परराष्ट्र मन्त्रीसँगै यी कर्मचारी जाँदैछन् दिल्ली
छैटौं नेपाल–भारत संयुक्त आयोग बैठका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहिबार (भोली) दिल्ली जाँदैछन् । मन्त्रालयले अस्ति मंगलबार मन्त्री ज्ञवालीको भारत भ्रमणबारे औपचारिक रुपमा मिति सार्वजनिक गरेको हो ।
दुई दिनसम्म चल्ने बैठकको नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव लागयत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु समेत सहभागी हुनेछन् ।
भोलि नयाँ दिल्ली जाने टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रीका स्वकीय सचिव खेम ज्ञवाली सहभागी हुने बुझिएको छ ।
सो भ्रमणमा सहसचिवस्तरीय बैठकको लागि परराष्ट्रमा भारत डेस्कको जिम्मेवारीमा रहेका सहसचिव यज्ञबहादुर हमालसहित परराष्ट्रकै उपसचिव लोकबहादुर पौडेल क्षेत्री, अर्थ मन्त्रालय र अन्य सरकारी निकायका प्रतिनिधि रहेको टोली आजै बिहान सवा ११ बजे नेपाल वायुसेवाको उडानबाट नयाँदिल्ली प्रस्थान गरिसकेको छ ।
स्रोतका अनुसार सहसचिवस्तरीय बैठकपछि मन्त्रीस्तरीय बैठक हुनेछ ।
Advertisement 1
सचिवस्तरीय आयोगको छैठौं बैठकमा नेपालको तर्फबाट गरिने प्रस्तावप्रति सबैले चासो दिएका छन् । ज्ञवालीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गर्ने कार्यक्रम छ ।
यसैबीच नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नियोग उपप्रमुखको रूपमा बेइजिङ्ग बसिसकेका दङ्गाली रामप्रसाद सुवेदी हाजिर भएका छन् भने काउन्सिलरको रुपमा कार्यरत प्रकाश अधिकारी नेपाल प्रहरीको डिआइजीमा बढुवा भएपछि नयाँ जिम्मेवारी सम्हाल्न एसएसपी वीरेन्द्रकुमार बस्याल गएका छन् । गुप्तचरबाट पहिलेदेखि नै इन्द्रकुमार लामा तैनाथ छन् । सैनिक सहचारी एकतारे जर्नेल इश्वरकान्त मैनालीलाई बदली गर्न महासेनानी रामचन्द्र खत्री अर्को महिना जान लागेका छन् ।