चुणामणिको मुद्धा तीन न्यायधीशले हेर्ने

अकुत आर्जनमा डामिएर धरौटीमा छुटेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माको मुद्धामा आज सुनुवाई हुँदैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कर फस्र्यौट आयोगका सदस्य–सचिव समेत रहेका चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका थिए । कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल पनि एक एक करोड रुपैंया धरौटी बुझाएर थुनामुक्त भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनामाथि कर फस्यौंटका क्रममा अनियमितता गरेको आरोपमा १० अर्ब ९६ करोड रुपैंयाका दरले विगो र जरिवाना माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सोही मुद्धा अन्तिम किनारा लगाउन विशेष अदालतमा आज सुनुवाई हुन लागेको हो ।
Advertisement 1
विशेष अदालतको एक नम्बर इजलाशमा अध्यक्ष श्रीकान्त पौडेलसहित न्यायधीशद्धय रमेश कुमार पोखरेल र यमुना भट्टराईको इजलाशले सो मुद्धा हेर्ने भएको हो । अख्तियारले १ साउन २०७४ मा कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जनामाथि ३ अर्ब ३४ करोड रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना हुनुपर्ने माग छ ।तीन सदस्यबाट १० अर्ब ९६ करोड जरिवना माग गर्दै अख्तियारले विशेषमा मुद्धा दायर गरेको थियो ।
शर्मा विरुद्धको मुद्दामा विशेष अदालतले केही महिनायता प्राथमिकताका साथ पेशी तोकिरहेको छ । दुवै पक्षबाट बहस नोट मगाएको विशेष अदालतले गत महिना अदालतको सहयोगी (एमिकस क्यूरी) पठाउन आदेश दिएको थियो । पछिल्लो समयमा भ्रष्टाचारको मुद्धामा डामिएका विजय गच्छदार,कालिका कन्स्ट्रकसनका मालिक विक्रम पाण्डेलाई अदालतले सुनपानी छर्किएर चोखाइ सकेको छ ।
अख्तियारले पूर्व मन्त्री पाण्डेविरुद्ध सिक्टा सिँचाई आयोजनामा २ अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ बिगो माग गरी मुद्धा दायर गरेको थियो । सो मुद्धामा सफाइ दिइसकेको छ ।
Advertisement 2
यस्तै हालैमात्र उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सहसचिव देवीप्रसाद बराकोटीले २ करोड २ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । यस्तै सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिदिएको आरोपमा घनश्याम दुवे, शौकत अलि खाँ, बलराम श्रेष्ठ, धनेशचन्द्र गुरुङ, अञ्जनी बनियाँसहित पाँच जनालाई विशेष अदालतले २०७९ असार ७ गते सफाइ दिएको छ ।