कर्मचारीले जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा बेचिदिएपछि …..
मालपोतका एक कर्मचारीले जग्गा धनीलाई थाहै नदिई बिचौलियाको मिलेमतोमा तीन कठ्ठा जग्गा बेचिदिएका छन् ।
सुर्खेत मालपोतको घटना हो यो ।
वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी मालपोतको कर्मचारीले बिक्री गरेको भेटिएको हो ।
वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क)मा रहेको रावतको कित्ता नं ३१११ को जग्गा यही असार ८ गते कित्ताकाट गरेको खुलेको हो ।
जब जग्गा किन्ने ग्राहक आए र विक्री गर्नका लागि ू ट्रेस नक्सा निकाल्न नापी कार्यालय जाँदा जग्गाको कित्ता नं नै नभेटिएपछि आफ्नो जग्गा आफैलाई थाहै नभई खरिद बिक्री भइसकेको चाल पाए ।
रावतको साढे छ कट्ठामध्ये तीन कट्ठा जग्गाको कित्ताकाट गरी नामसारी गरिएको छ ।
आफ्नो जग्गा कित्ताकाट गरी बिक्री गरेको थाहा पाएपछि जग्गाधनी रावतले मालपोत कार्यालयका नायबसुब्बा विश्वरूप सावद, जग्गा व्यवसायी सन्तोष ठाकुरलगायतलाई कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रहरीमा जाहेरी दिएका छन् ।
उक्त जग्गा शुरुमा वीरेन्द्रनगर–१ निवासी सहवीर कार्कीको नाममा नामसारी भएको पाइएको छ ।
जिल्ला मालपोत कार्यालयका नायबसुब्बा सावदलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । जिल्ला प्रहरीका प्रहरी निरीक्षक कनकबहादुर शाहीले आरोपी सावदको अदालतबाट म्याद थप गरी बयान लिने काम भइरहेको सुनाए ।