दक्षिणा
दशैको मैजारो भएको बेला दक्षिणाको सम्झना भयो। दशैका कपडा, दशैको मासु जस्तै दशैमा पाउने दक्षिणाले कसलाई लोभ्याउदैन र१ त्यसमा पनि सानो उमेरको दक्षिणाको महत्व नै बेग्लै। यही दक्षिणा पाउन पनि धेरै क्राईटेरिया तोकिएका थिए, पहिलो छोरी हुनु पर्ने, छोरालाई त टीका लगाएर सेलरोटी भिराएर पठाईन्थ्यो , छोरीलाई भने दक्षिणा पनि दिईन्थ्यो। छोराले दक्षिणा पाउने ठाऊ मावली मात्र हुन्थे जहा पुग्दा जहिले पनि सांझ परिहाल्ने, मूल मामा घर त भ्याई नभ्याई हुने रहेछ अरू मावली खलकमा टीका लगाउदा अध्यारै पो हुने।
Advertisement 1
फेरि हाम्रो तिर दशैको भोली पल्ट देखि टीका लगाउने चलन नहुदा त्यही एक दिन सबै तिर भ्याउनु पर्थ्यो। त्यसैले हतार हुन्थ्यो।त्यतिखेरको दक्षिणामा हामी सानो उमेरका भान्जाहरूले बढीमा १ रूपैया हो पाउने नत्र त्यो भन्दा कम नै हो दक्षिणा पाउने। त्यही भए पनि खुब रहरका साथ पैसा जम्मा गरिन्थ्यो।
दक्षिणा उमेर, लिंग र नाता अनुसार फरक फरक हुने गर्थ्यो। सबभन्दा बढी शसुराली जानेहरूले पाऊथे। त्यस पछि महिलाहरू पर्थे। केटाकेटीलाई त यसो टार्ने काम गरिन्थ्यो। कुनै कुनै केटाकेटीले त दक्षिणा थोरै भयो भनी उतै फिर्ता गरेको पनि देखिन्थ्यो तर यस्तो बानीलाई राम्रो मानिदैनथ्यो।दक्षिणा खुला र खामवन्दी गरेर २ तरीकाले दिईन्छ। साना उमेरका लाई खुला रूपमा दिईने र ठूला उमेरका र मान्नु पर्नेलाई खाम बन्दी गरेर दिईन्छ। खामबन्दीको चलन पछि आएको हो। टीका लगाउदा प्रायःको ध्यान आशिर्वचन र प्रसाद तिर भन्दा दक्षिणा तिरै हुन्छ। दक्षिणा थोरै र धेरै भएको अनुहारमै देखिन्छ। खामवन्दी लिनेहरू पनि तत्कालै गोप्य ठाऊमा गएर खोलेर हेर्छन् र कम भएमा अध्यारो मुख लगाउदै फर्कन्छन्। भन्न त दशैलाई मान्यजनबाट टीका जमरा लगाएर आशिर्वाद लिने पर्व भनिन्छ तर यो सम्बन्ध दक्षिणामा गएर अडेको पाईन्छ। यस पटक टीका लगाउन आएको ब्यक्ति अर्को साल आएन भने त्यो कारण अरू नभएर दक्षिणै हो भनेर माने हुन्छ।
Advertisement 2
दक्षिणा भनेको भेटी जस्तो पनि हो। भेट हुदा दिने कोशेलीपात जस्तै हो दक्षिणा पनि। यस्तो दक्षिणाले आफ्नो काम पट्याउन सजिलो पनि हुन्छ। केन्द्रमा बस्ने हाकिमलाई यस्ता कोशेलीपातले रिझाउने खुवी हुनेहरू जागिरका क्रममा कहिल्यै दुःख पाउनु पर्दैन। काम गर्ने क्षमतालाई पनि यसले जित्न सक्छ।कतिपय ब्यापारी, ठेकेदार, राजनीतिक ब्यक्तित्व संग सम्पर्क हुनेहरू समेत यसको प्रयोग बाट लाभान्वीत हुने गरेको पाईन्छ। तराईका चामल र खसी उपहार पठाएर हाकिमलाई लैनो गाई बनाउनेहरु समेत जागीरमा भेटिन्छन्। यसरी दक्षिणा वा कोशेली पातको दुरूपयोग हुदा पनि यसको महत्व सदावहार भएको पाईन्छ।
विगतमा सीमित क्षेत्र ओगटेको यो प्रवृत्तिले अहिले त राजनीतिक क्षेत्रलाई ब्यापक बनाएको छ। यसैका कारण यो क्षेत्रले आफ्नो आदर्श र नैतिकता गुमाएर आफै बिभिन्न गुटउपगुटमा बिभक्त भएको छ। साधारण सदस्यता देखि लिएर माथिल्ला तह सम्म जाने योग्यता दक्षिणा र भेटी नै भएका कारण राजनीति जनता समक्ष पुग्न सकेको छैन।
यो दक्षिणाको बानी परी सकेपछि नातागोता, नैतिकता, समाज , योग्यता, प्रतिभा, समाजसेवा आदि सबै छायांमा पर्ने रहेछन्। समाजको जुनसुकै क्षेत्र पनि रूखो र जर्जर हुदो रहेछ। अनैतिकता र अपारदर्शिता रोक्न खडा गरिएका राज्यका संरचनाहरू समेत निकम्मा हुने रहेछन् यसले गर्दा। यसैले यो दक्षिणालाई सुमार्गमा हिड्न दिनु पर्छ र यसलाई नैतिक र संस्कारजन्य मार्गमा हिडाएर यसको दुरूपयोग रोक्नु पर्छ।