ग्यासको नाममा उपभोक्ता ठगी ! ठहिटीको एभरेष्ट मार्टलाई २ लाख जरिवाना

अनुगमनमा तोकिएकोभन्दा बढी मूल्य असुलेको पुष्टि, ग्यास कारोबारको सम्पूर्ण विवरण लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन अर्को फर्मलाई निर्देशन।

Advertisement 1

काठमाडौं। बजार अनुगमनका क्रममा उपभोक्तासँग तोकिएकोभन्दा बढी मूल्य असुलेको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रा.लि. लाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार स्थलगत निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत मूल्य लिएको पुष्टि भएपछि उक्त फर्मलाई ऐनबमोजिम कारबाही गरिएको हो। पछिल्ला दिनमा खाना पकाउने ग्यासको मूल्य र आपूर्तिबारे उपभोक्ताबाट गुनासा बढेपछि विभागले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

Advertisement 2

यसैबीच, गृष्मा इन्टरप्राइजेज लाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले उक्त फर्मलाई साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको खरिद–बिक्री विवरण, बिक्री वितरण अभिलेख तथा बिलसहित ३ दिनभित्र उपस्थित हुन भनेको छ।

अनुगमनका क्रममा केही अन्य व्यावसायिक फर्ममा पनि कमजोरी भेटिएपछि उनीहरूलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।

Advertisement 3

विभागले स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित रूपमा बजार अनुगमन सञ्चालन गर्दै आएको छ। खाना पकाउने ग्यासको आपूर्ति, मूल्य र वितरणलाई व्यवस्थित बनाउन निरीक्षणलाई थप प्रभावकारी बनाइएको विभागको भनाइ छ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उपभोक्ताको हितविपरीत कार्य गर्ने व्यवसायीमाथि आवश्यक निर्देशन, सुधारात्मक आदेश र कानुनी कारबाहीलाई निरन्तरता दिइनेछ।

प्रकाशित :२०८३ श्रावण २२, शुक्रबार ११:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry