फेसबुक र यसमा आउने प्रतिकृया

फेसबुक सन्चारको राम्रो चौतारी भएको छ, यस प्रसंगमा फेस बुकका प्रबर्द्धक मार्क जूकर्वर्ग धन्य छन्। करिब २० वर्षको कार्यकालमा यसको माध्यमबाट असंख्य मित्रहरू संग जोडिने मौका प्राप्त भएको छ।आजभोली यसको नाम मेटा भएको छ।
Advertisement 1
आजभोली टेलिभिजन, रेडियो भन्दा लोकप्रीय भएको यो प्लेट फर्मको पहुंच सर्वसाधारण सम्म पुगेको छ र नेटको उपलब्धताले विश्वको कुना कुना सम्म पुगेको छ। यसैले यो लोकप्रीय चौतारीबाट आफ्ना भावना र सृजनालाई प्रवाह गर्न हरेक ब्यक्ति ले सहजता प्राप्त गरेका छन्।आफ्नो खुसी, आफ्ना हर्ष, विस्मात र समवेदनाहरु सम्म समेटने यो माध्यम हरेकको सुख दुःखको साथी बन्न पुगेको छ।प्रस्तुत लेख फेसबुकमा लाईक हुने र नहुने विषयमा केन्द्रित भएकोले त्यतै तिर लागौं। आफ्नो अनुभवका आधारमा भन्नु पर्दा यसमा राखिने विषय बस्तु मध्ये प्रोफाईल पिक्चर र ब्याकग्राउण्ड पिक्चरमा मित्रहरूले साह्रै रूची देखाएको पाईन्छ। यसको लाईक हेर्दा अहा मलाई मित्रहरूले कति माया गरेका हुन भन्ने लाग्छ। केही साथीले लाईक मात्र छोएर छाडिदिन्छन्, मैले ठान्छु कि साथी ब्यस्त हुदा पनि मेरो पिक्चललाई लाईक नगरी बस्न सकेनछन्। यसमा उहाँलाई मन मनै धन्यवाद दिन्छु। यस्तै चित्रलाई बनीबनाऊ प्रतिकृया पनि आउने गर्छ, यस्तोमा मैले धन्यवाद कै बनी बनाऊ जबाफ दिने गर्छु। अरू अरू साथीहरूले यसमा २ शब्द राख्ने जमर्को गर्नु हुन्छ, उहाहरूलाई पनि विशेष धन्यवाद दिन्छु।
यसरी मैले पस्केका मेरा फोटाहरूमा ३ थरी प्रतिकृया पाउछु। टोटालिटीमा यसलाई राम्रै मान्ने गरेको छु।अर्को पक्ष हो स्टोरीको। यसमा फिडमा भन्दा राम्रो प्रतिकृया पाउने गरेको छु जुन सबभन्दा बढी हो। मेरा साथीहरू मध्ये ७५ प्रतिशत भन्दा बढी स्टोरीमा भेट हुन्छ। स्टोरी पछि आफूले पस्केको आफ्नै जन्म दिनको शुभकामनाहरूमा पनि राम्रै लाईक र प्रतिकृया आउने गर्छन्, यस्ता प्रतिकृयाले भने स्टोरीलाई पनि माथ गर्छन्।
Advertisement 2
स्टोरीमा परम्परा, मेहनत, खेतीपाती , प्राकृतिक विषयबस्तुका चित्रले बढी लाईक र प्रतिकृया पाउने गर्छन्।सेवा निवृत्त भए पछि म अली बढी फुर्सदिलो पनि भएको छु, त्यसैले फुर्सदमा दुई चार शब्द कोर्ने पनि गरेको छु। कहिले देशको विषयमा त कहिले सरकारको विषयमा र कहिले आफ्नै विषयमा पनि कलम चलाउने गर्छु। यसरी लेखिएका कुराहरू मेरा फेसबुकका मित्रहरूबाट कुनै प्रतिकृया पाऊछु कि भन्ने आशले पस्किन्छु पनि। मेरा यी प्रस्तुती नीति निर्माता सम्म पुर्याउन यो माध्यमले त सक्दैन। किनभने त्यहां सम्म मेरो पहुंच पनि छैन र भए पनि म भन्दा बढी जानकार बस्ने पदमा पुगेकालाई मेरो प्रस्तुतिले के छुन सक्थ्यो र ?