याचरको प्रधानमन्त्रीको कार्यकाल सकियो तब वेलायतको कर्मचारीतन्त्र आकारमा २२ ले सानो भएको थियो।
पाचौ, सरकारका नीति र कार्यक्रम कार्यान्वयन गर्न दक्षता र सामुहिक स्वार्थको सुनिश्चित गर्नु निजामती सेवाको काम हो। निजामती सेवाले प्रणाली र सामुहिक स्वार्थका लागि जति नै दावी गरे पनि यसलाई पुष्टि गर्ने आधार अहिलेसम्म देखिएका छैनन्। कर्मचारीतन्त्रका बारेमा जानकारी राख्नेहरु अहिलेको अवस्थामा नेपालको निजामती सेवामा आमूल परिवर्तनको खाचो रहेको तथ्यलाई स्वीकार गर्न हिच्किचाउदैनन। धेरैको विश्वास के रहेको छ भने काठमान्डूमा रहेको सिंहदरबार र गाउँगाउँमा खडा भएका साना सिंहदरबारहरु देश र जनताका लागि असान्दर्भिक भैसकेका छन्। त्यसैले नेपालको निजामती सेवालाई कसरी सेवाग्राहीमुखी बनाउन सकिन्छ भन्ने विषयमा राजनीतिले गम्भीर भएर सोच्नुपर्छ।
छैटौ, सिंहदरबारहरु किन असान्दर्भिक हुदैछन त ? १९६० र १९७० को दशकमा विश्वमै निजामती सेवाले एउटा समतामूलक समाजको सिर्जना गर्छ भन्ने विश्वास गरिएको थियो। तर त्यो आजका दिनसम्म दुनियामा कुनै पनि देशले हासिल गर्न सकेका छैनन्। कोही कोही देश यसको नजिक भने पुगेका छन्। वास्तवमा यस्ता प्रमाणहरु देखिएका छन् कि हाम्रो समाजमा झन् असमानता बढेर गएको देखिन्छ। पश्चिमा लोकतन्त्रमा पनि यो असमानता अझै बढेर गएको देखिन्छ। यो अवस्था वेलायत र अमेरिकामा पनि देख्न सकिन्छ। यो असमानता जनताको आम्दानी, स्वास्थ्य, शिक्षा र जीवनमा पाउनु पर्ने अवसरहरुमा समेत देखिएको छ। क्यानाडामा पनि पहिले धनी र गरीबका बीचको असमानता ८:१ थियो भने अहिले यो बढेर १०:१ भएको छ। यो अवस्थालाई ध्यानमा राखेर नेपालको निजामती सेवामा आमूल सुधार गर्नु पर्छ। यो काम राजनीतिको हो। नेपालको राजनीतिले राजनैतिक ईच्छाशक्ति देखाउन सक्नु पर्छ।
सातौ, नेपाली कर्मचारीतन्त्रका उच्चपदस्थहरु समस्याको बारेमा कुरा त गर्छन, तर त्यसका कारणहरुका बारेमा बिरलै मात्र राजनीतिलाई जानकारी गराउछन्। अर्कोतिर राजनीतिले गरेका गलत कार्यहरु पनि महालेखाको प्रतिवेदनमा कर्मचारीले गर्दा भएको भन्ने भाषा राखेर नेपालको कर्मचारीतन्त्रलाई बद्नाम गर्ने काम हुन्छ। समस्याको पुरै कथा कहिले पनि सार्वजनिक नहुनु दुर्भाग्य नै हो। त्यसैले यो समस्याबाट मुक्ति पाउन पनि राजनीतिक ईच्छाशक्ति नै चाहिन्छ। त्यो पनि ईमान्दार राजनीतिक ईच्छाशक्ति जसले आर्थिक, प्रशासनिक र सूचनाको दुरुपयोगलाई रोक्न सकोस्।
वेलायतमा त्यो बेलाका उच्चपदस्थ कर्मचारीले निजामती सेवा सुधारका लागि दिएका सुझावहरुलाई तत्कालीन प्रधानमन्त्री म्याडम थ्याचरले पूर्ण रुपमा वेवास्ता गरिन्। निजामती सेवाका सचिवहरुले आफ्ना दावीहरु प्रस्तुत गरे। तर, प्रधानमन्त्री म्याडम थ्याचरले उनीहरुका कुरा सुन्न त्यति चासो देखाइनन्। त्यसपछि ती कर्मचारीहरुले निजामती सेवाको आकार तोक्ने र सुधार गर्ने काम जनताबाट निर्वाचित भएर आएका राजनीतिज्ञको हो भन्न बाध्य भएका थिए। यही हो राजनीतिक ईच्छाशक्ति जुन म्याडम थ्याचरले आफ्नो दूरदृष्टिमार्फत कार्यन्वयनमा ल्याउन सफल भइन्।
आठौ, निजी क्षेत्रबाट सेवाप्रवाह गरिदा प्रत्यक्ष र छिटोछरितो पृष्ठपोषण दिइन्छ जसका कारण सेवाप्रवाहका कमीकमजोरीहरुलाई समयमै सुधार्न सम्भव हुन्छ। व्यवस्थापनका सन्दर्भमा नेपाली कर्मचारीतन्त्रले निजी क्षेत्रका असल अभ्यासहरुलाई किन नभित्र्याउनेरु के नेपालको राजनीतिले यो कार्य गर्न राजनीतिक ईच्छाशक्ति प्रदर्शन गर्न सक्छ ?
(मदन नाथ क्यानाडाको अल्बर्टा प्रदेश सरकारको वालवालिका मन्त्रालय अन्तर्गत निजामती कर्मचारीको रुपमा कार्यरत् छन्। उहाँले क्यानाडाको क्याल्गेरी विश्वविद्यालयबाट अन्तररास्ट्रिय र सामुदायिक विकासमा स्नाकोत्तर गरेका छन्)