खरिदारविरुद्ध २० लाख ७८ हजारको भ्रष्टाचारको मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार राजेन्द्र बहादुर भण्डारीविरुद्ध २० लाख ७८ हजार ६ सय रुपैंया मागदावी गर्दै भ्रष्टाचार मुद्धा दायर गरेको छ । जुम्ला जिल्लामा अवस्थित चन्दननाथ नगरपालिकाका, पञ्जिकरण शाखा प्रमुख रहेका खरिदार राजेन्द्र बहादुर भण्डारीले सामाजिक सुरक्षा भत्तासमेतको रकम हिनामिना गरी भष्टाचार गरेको भेटिएकाले उनीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
Advertisement 1
२०७९-०६-०५ राजेन्द्र बहादुर भण्डारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, भण्डारीले आर्थिक बर्ष ०७४/०७५ देखि आ ७६/ ०७७ सम्मको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्नेमा, कार्यालयको नामबाट बैंकलाई पत्र आफैं लेखी दस्तखत गरी बैंकहरुमा पत्राचार गरी २० लाख ७८ हजार ६ सय रुपैंया आफ्नो तथा आफ्नो नाबालक छोराको व्यक्तिगत खातामा सामाजिक सुरक्षा भत्ता अनियमितरुपले जम्मा गरी सो रकम जम्मा भएको केही दिन पछि नै पटक पटक आफैले भुक्तानी लिई खाईमासी गैरकानूनी लाभ लिने वदनियतका साथ कार्य गरेको भेटिएकाले लाभग्राहीलाई नेपाल सरकारबाट प्राप्त हुने सरकारी लाभबाट वन्चित गरी आफ्नो व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि हुन आएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन,०५९ को को दफा १७ बमोजिमको कसुर भएकोले माग बमोजिम जरिवाना लिइ कारवाही गर्न आज विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।