यी नीति निर्माताको त के कुरा गरौ र ? मेरो स्टोरी र प्रोफाईल पिक्चर भन्दा पनि मेरा प्रस्तुती कमजोर जनिन्छन् मेरा मित्रहरूको छनौटमा। हुन त आफ्नो खेती र आफ्ना सन्तान आफैलाई मात्र प्यारो लाग्छ भने जस्तै मेरा प्रस्तुति पनि त्यही वर्गमा पर्ने भएर हो कि वा मेरा प्रस्तुतीले मित्रहरूको ध्यान खिच्न नसकेर हो , लाईक र कमेंट त्यति आउदैनन्। हुन त यस्तो ब्यस्त बेलामा यी प्रस्तुती हेर्ने फुर्सद कहांबाट पाउन् र मेरा मित्रहरूले ? पढ्नै नपाएको विषयमा लाईक र नन्लाईक पो किन गरि रहने हो र ? अनि यस्ता प्रस्तुती दिए पनि नदिए पनि हुने के हो र समय निकाली पढ्नु पर्ने ? ठीकै छ कसैले नपढे पनि मेरो असन्तुष्ठी, जानकारी, प्रसंसा, आलोचना गर्न मलाई कसैले छेक्नै हैन क्या रे मनको सन्तुष्ठीका लागि पनि प्रस्तुति दिईरहन्छु ।
खासगरी आजभोली प्रायः ब्यक्तिहरूमा पठनपाठन गर्ने बानी हराउदै गएको छ। यो बानी म स्वयंमा पनि छ। त्यसैले धैर्य साथ अध्ययन गर्ने बानी अधिकांशको छुट्दै गएको छ। पढ्ने बानी किन पनि हराउदै छ भने देशको मूलनीति राजनीति हो जहां प्रवेश गर्न शैक्षिक योग्यता नै आवश्यक पर्दैन। बरू यो क्षेत्रमा शैक्षिक योग्यताको सट्टा गुण्डागर्दी, तस्करी, ठगी, कालोबजारीमा गतिलो योग्यता भए पुग्छ। त्यसै गरी विद्यालय वा विश्वविद्यालयमा चिट चोर्न सक्ने योग्यता भए पुग्छ, अनि पढ्ने बानी केलाई चाहियो र ? अनि फेसबुकका लेख, रचना,कनि कुथी पढी पढी किन प्रतिकृया दिएर समय खेर फाल्नेरु यसै भएर हो कि पस्केका लेख नै पाठकका ध्यान आकृष्ट गर्न कमजोर रहे वा उपयोगी ठहरिएनन् केही भन्न सकिएन।त्यसो भनेर चित्त बुझाउने ठाऊ पनि छैन, किनभने करीव ३ महिना अगाडि मेरा प्रस्तुतीमा मच्चिई मच्चिई प्रतिकृया दिने मित्रहरु एकाएक तेलमा पानी तर्किए झै भएका छन् फेरि। यो चाही कस्तो अवस्था हो बुझी नसक्नु छ। हुन त ती मित्रलाई लाग्दो हो यी मेरा प्रस्तुतीका तुलनामा उनका आफ्ना प्रस्तुती अब्बल छन्, तर ती मित्रले के बिर्सेका हुन सक्छन् भने हरेक प्रस्तुती आफैमा उत्कृष्ट हुनु पर्छ, आफूलाई मात्र लागेर हुदैन।
Advertisement 3
त्यति मात्र कहां हो र ? अहिलेको ब्यस्त समयमा काम गर्ने कि यी बकम्फुसे लेख पढेर बस्ने भन्ने पनि लाग्दो हो कति मित्रहरूलाई। सीमित रूपमा निस्केको समयलाई मनोरन्जनको रूपमा प्रयोग नगरेर यस्ता लेखहरू पढ्ने फुर्सद कहां हुन्छ तरु त्यसैलाई लाईक र प्रतिकृया दिन नभ्याएको पनि हुन सक्छ नि ? खै त्यता तिर सोचेको भन्ने पनि लाग्छ घरी घरी। तै पनि आफ्ना प्रस्तुति दिएर मनको सांखो मेट्छु। मैले मैलाई ब्यस्त बनाउन चाहन्छु, शारीरिक श्रमबाट ब्यस्त बनाउन एक त उमेरले पनि सकिदैन दोश्रो यस्तोमा बानी छुटेको वर्षौ भयो। त्यसैले चित्त नबुझेको र चित्त बुझेको सबै कुराहरू यो लोकप्रिय माध्यममा पस्किएर आफूलाई ब्यस्त बनाउन पाएको छु। लोकप्रीय चौतारी फेसबुकलाई धन्यवाद।