सुन्तली–धुर्मुस पूरै यतातिर सिफ्ट

कुनै समय नेपाली दर्शकले मान्छेबाट उठाएर ‘भगवान्’को तहमा उभ्याइदिएको धुर्मुस–सुन्तली जोडी अहिले कहाँ र के गर्दै होला ? राज्य र महानगरको असहयोगका कारण बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बीचैमा छोडेर हिँड्न बाध्य यो जोडीको अवस्थावारे आम दर्शकलाई चासो हुनु स्वाभाविकै हो ।
यो जोडी अचेल सिंहदरबारतिर अधिकांश मन्त्री र सचिवका कार्यकक्षमा डकुमेन्ट्री बनाउने प्रस्तावसहित सक्रिय छ । यो जोडीले आफ्नी छोरी सुबिहानी फिल्मसको ब्यानरमा प्रत्येक मन्त्रालय र सरकारी निकायसँग डकुमेन्ट्रीको काम मागिरहेको छ । हरेक निकायबाट घटीमा ५ लाख मूल्यको प्रचार सामग्री निर्माण गर्दै युट्युबमा हाल्नमा जोडी केन्द्रित भएको पाइएको छ ।

Advertisement 1


हालै उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सौजन्यमा ‘खिनौरीको बाउ’ नामक सामग्री निर्माण गरी युट्युबमा हालेका छन् । यस्तै, परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको टोल फ्रि नम्बर नामक तीन मीनेट २४ सेकेण्डको भिडियो पनि अपलोड गरिएको छ । राहदानी विभागबाट उसैगरी ई–पासपोर्टसम्बन्धी डकुमेन्ट्री बनाउने सम्झौता कार्यान्वयन भइसकेको छ । निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचनसम्बन्धी ७ मीनेट २१ सेकेण्ड लामो सचेतनामूलक भिडियोको काम पनि सम्पन्न भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोना खोपसम्बन्धी, सहकारी विभाग, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शहरी विकास मन्त्रालयलगायत अधिकांश मन्त्रालयसँग यस्तो सहकार्य भइसकेको छ । भूमि व्यवस्था मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार धुर्मुस–सुन्तलीले सो मन्त्रालयको डकुमेन्ट्री निर्माणबापत चार लाख असी हजार रकममा १३ प्रतिशत भ्याट थपेर भुक्तानी लिएको छ । संघीय सरकारको २२ वटा मन्त्रालय प्रत्येकबाट ५ लाखको दरले सम्झौता हुन सक्दा झण्डै १ करोड रकम धुर्मुस–सुन्तलीको नाममा जाने देखिन्छ । उनीहरूको तर्क छ, हामी कलाकार हौँ, कला देखाएर मिहिनेतको मूल्य लिन किन नपाउने ? ढाँटेर, छलेर, ठगेर खान पो भएन !’

Advertisement 2

प्रकाशित :२०७९ असार ४, शनिबार ०६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry