बिदाको विकृति

प्रशासकहरुले नेपालमा सार्वजनिक बिदाको संख्या अत्याधिक भएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । सरकारले हालैमात्र राजपत्रमा सूचना प्रकाशन गरी आगामी आर्थिक बर्ष ०७९ सालका पर्व तथा सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको हो । जसमा अघिल्ला बर्षहरुको भन्दा बिदाको संख्या थपिएको छ । राजपत्रको विवरण अनुसार, आगामी आर्थिक बर्षमा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिइने भएको छ । आगामी बर्ष ५२ वटा शनिवार परेका छन् । जहाँ २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा पर्नेछ । यस बर्ष दशैं बिदा एक दिन लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको छ । यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ । यस्तै, तिहार बिदा समेत थपिएको छ । आगामी बर्ष ५ दिन तिहार विदा दिइएको छ । कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ । यस्का अलवा ३ दिन विभिन्न जन्मजयन्तीको अवसर पारेर बिदा थपिने छ । बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरु दुइ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ । विदेशस्थित नेपाली नियगले भने सम्बन्धित मुलुकका सार्वजनिक बिदालाईसमेत ध्यानमा राखेर बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ ।

Advertisement 1

नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशको धर्म, संस्कृति र रितिस्थितिसमेतलार्य ध्यानमा राखेर घोषणा गरेका वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ ।

सरकारले दिने सार्वजनिक बिदामा समेत राजनीति घुसाइएको भन्दै कतिपय प्रशासकहरुले चिन्ता व्यक्त गरेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नयाँ वर्ष,रक्षाबन्धन पर्वको अवसर, घटस्थापना,छठ पर्वदेखि माघे संक्रान्ति,महाशिवरात्री र फागुपूर्णिमाको अवसरमा समेत सार्वजनिक बिदा दिन थालिएको छ । २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मात्रै ८ दिन सार्वजनिक बिदा थपिएको छ । मन्त्रिपरिषद्को निर्णय गराएरै आर्थिक बर्ष ०७८ मा ६ दिन सार्वजनिक बिदा थपिएका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठको प्रस्तावमा सोनाम ल्होसारको अवसरमा १९ पुस,तुम ल्होसार पर्वको अवसर पारेर पुस १५ गतेदेखि क्रिसमस डे,उँधौली पर्वका अवसरमा समेत सार्वजनिक बिदा दिने निर्णय गराइएको थियो । पछिल्ला बर्षहरुमा सार्वजनिक बिदा घटाउनुको सट्टा झन थपिँदै गइरहेको छ । हाम्रो मुलुकमा सार्वजनिक बिदालाई प्रतिष्ठाको विषय बनाउने प्रचलन बढ्दै जाँदा पूरै देश ठप्प पार्ने सार्वजनिक बिदाको संख्या दिनानुदिन बढ्दै थपिँदै जान थालेको भन्दै प्रशासकहरुले चिन्ता प्रकट गरेका हुन ।
एक जना बहालवाला सचिवले  भने,नेपालमा बिदाका दिन यति धेरै हुन थाले कि बिदा पाउँदा रमाउनेहरूलाई समेत बिदाप्रति वितृष्णा लाग्ने समय आएको छ । क्यालेण्डरमा बिदाको संख्या बढाउँदै जाने हो भने कुनै समय वर्षभरिमा काम गर्ने दिनभन्दा बिदाको दिन धेरै हुने अवस्था आयो भने अनौठो मान्नु नपर्ला ।

Advertisement 2

यस्तै पूर्व मुख्य सचिव विमल कोइरालाले अन्य देशका तुलनामा नेपालमा सार्वजनिक बिदा अत्याधिक भएको र त्यसलाई सुधार्नु पर्ने सुझाव दिएका छन् । विदेशका कतिपय मुलुकमा दुई दिन सार्वजनिक बिदा दिइन्छ बाँकी ५ दिन पूरा समय काम गराइन्छ । हामी कहाँ सार्वजनिक बिदा अत्याधिक भएको र यसलाई कटौती गर्नुपर्ने उनको राय छ ।

यस्तै पूर्व सचिव तथा स्टाफ कलेजका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपानेले पनि नेपालमा जति सार्वजनिक बिदा अन्यन्त्र कतै नहुने भएको कारण चिन्ता व्यक्त गरेका छन् । नेपाल सांष्कृतिक र जातीय विविधता भएको मुलक हो । तर हरेक जातजाती र धर्म संष्कृतिमा बिदा माथि बिदा थप्दै जाँदा कर्मचारीले त सुविधापाउनलान सर्वसाधरण अर्थात जनता आफ्नो सेवा सुविधाबाट बञ्चित हुने भए । दक्षिण एसियामै नेपालका कर्मचारीहरुको तलब सुविधा कम भए पनि सार्वजनिक विदा भने अत्याधिक उपयोग गर्ने मुलुकमा पर्ने कर्मचारीहरु सुनाउँछन् । यस्तै अर्काे पूर्वसचिव गोपीनाथ मैनाली विश्वका धेरै बिदा दिने मुलुकमध्येमा नेपाल पनि पर्ने भएकाले सार्वजनिक बिदामा व्यापक कटौती गर्न आवश्यक रहेको तर्क पेश गर्दछन । ०७४ सालमा धेरै बिदा दिइएकाले उत्पादन र उत्पादकत्वमा कमी देखिएको भन्दै तत्कालका लागि १५ दिन सार्वजनिक बिदा कटाउने निर्णय गरिएको थियो । तर, चुनाव नजिकिँदै जाँदा सरकारले मनोमानी ढंगले बिदा थप्दै गएको छ ।

Advertisement 3

यस्का अलवा संघीय मात्र होइन प्रदेश तथा स्थानीय सरकारले समेत आफूखुसी सार्वजनिक बिदा दिन थालेका छन् । स्थानीय तहले नगरसभा बसेको अर्को दिन, केन्द्रीयस्तरका नेता आउने दिन, गाउँपालिका प्रमुखको घरमा धार्मिक कार्यक्रम भएको दिन र स्थानीय मेला महोत्सवका नाममा पनि सार्वजनिक बिदा दिँदै आएका छन् । केन्द्रदेखि प्रदेश, प्रदेशदेखि स्थानीय तहसम्म पुग्दा वार्षिक १०० दिनभन्दा बढी सार्वजनिक बिदा पुगेका छन् । सरकारले भोटका लागि सार्वजनिक बिदा थप्दै गएकोप्रति चिन्ता पोख्नेहरु पनि भेटिन्छन् । व्यवस्थित सार्वजनिक छुट्टीहरू व्यक्तिगत, समुदाय र सांस्कृतिक लाभको हिसाबले महत्वपूर्ण छन् । तर, यसका लागि बिदा प्रणाली सान्दर्भिक, व्यावहारिक, मौलिक, वस्तुनिष्ठ र वैज्ञानिक हुन जरुरी हुने प्रशासकहरुको रायको विपरित पछिल्लो समय बिदालाई राजनीतिको माध्यम बनाइएको छ । नेपालमा सार्वजनिक बिदाको संख्या ज्यादा त छ नै, बिदाको व्यवस्थापन पनि वैज्ञानिक हुन सकेको छैन ।

अझैं ०६२÷६३ को जनआन्दोलनपछि पहिचानको मुद्दाले महत्व र प्राथमिकता पाउँदै जाँदा देशका विभिन्न जातीय समुदाय र धार्मिक सम्प्रदायका चाडपर्वका दिन देशव्यापी सार्वजनिक बिदा थप्ने प्रचलन झनै मौलाउँदै गएको छ ।

अधिकांश सरकारी कर्मचारीहरु अचेल टेबलमा कमै भेटिन्छन् । एकातिर अनेकन थरीका बिदा,त्यसमाथि कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन् । यस्का अलवा जागिर अवधिमा उनीहरुले तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदा समेत पाउनेछन् । यद्यपि यो बिदा सबै कर्मचारीले उपयोग गर्दैनन् । यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ । यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन् । गृह मन्त्रालयले सार्वजनिक विदासँगै कर्मचारीहरुले बर्षमा १ सय २० दिन त विदै पाउने गर्दछन् । बर्षका ३६० दिनमध्ये एक तिहाई बिदामै जाने भए पछि सेवाग्राहीले कस्तो सेवा पाउँलान ?

प्रकाशित :२०७८ चैत्र ७, सोमबार ०८:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry