कार्यालय प्रमुख पक्राउ

मालपोत कार्यालय बाँकेका प्रमुख महिला कर्मचारीसहित नेपालगञ्जको एक होटलबाट पक्राउ परी छुटेपछि तनावले बिदा बसेका छन् । दौल्याल १० दिनको बिदामा काठमाडौं लागेका छन् भने घटनासँग सम्बन्धित कार्यालय सहायक पनि बिदा बसेकी छन् ।
जानकारीअनुसार नेपालगञ्जस्थित सिद्धार्थ भ्यूमा अन्तर्राष्ट्रिय नयाँ वर्षको अघिल्लो दिन गत बिहीबार राति आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । राति नै दौल्याललाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय जमुनाहास्थित हिरासत कक्षमा राखेको थियो । दौल्याललाई पछिल्लो दिन बिहान जिल्ला प्रहरी कार्यालयमा कागज गरी छाडियो ।
स्रोतका अनुसार होटलमा राति २ बजे भएको नाचगान कार्यक्रममा महिला नाचिरहँदा कार्यालय प्रमुखले तानेपछि मुठभेडको अवस्था आयो, सँगै नाचिरहेका युवाले प्रमुख दौल्यालमाथि हातपात गरे ।
अवस्था असामान्य भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको टोली घटनास्थल पुग्यो, घटनास्थल पुग्दा हातपात गर्ने युवा फरार भइसकेका थिए भने दौल्याललगायत घटनास्थलमै थिए । प्रहरीले उनीलगायतलाई नियन्त्रणमा लियो । युवाहरूको हातपातबाट घाइते भएका दौल्यालको टाउकोमा चोट लागेको थियो । प्रहरीले भेरी अस्पतालमा मेडिकल गराउनुका साथै प्राथमिक उपचार गरेको थियो । उनको टाउकामा टाँका लगाइएको थियो ।
प्राथमिक उपचारपछि जिल्ला प्रहरीको हिरासत खाली नभएर दौल्याललाई प्रहरीले जमुनाह प्रहरी चौकीमा राखेको थियो । उनीविरुद्ध कहीँ, कतैबाट उजुरी नआएपछि प्रहरीले बिहान १० बजे जिल्ला प्रहरीमा हाजिर हुने गरी सबेरै छाडेको थियोे ।